Nepal Life

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, सेबोन र एनआरएन प्रतिनिधिबीच छलफल

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 29 21:16
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, सेबोन र एनआरएन प्रतिनिधिबीच छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली (एनआरएन) का प्रतिनिधिबीच गैरआवासीय नेपालीलाई नेपालको धितोपत्र बजारमा सहभागी गराउने विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

Nepal Life
NIMB

मंगलबार बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टसहित बोर्डका उच्च पदाधिकारी तथा गैरआवासीय नेपालीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा गैरआवासीय नेपालीलाई नेपालको पूँजी बजारमा लगानीका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाबारे विस्तृत छलफल गरिएको बोर्डले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. भट्टले नेपाल सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने उद्देश्यअनुसार आवश्यक कानुनी सुधार गर्ने व्यवस्था उल्लेख भएको स्मरण गराए। सोही नीतिअनुरूप बोर्डले आफ्नो आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा समेत सम्बन्धित विषय समावेश गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको उनले बताए।

अध्यक्ष भट्टले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप, ज्ञान र पूँजीलाई नेपालको पूर्वाधार विकाससँग जोड्ने वातावरण निर्माण गर्न बोर्ड सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक सहजीकरणका लागि बोर्ड प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

छलफलका क्रममा गैरआवासीय नेपालीका प्रतिनिधिहरूले नेपाल सरकार र धितोपत्र बोर्डको पछिल्लो पहलले गैरआवासीय नेपालीका लागि नेपालको धितोपत्र बजारमा लगानी गर्ने वातावरण क्रमशः अनुकूल बन्दै गएको बताएका थिए। उनीहरूले यसलाई पूँजी बजारको विस्तार तथा मुलुकमा वैदेशिक नेपालीको लगानी आकर्षित गर्ने महत्वपूर्ण अवसरका रूपमा समेत व्याख्या गरे।

प्रतिनिधिहरूले नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको एक इन्भेष्टमेन्ट कम्पनीमार्फत सार्वजनिक निष्कासन (आईपीओ) गरी गैरआवासीय नेपाली तथा विदेशमा रहेका नेपालीबाट पूँजी संकलन गर्ने योजना प्रस्तुत गरेका थिए। संकलित रकम नेपालको भौतिक पूर्वाधार विकासका विभिन्न परियोजनामा लगानी गर्ने लक्ष्य रहेको उनीहरूको भनाइ थियो।

त्यसैगरी, भविष्यमा परियोजनामुखी लगानीका लागि बण्ड तथा डिबेन्चरजस्ता ऋणपत्र जारी गरी थप स्रोत परिचालन गर्ने योजना रहेको जानकारी दिँदै त्यसका लागि आवश्यक कानुनी तथा नियामकीय सुधारमा बोर्डले सहजीकरण गरिदिन आग्रह गरिएको थियो।

कार्यक्रममा सहभागी दुवै पक्षले गैरआवासीय नेपालीको लगानीलाई नेपालको पूँजी बजार तथा पूर्वाधार विकाससँग जोड्ने विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया