कृषि विकास बैंकको वित्तीय सहकार्यमा विराटनगरमा इफराह आई हस्पिटल सञ्चालनमा
- BFIS News
- 2026 Jul 29 21:40
काठमाडौं । कृषि विकास बैंक लिमिटेड विराटनगर शाखाको वित्तीय सहकार्यमा निर्माण गरिएको इफराह आई हस्पिटल प्रा.लि. मोरङको विराटनगर महानगरपालिका–१५, मलाया रोडमा सञ्चालनमा आएको छ। अस्पतालको औपचारिक उद्घाटन कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइराला, कृषि विकास बैंक लिमिटेड कोशी प्रदेश कार्यालय विराटनगरका प्रदेश निर्देशक प्रकाश कँडेल, विराटनगर शाखाका प्रबन्धक टंकप्रसाद पोखरेल, वरिष्ठ शाखा प्रमुख जयदेव ढकाल, वरिष्ठ शाखा अधिकृत सन्तोषजंग कार्की, व्यवसाय अधिकृत सङ्गीता कर्ण, स्थानीय तहका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघ मोरङ जिल्ला समितिकी अध्यक्ष सुशिला पाठक, समाजसेवी, बुद्धिजीवी, विभिन्न अस्पतालका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रदेश निर्देशक प्रकाश कँडेलले कृषि विकास बैंकले सर्वसाधारणको निक्षेपलाई कृषि क्षेत्रसँगै सेवा, उत्पादन तथा अन्य प्राथमिकता प्राप्त क्षेत्रहरूमा पनि समान महत्वका साथ लगानी गर्दै आएको बताए। उनले स्वास्थ्य सेवाको पहुँच विस्तारमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै इफराह आई हस्पिटलको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रमका वक्ताहरूले विराटनगर तथा आसपासका नागरिकलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको उल्लेख गर्दै यसले प्रदेशको स्वास्थ्य सेवा विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। अस्पताल सञ्चालनसँगै स्थानीय बासिन्दाले सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया