सिटिजन्स बैंकद्वारा ग्राहकहरुलाई समयमै डिम्याट र मेरोशेयर नवीकरण शुल्क बुझाउन आग्रह
- BFIS News
- 2026 Jul 06 15:36
काठमाडौं। सिटिजन बैंक इन्टरनेशनलले आफ्नो निक्षेप सदस्य (डीपी) सेवा अन्तर्गत डिम्याट (हितग्राही) खाता सञ्चालन गरिरहेका ग्राहकहरूलाई वार्षिक नवीकरण शुल्क समयमै भुक्तानी गर्न आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ सम्मको डिम्याट खाता सञ्चालन शुल्क २०८३ असार मसान्तभित्र अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको हो।
बैंकका अनुसार डिम्याट खाता सञ्चालनबापत प्रत्येक आर्थिक वर्ष रु १०० वार्षिक शुल्क लाग्ने व्यवस्था छ। हालसम्म उक्त शुल्क भुक्तानी नगरेका हितग्राहीहरूले सिटिजन्स बैंकका जुनसुकै शाखा कार्यालयमा सम्पर्क गरी शुल्क बुझाउन सक्नेछन्। साथै, मेरोशेयर प्रोफाइलमार्फत उपलब्ध विभिन्न विद्युतीय भुक्तानी माध्यम प्रयोग गरेर पनि सो शुल्क सहज रूपमा तिर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले तोकिएको समयभित्र शुल्क नबुझाए डिम्याट खाता शुल्क भुक्तानी नभएसम्मका लागि रोक्का गरिने स्पष्ट गरेको छ। यसले सेयर कारोबार तथा अन्य सम्बन्धित सेवा प्रभावित हुन सक्ने भएकाले समयमै शुल्क तिर्न बैंकले अनुरोध गरेको छ।
त्यसैगरी, मेरोशेयर सेवा प्रयोग गरिरहेका हितग्राहीहरूले वार्षिक रु ५० सेवा शुल्क पनि समयमै भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ। उक्त शुल्क नबुझाए मेरोशेयर सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिँदै बैंकले यसबाट उत्पन्न हुने असुविधाप्रति आफू जिम्मेवार नहुने स्पष्ट पारेको छ।
यसैबीच, आश्वा ASBA (Application Supported by Blocked Amount) सेवा अन्तर्गत सिटिजन्स बैंकका सबै शाखाबाट आईपीओ तथा अन्य प्राथमिक निष्कासनका लागि आवेदन दिने व्यवस्था रहेको बैंकले जनाएको छ। बैंकमा खाता नभएका लगानीकर्ताले समेत सहज रूपमा नयाँ खाता खोली आस्बा सेवा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ। सम्पूर्ण शाखाहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया