संस्थागत लगानीकर्तासँग सेबोनको छलफल : २० खर्ब रुपैयाँ बराबरको कोष पूँजी बजारमा ल्याउने पहल
- BFIS News
- 2026 Jul 18 08:08
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारलाई थप गतिशील, स्थिर र दीर्घकालीन बनाउन ठूला संस्थागत लगानीकर्ताहरूसँग रहेको करिब २० खर्ब रुपैयाँ बराबरको कोषलाई शेयर बजारमा परिचालन गर्ने तयारी अघि बढाएको छ।
यसै उद्देश्यका साथ बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले शुक्रबार कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा नेपाल बीमा प्राधिकरणका प्रमुख तथा प्रतिनिधिहरूसँग विशेष छलफल गरेका छन्। बीमा कम्पनीहरू आफैं ठूला संस्थागत लगानीकर्ता भए पनि प्रत्येक कम्पनीसँग अलग–अलग छलफल गर्नुको सट्टा तिनका नियामक निकाय नेपाल बीमा प्राधिकरणमार्फत समग्र बीमा क्षेत्रसँग संवाद गरिएको बोर्डले जनाएको छ।
छलफलका क्रममा अध्यक्ष भट्टले सरकारी तथा अर्धसरकारी संस्थाहरूसँग रहेको ठूलो कोषलाई पूँजी बजारको विकास र विस्तारमा परिचालन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। उनका अनुसार यी संस्थाहरूसँग रहेको करिब २० खर्ब रुपैयाँ बराबरको कोषलाई बजारमा कहाँ, कसरी र कुन माध्यमबाट लगानी गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक अवधारणा प्रस्तुत गरिएको हो।
"आज हामीले प्रमुख संस्थागत लगानीकर्ताहरूसँग छलफल गरेका छौँ। उहाँहरूसँग करिब २० खर्ब रुपैयाँ बराबरको ठूलो कोष छ। उक्त कोषलाई पूँजी बजारको विकासमा कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक सन्देश दिने प्रयास गरेका छौँ," अध्यक्ष भट्टले भने।
नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिनमै बजारमा सकारात्मक संकेत देखिएको अवस्थामा बोर्डले यो पहल थालेको हो। बोर्डका अनुसार संस्थागत लगानीकर्ताको सक्रिय सहभागिताले बजारमा तरलता बढ्ने, दीर्घकालीन लगानी आकर्षित हुने तथा अत्यधिक उतारचढाव न्यूनीकरण भई बजारलाई थप स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष भट्टका अनुसार साउन १ गतेदेखि बोर्डले आफ्नो १० वर्षे पूँजी बजार रणनीतिक मार्गचित्र कार्यान्वयन सुरु गरिसकेको छ। सोही मार्गचित्रअन्तर्गत संस्थागत कोषलाई पूँजी बजारमा आकर्षित गर्ने योजना अघि बढाइएको हो।
यसैबीच, बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले बढेर २,६७७.५४ विन्दुमा पुगेको थियो। बोर्डले यसलाई नीतिगत सुधार र नयाँ रणनीतिप्रति लगानीकर्ताको बढ्दो विश्वासका रूपमा व्याख्या गरेको छ।
"मार्गचित्र सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ। अहिले बजारमा नकारात्मकभन्दा सकारात्मक पक्ष नै बढी छन्। हामी नयाँ–नयाँ वित्तीय उपकरण ल्याउने र बजारलाई नयाँ ढंगले अघि बढाउने तयारीमा छौँ," अध्यक्ष भट्टले बताए।
बोर्डले आगामी सातादेखि विदेशी लगानीकर्ता तथा सरोकारवालासँग पनि छलफल सुरु गर्ने तयारी गरेको छ। वैदेशिक लगानी आकर्षित गर्ने सम्भावनाबारे अध्ययन तथा संवाद अघि बढाउँदै पूँजी बजारमा दीर्घकालीन र संस्थागत लगानीको आधार विस्तार गर्ने बोर्डको योजना रहेको छ।
सेबोनको यो पहल सफल भएमा संस्थागत रूपमा सञ्चित ठूलो पूँजी उत्पादनशील क्षेत्रमा परिचालन हुनुका साथै नेपाली पूँजी बजारमा दीर्घकालीन, भरपर्दो र स्थायी लगानीको आधार थप मजबुत हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)




प्रतिक्रिया