असारे विकास’ले कर्णाली राजमार्गमा सास्ती, वर्षायाममै सडक मर्मत र ढलान
- BFIS News
- 2026 Jul 12 09:58
कालीकोट, असार २८ आर्थिक वर्षको अन्त्यसँगै कर्णाली राजमार्गमा सडक मर्मत, ढलान तथा निर्माण कार्य तीव्र पारिएको छ। वर्षायाम सुरु भइसकेको अवस्थामा सडकको बीचमै निर्माण कार्य भइरहेका कारण यात्रु र सवारीचालकले सास्ती भोग्नुपरेको छ।
कर्णाली राजमार्गका विभिन्न खण्डमा कङ्क्रिट ढलान, कालोपत्रे तथा पर्खाल निर्माणको काम भइरहेका छन्। सडक साँघुरो बनेकाले सवारीसाधन पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ। वर्षाका कारण निर्माण सामग्री बग्ने, कामको गुणस्तरमा असर पर्ने तथा यातायात अवरुद्ध हुने जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।
दैलेखको पादुका–राकम खण्डदेखि कालीकोटका विभिन्न स्थानसम्म अहिले सडक मर्मत तथा निर्माण कार्य जारी छ। निर्माण व्यवसायीहरू आर्थिक वर्षको अन्त्यअघि बिल भुक्तानीका लागि काम सक्न व्यस्त देखिएका छन्।
नेपालमा आर्थिक वर्षको अन्तिम महिनामा बजेट खर्च गर्न हतारिने प्रवृत्तिलाई ‘असारे विकास’ भनेर आलोचना गरिँदै आएको छ। विज्ञहरूले सडक निर्माण तथा कालोपत्रेजस्ता काम सुक्खा मौसममा गर्दा गुणस्तरीय र दिगो हुने बताउँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरेका छन्।
रास्कोट नगरपालिकाका पूर्वप्रमुख काशीचन्द्र बरालले ‘असारे विकास’ रोक्न विगतमा प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो। स्थानीय लीलाराज न्यौपानेले वर्षायाममा सडक निर्माण गर्दा गुणस्तरमा असर पर्ने मात्र होइन, यात्रुको सुरक्षामा समेत जोखिम बढ्ने भएकाले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)




.jpg)



प्रतिक्रिया