Nepal Life

नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्ति अन्योलमा, छनोट प्रक्रिया फेरि लम्बिने संकेत

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 30 13:47
नेपाल बीमा प्राधिकरण अध्यक्ष नियुक्ति अन्योलमा, छनोट प्रक्रिया फेरि लम्बिने संकेत

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि लम्बिने संकेत देखिएको छ। सरकारले जेठ १३ गते आवेदन आह्वान गरे पनि एक महिना बितिसक्दा पनि सिफारिस समितिले आवेदकहरूको छनोट प्रक्रिया अघि बढाएको छैन।

 

Nepal Life
NIMB

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट नेतृत्वको सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन माग्दा ५० जनाले आवेदन दिएका थिए। समितिले सर्टलिस्ट तयार गरी अन्तर्वार्ता लिएपछि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि हालसम्म त्यससम्बन्धी कुनै प्रक्रिया अघि बढ्न सकेको छैन।

स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाटै प्रक्रिया तत्काल अघि नबढाउने संकेत दिइएको छ। आवेदन दिएका उम्मेदवारहरूको विवरणसमेत औपचारिक रूपमा अध्ययन नगरिएको बताइएको छ।

सरकारले वैशाख ८ गते अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो। समितिमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा. घनश्याम उपाध्याय सदस्य रहेका छन्। यसअघि सुरु गरिएको नियुक्ति प्रक्रिया रद्द गरी नयाँ समिति गठन गर्दै जेठ ६ गते पुनः आवेदन आह्वान गरिएको थियो।

अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा सरकारका वरिष्ठ अधिकारीहरूले कार्यवाहक रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्।

बीमा क्षेत्रका जानकारहरूका अनुसार पछिल्ला वर्षहरूमा प्राधिकरणको अध्यक्ष पदमा व्यापारिक घरानाहरूको चासो उल्लेख्य रूपमा बढेको छ। नियामक निकायको नेतृत्वमा आफू निकट व्यक्ति पुगे विभिन्न व्यावसायिक निर्णय तथा लाइसेन्स प्रक्रियामा प्रभाव पार्न सकिने अपेक्षाले शक्ति संघर्ष बढेको उनीहरूको भनाइ छ।

एक पूर्वअध्यक्षले अध्यक्ष छनोट प्रक्रिया पारदर्शी र स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै पूर्वनिर्धारित निर्णयका आधारमा प्रक्रिया सञ्चालन हुने प्रवृत्तिले नियामक संस्थाको विश्वसनीयतामै प्रश्न उठ्ने बताएका छन्।

यस्तै, धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पनि आवेदन संकलनपछि लामो समयसम्म रोकिएको उदाहरण दिँदै बीमा प्राधिकरणमा पनि त्यही अवस्था दोहोरिने चिन्ता व्यक्त गरिएको छ। अब सरकारले छनोट प्रक्रियालाई छिटो टुंग्याएर सक्षम नेतृत्व नियुक्त गर्ने अपेक्षा बीमा क्षेत्रका सरोकारवालाले गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया