नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रिया सुरु, १५ दिनभित्र आवेदन दिन आह्वान
- BFIS News
- 2026 Jul 28 10:45
काठमाडौं । नेपालको एक मात्र धितोपत्र बजार सञ्चालन संस्था नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
मन्त्रालयले नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि ‘छनोट तथा सिफारिस समिति’ गठन गरिसकेको छ। समितिको निर्णयअनुसार प्रकाशित पहिलो सूचनामा इच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दर्ता गराउन आग्रह गरिएको छ।
उच्च शैक्षिक योग्यता र लामो व्यवस्थापकीय अनुभव अनिवार्य
सूचनाअनुसार, उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्य, वित्त, व्यवस्थापन, सूचना प्रविधि, कानुन वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड एकाउन्टेन्सी (सीए) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।
त्यसैगरी, पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा १५ वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। त्यसमध्ये कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा कार्य गरेको अनुभव अनिवार्य गरिएको छ। व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृत द्वितीय श्रेणी वा सो सरह तथा कम्पनी वा संगठित संस्थाको कार्यकारी प्रमुख वा सोभन्दा दुई तह मुनिसम्मको नेतृत्व तहलाई मानिने सूचनामा उल्लेख गरिएको छ।
उमेर सीमा र अयोग्य हुने आधार
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारको उमेर आवेदनको अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।
त्यस्तै, गैर-नेपाली नागरिक, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्त्विक सम्पदा वा संरक्षित वन्यजन्तुसम्बन्धी कसुर तथा नैतिक पतन देखिने अन्य फौजदारी अपराधमा सजाय पाएका व्यक्ति, कानुनबमोजिम कालोसूचीमा रही तीन वर्ष नपुगेका, विदेशी स्थायी आवासीय अनुमति (पीआर, डीभी वा ग्रिन कार्ड) प्राप्त गरेका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति यस पदका लागि अयोग्य हुनेछन्।
व्यावसायिक कार्ययोजना पनि अनिवार्य
अर्थ मन्त्रालयले उम्मेदवारलाई व्यक्तिगत विवरण र शैक्षिक प्रमाणपत्रसँगै नेप्सेको भावी विकास रणनीति समेटिएको ‘व्यावसायिक कार्ययोजना’ (बिजनेस एक्सन प्लान) समेत पेस गर्नुपर्ने व्यवस्था गरेको छ।
उम्मेदवारले तीन प्रति खामबन्दी कार्ययोजना आवेदनसँगै बुझाउनुपर्नेछ। खामको बाहिरी भागमा आवेदकको नाम तथा “नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” स्पष्ट रूपमा उल्लेख गरी हस्ताक्षर गर्नुपर्ने सूचनामा उल्लेख छ।
आवेदन दस्तुर पाँच हजार रुपैयाँ
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले रु. ५ हजार आवेदन दस्तुर बुझाउनुपर्नेछ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१ तथा राजस्व शीर्षक १८२२४ मा जम्मा गरी सक्कल भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ। नियुक्त हुने प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक, भत्ता तथा अन्य सेवा–सुविधा नेपाल सरकारले तोकेको मापदण्डअनुसार हुने जनाइएको छ।
प्रस्तुतीकरणसहित मूल्याङ्कनपछि हुनेछ सिफारिस
छनोट समितिले प्राप्त आवेदनहरूको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, पेस गरिएको व्यावसायिक कार्ययोजना तथा त्यसको प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गरी उपयुक्त उम्मेदवार सिफारिस गर्नेछ।
मन्त्रालयले कुनै पनि आवेदन आवश्यक ठानेमा कारण खुलाएर वा नखुलाई रद्द गर्न सक्ने अधिकार सुरक्षित राखेको जनाएको छ। साथै, आवेदनका क्रममा झुट्टा विवरण वा नक्कली कागजात पेस गरेको पाइएमा आवेदन स्वतः रद्द हुनुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि सूचनामार्फत दिइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया