अफवाहको पछि नलाग्न अर्थमन्त्रीको सचिवालयको आग्रह, ‘सेयर बजार सुधारका काम योजनाबद्ध रूपमा अघि बढिरहेका छन्’
- BFIS News
- 2026 Jul 17 12:29
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा फैलाइएका अफवाह र भ्रामक सूचनाबाट प्रभावित नहुन लगानीकर्तालाई आग्रह गर्दै सरकारले पुँजी बजार सुधारका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ।
नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा जारी गरिएको सन्देशमा सचिवालयले सरकार गठनपछि सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा निराशा र आक्रोश देखिएको विषयप्रति सरकार जानकार रहेको उल्लेख गरेको छ। सम्पत्तिको मूल्य घटेको अनुभूति हुनु तथा बजार अझै घट्ने हल्लाले लगानीकर्तामा चिन्ता बढ्नु स्वाभाविक भए पनि अफवाहको आधारमा निर्णय नगर्न आग्रह गरिएको छ।
सचिवालयका अनुसार सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अङ्ग भएकाले सरकारले बजारलाई दीर्घकालीन रूपमा सबल बनाउन आवश्यक नीतिगत तथा संस्थागत सुधार अघि बढाइरहेको छ। अर्थतन्त्रका अधिकांश सूचक सुधारोन्मुख रहेको, बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तथा कर नीतिमार्फत खर्च र लगानीलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गरिएको दाबी गरिएको छ।
सन्देशमा राजस्व विवादमा परेका हजारौँ करदातालाई ऐतिहासिक छुट सुविधामार्फत पुनः नियमित आर्थिक गतिविधिमा फर्किने अवसर प्रदान गरिएको उल्लेख गर्दै स्थिर सरकार, अनुभवी अर्थमन्त्री तथा नियामक निकायमा सक्षम र पारदर्शी नेतृत्व नियुक्त गरिएकाले सुधारका प्रयासले गति लिएको जनाइएको छ।
त्यसैगरी, नियामक निकायमार्फत पुँजी बजार सुधारका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका र बजारमा अनियमित गतिविधि गर्ने समूहविरुद्ध अनुसन्धान अघि बढाइएको पनि सचिवालयले जनाएको छ। तर, त्यसलाई तोडमोड गरेर बजारमा असामान्य अवस्था सिर्जना गर्ने उद्देश्यले गलत भाष्य निर्माण भइरहेको दाबी गरिएको छ।
सचिवालयले सरकार कम बोल्ने तर काममा केन्द्रित रहने नीति अवलम्बन गरिरहेको उल्लेख गर्दै यही अवस्थाको फाइदा उठाएर केही समूहले परिस्थितिजन्य लाभका लागि भ्रमपूर्ण प्रचार गरिरहेको आरोप लगाएको छ। सरकारलाई थाहा नभएका विषयमा त्रास फैलाउने, व्यक्तिको नाम जोडेर पक्राउ वा अनुसन्धानको हल्ला चलाउने जस्ता गतिविधि भइरहेको सूचनासमेत प्राप्त भएको सचिवालयको भनाइ छ।
यस्ता प्रचारप्रति सचेत रहन आग्रह गर्दै सरकारले कुनै पनि व्यक्तिमाथि अफवाहका आधारमा कारबाही नगरेको स्पष्ट पारिएको छ। साथै, बजारसम्बन्धी आधिकारिक सूचना क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा अनधिकृत व्यक्तिका अभिव्यक्तिबाट नभई सम्बन्धित सरकारी निकायबाट मात्रै लिन आग्रह गरिएको छ।
सचिवालयले दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, आधिकारिक स्रोतबाट सूचना लिन तथा अफवाहको पछि नलाग्न लगानीकर्तासँग अपिल गरेको छ। साथै, सबै लगानीकर्तालाई नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभकामना व्यक्त गर्दै बजारमा संयम र विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया