पुँजीबजारका सरोकारवालासँग छलफल गराउन सुबास चन्द्र ढुंगानाको प्रधानमन्त्री बालेनलाई खुला पत्र
- BFIS News
- 2026 Jul 09 18:19
काठमाडौं । लगानीकर्ता तथा बजार विश्लेषक सुबास चन्द्र ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेख्दै नेपालको पुँजीबजारका सरोकारवालासँग प्रत्यक्ष छलफलको वातावरण बनाउन आग्रह गरेका छन्।
ढुंगानाले हालै प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग गरेको भेटघाटले निजी क्षेत्रको मनोबल बढाएको उल्लेख गर्दै त्यसलाई सकारात्मक कदमको रूपमा स्वागत गरेका छन्। उनले यस्ता संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै अर्थमन्त्रीको उपस्थितिमा पुँजीबजारका प्रतिनिधिसँग पनि एकपटक प्रत्यक्ष छलफल गर्न आग्रह गरेका हुन्।
उनले पुँजीबजार कुनै एक क्षेत्रको मात्र विषय नभई देशको आर्थिक भविष्यप्रतिको विश्वासको ऐना भएको उल्लेख गरेका छन्। सरकारका नीति, निर्णय र आर्थिक दिशाप्रतिको जनविश्वास सबैभन्दा पहिले पुँजीबजारमा प्रतिबिम्बित हुने भएकाले सेयर बजारलाई अर्थतन्त्रको ब्यारोमिटर मात्र नभई सरकारप्रतिको विश्वास मापन गर्ने महत्वपूर्ण सूचकका रूपमा लिनुपर्ने उनको धारणा छ।
खुला पत्रमा हाल नेपालको पुँजीबजारमा ६० लाखभन्दा बढी लगानीकर्ता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध रहेको उल्लेख गर्दै बजारको निरन्तर गिरावटलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। बजार घट्नु वा बढ्नु स्वाभाविक भए पनि लगातारको गिरावटले लगानीकर्ताको सरकारको नीति, सुशासन तथा आर्थिक दिशाप्रतिको धारणा प्रतिबिम्बित गर्ने उनको भनाइ छ।
ढुंगानाले वर्तमान सरकारसँग बलियो जनादेश रहेकाले लगानीकर्ताको विश्वास जोगाइराख्नु आवश्यक रहेको उल्लेख गर्दै सरकारबाट बजार बढाइदिनुपर्ने अपेक्षा नभएको स्पष्ट पारेका छन्। बरु सरकारले पुँजीबजारको महत्त्व बुझ्ने, लगानीकर्ताको आवाज सुन्ने र निजी पूँजीलाई देश विकासको साझेदारका रूपमा स्वीकार गर्ने सन्देश दिन आवश्यक रहेको उनले बताएका छन्।
पत्रमार्फत उनले बजारका विज्ञ, विश्लेषक, लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर, संस्थागत लगानीकर्ता तथा सम्बन्धित निकायका प्रतिनिधिसँग प्रधानमन्त्रीले एकपटक छलफल गरेमा लाखौँ लगानीकर्तामा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्। यस्तो पहलले पुँजीबजार मात्र नभई समग्र अर्थतन्त्रमा पनि सकारात्मक ऊर्जा प्रवाह हुने उनको धारणा छ।
ढुंगानाले उक्त खुला पत्रको जानकारी प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्रीको सचिवालय, प्रमुख सल्लाहकार तथा अर्थमन्त्रीलाई समेत गराइएको उल्लेख गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया