लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँको डिबेञ्चर निष्काशन गर्दै
- BFIS News
- 2026 Jul 21 11:04
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेड (एलएसएल) ले साउन १४ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वार्षिक ७ प्रतिशत ब्याजदर र १० वर्ष अवधिको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ जारी गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। निष्काशन हुने कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।
सर्वसाधारणका लागि छुट्याइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि सुरक्षित गरिएको छ।
यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा सम्पूर्ण निष्काशित कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा साउन १९ गते निष्काशन बन्द हुने र पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन २८ गतेसम्म आवेदन खुला रहनेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस (CARE-NP BBB+) Issuer Rating’ प्रदान गरेको छ। उक्त रेटिङले बैंक समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा मध्यम सुरक्षित रहेको संकेत गर्ने जनाएको छ।
बैंकका अनुसार ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि प्रचलित कर कट्टा गरी लगानीकर्तालाई भुक्तानी गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया