साउनका लागि वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर सार्वजनिक, अधिकांशले दर यथावत् राखे
- BFIS News
- 2026 Jul 16 17:49
काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने मुद्दती निक्षेप (एफडी) को नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक दरअनुसार अधिकांश बैंकहरूले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकहरूले व्यक्तिगत निक्षेपतर्फ सामान्य कटौती गरेका छन्।
२० वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार अधिकांश बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन्। ब्याजदरमा सबैभन्दा ठूलो कटौती भने राष्ट्रिय वाणिज्य बैंकले गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.७५ प्रतिशत बिन्दुले घटाएर ४ प्रतिशतमा झारेको छ भने संस्थागत निक्षेपतर्फ १ प्रतिशत बिन्दुले घटाउँदै ३ प्रतिशत कायम गरेको छ।
यता नेपाल बैंक लिमिटेड भने ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले वृद्धि गर्दै ४ प्रतिशत पुर्याएको छ। व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर भने अघिल्लो महिनाकै ४.२५ प्रतिशतमा यथावत् राखिएको छ।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर उपलब्ध गराएका छन्। त्यसपछि माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
संस्थागत मुद्दती निक्षेपतर्फ भने नेपाल बैंक लिमिटेड ४ प्रतिशत ब्याजदरका साथ सबैभन्दा अगाडि रहेको छ। दोस्रो स्थानमा एभरेष्ट बैंक रहेको छ, जसले ३.५० प्रतिशत ब्याजदर प्रदान गरेको छ।
साउन महिनाका लागि एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकसहित १२ वाणिज्य बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
बैंकहरूको ब्याजदर स्थिर रहनु तथा केही बैंकले थप कटौती गर्नुले बजारमा पर्याप्त तरलता रहेको संकेत गरेको विश्लेषण गरिएको छ। पछिल्ला महिनाहरूमा निक्षेप संकलनमा सुधार र कर्जा विस्तार अपेक्षाकृत सुस्त रहँदा बैंकहरू ब्याजदर बढाउनेभन्दा स्थिर राख्ने वा सामान्य रूपमा घटाउने रणनीतिमा देखिएका छन्। यस्तो अवस्थामा निक्षेपकर्ताले विभिन्न बैंकका ब्याजदर, सेवा सुविधा तथा सर्तहरूको तुलना गरेर मात्र लगानीको निर्णय गर्नु उपयुक्त हुने बैंकिङ क्षेत्रका जानकारहरूको सुझाव छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया