नयाँ नेतृत्वमा लुम्बिनी विकास बैंक, सीईओमा सुमन आचार्य
- BFIS News
- 2026 Jul 17 13:40
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन आचार्यले शुक्रबार (साउन १) देखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बैंकको सञ्चालक समितिको निर्णयअनुसार उहाँलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो।
बैंकका अनुसार आचार्यसँग बैंकिङ, व्यापार तथा जोखिम व्यवस्थापन क्षेत्रमा लामो अनुभव रहेको छ। विभिन्न वाणिज्य बैंकहरूमा उच्च कार्यकारी भूमिकामा कार्य गरिसकेका उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन र दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।
पदभार ग्रहणपछि आचार्यले बैंकको दीर्घकालीन लक्ष्य हासिल गर्दै उच्चस्तरीय ग्राहक सेवा, कर्मचारीको मनोबल अभिवृद्धि तथा सम्पूर्ण सरोकारवालाले बैंकप्रति राखेको विश्वासलाई अझ सुदृढ बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैंकले उनको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा उत्कृष्ट वित्तीय सेवा प्रवाहमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
बैंकका हालका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको कार्यकाल समाप्त भएसँगै बैंकले आन्तरिक नेतृत्वबाटै नयाँ सीईओ चयन गरेको हो। बोहरा २०७५ जेठदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनले लगातार दुई कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हालेपछि अवकाश लिएका हुन्।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत आचार्य हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत छन्। उनी २०८० वैशाखमा लुम्बिनी विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध भएका थिए।
आचार्यसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा २२ वर्षभन्दा बढीको व्यवस्थापकीय अनुभव रहेको छ। उनले नेपालका वाणिज्य बैंक, विकास बैंक तथा मर्चेन्ट बैंकिङ संस्थाहरूमा उच्च व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका छन्।
उनले कर्जा पोर्टफोलियो व्यवस्थापन, निक्षेप तथा दायित्व व्यवस्थापन, ट्रान्जेक्सन बैंकिङ, जोखिम व्यवस्थापन, एकीकृत बैंकिङ सञ्चालन तथा मानव संसाधन व्यवस्थापनका क्षेत्रमा विशेष अनुभव हासिल गरेका छन्। साथै, नीति तथा कार्यविधि निर्माण, शाखा विस्तार, विभाग तथा टोली व्यवस्थापन, संकट व्यवस्थापन, निक्षेप वृद्धिदेखि नियामकीय मापदण्डको पालनसम्मका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बैंकले जनाएको छ।
आचार्यले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) उपाधि हासिल गरेका छन्। उनले कीर्तिपुरस्थित केन्द्रीय व्यवस्थापन विभागबाट उत्कृष्ट शोधप्रबन्ध प्रस्तुत गरेबापत ‘कृष्णचन्द्र रेग्मी पुरस्कार’ समेत प्राप्त गरेका थिए।
उनले सन् २००० मा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) मा म्यानेजमेन्ट ट्रेनीका रूपमा बैंकिङ यात्रा सुरु गरेका थिए। त्यसपछि विभिन्न बैंक तथा वित्तीय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका आचार्यले सिभिल क्यापिटल मार्केट लिमिटेडमा अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालेका थिए। यसअघि उनी सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धक तथा प्रमुख कर्जा अधिकृत (चीफ लोन अफिसर) का रूपमा पनि कार्यरत थिए।
लुम्बिनी विकास बैंकले आचार्यको नेतृत्वमा संस्थागत सुशासन, व्यवसाय विस्तार तथा सेवाको गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया