आर्थिक वर्षको पहिलो सातामै जुहारी लाल चौलागाईंले हासिल गरे नेपाल लाइफको राष्ट्रिय ‘लिडरसिप एक्सिलेन्स अवार्ड–२०२७’
- BFIS News
- 2026 Jul 25 09:56
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय उपाध्यक्ष जुहारी लाल चौलागाईंले आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो सातामै कम्पनीको प्रतिष्ठित Leadership Excellence Award (LEA) 2027 का लागि योग्य हुन सफल भएका छन्। उनले सात दिनको अवधिमा ८२ लाख ५० हजार भन्दा धेरैबीमा शुल्क आर्जन गर्दै राष्ट्रिय अवार्डमा चयन भएका हुन्।
कर्णाली प्रदेशको मुगु जिल्लामा जन्मिएका चौलागाईं बीमा क्षेत्रको व्यावसायिक नेतृत्वसँगै बीमा साक्षरता विस्तारमा पनि सक्रिय छन्। उनका अनुसार कर्णाली प्रदेशलाई बीमा सचेतनाको दृष्टिले अग्रणी बनाउँदै प्रत्येक परिवारसम्म बीमाको पहुँच पुर्याउनु आफ्नो प्रमुख लक्ष्य हो।
चौलागाईंले बीमालाई व्यावसायिक कारोबारका रूपमा मात्रै नभएर परिवारको आर्थिक सुरक्षासँग जोडिएको सामाजिक उत्तरदायित्वका रूपमा व्याख्या गर्दै आएका छन्। उनका अनुसार जीवनमा आइपर्न सक्ने अनिश्चित जोखिमको सामना गर्न बीमा सबैभन्दा भरपर्दो आर्थिक सुरक्षा संयन्त्र हो। "आज गरिएको बीमाको निर्णयले भोलि परिवारको भविष्य सुरक्षित बनाउँछ," भन्ने उनको धारणा छ।
राष्ट्रिय पुरस्कारका लागि छनोट भएको अवसरमा चौलागाईंले नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, बिजनेस म्यानेजर विष्णु प्रसाद शर्मा, बिजनेस म्यानेजर अङ्गराज जैसीलगायत सम्पूर्ण अग्रजप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले दिएको मार्गदर्शन, सुझाव र निरन्तर हौसलाले आफूलाई अझ जिम्मेवार र उत्कृष्ट सेवा दिन प्रेरित गरेको उनले बताएका छन्।
बीमा क्षेत्र रोज्ने निर्णायक मोड
लगातार चार वर्ष वैदेशिक रोजगारीमा बिताएपछि बिदामा नेपाल आएका बेला आफन्त बादु राजवंशीसँग भएको बीमासम्बन्धी छलफलले उनको जीवनको दिशा परिवर्तन गर्यो। नेपालमै रहेर दीर्घकालीन सम्भावना भएको पेशा रोज्ने सुझावपछि उनले जीवन बीमा क्षेत्रलाई आफ्नो भविष्य बनाउने निर्णय गरेका थिए।
२०७४ साल साउनमा नेपाल लाइफबाट अभिकर्ताको लाइसेन्स लिएपछि उनले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरे। अभिकर्ता बनेको २२ दिनमै एजेन्सी म्यानेजर बनेका उनले पहिलो तीन महिनामै आफ्नो सेल्फ कोडमार्फत ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए। उक्त उपलब्धिपछि नेपालगञ्ज शाखाले उनलाई सम्मान गरेको थियो।
त्यसपछि उनले वैदेशिक रोजगारी त्यागेर पूर्णकालीन रूपमा बीमा व्यवसायमा आफूलाई समर्पित गरे। एजेन्सी म्यानेजरदेखि सिनियर एजेन्सी म्यानेजर हुँदै उनले निरन्तर प्रगति गर्दै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (MDRT) 2024 का लागि समेत योग्यता हासिल गरेका थिए।
बीमा सचेतनालाई सामाजिक अभियान बनाउने प्रयास
चौलागाईंले बीमा व्यवसायलाई केवल पेशा नभई सामाजिक अभियानका रूपमा अघि बढाएका छन्। गाउँ–गाउँ पुगेर बीमाप्रति जनचेतना फैलाउने कार्यमा सक्रिय उनी जोखिम व्यवस्थापनबारे आमनागरिकलाई सचेत गराउने अभियानमा पनि निरन्तर छन्।
उनका अनुसार दैनिक जीवनमा हेल्मेट, सिटबेल्ट वा लाइफ ज्याकेट प्रयोग गरेजस्तै जीवन बीमा पनि परिवारको भविष्य सुरक्षित गर्ने सुरक्षा उपाय हो। "बीमा खर्च होइन, सुरक्षित भविष्यतर्फको सबैभन्दा बुद्धिमानी लगानी हो," भन्ने सन्देश उनले निरन्तर दिँदै आएका छन्।
सामाजिक सेवामा पनि सक्रिय
व्यावसायिक सफलतासँगै चौलागाईं सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्। उनी रारा मुगु सेवा समाज, बाँकेका अध्यक्ष हुन्। सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका विभिन्न गतिविधिमा उनको निरन्तर सहभागिता रहँदै आएको छ।
सरल, मिलनसार र सहयोगी स्वभावका कारण परिचित चौलागाईंले अनुशासन, इमान्दारिता र निरन्तर मेहनतलाई सफलताको मूल आधार मान्ने गरेका छन्। उनका अनुसार स्पष्ट लक्ष्य, दृढ संकल्प र निरन्तर प्रयासबाट जुनसुकै क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ।
आर्थिक वर्षको पहिलो सातामै नेपाल लाइफको Leadership Excellence Award (LEA) 2027 का लागि योग्य बन्न सफल हुनु उनको यही निरन्तरता, व्यावसायिक उत्कृष्टता र सेवामुखी प्रतिबद्धताको अर्को महत्वपूर्ण उपलब्धि हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया