आत्मनिर्भर लघुवित्तको नाफा ३९.५६ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ६९.७१ रुपैयाँ
- BFIS News
- 2026 Aug 02 16:57
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड (एएनएलबी)ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले समीक्षा अवधिमा नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाले ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४ करोड ४७ लाख रुपैयाँको तुलनामा ३९.५६ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानीमा वृद्धि तथा सञ्चालन दक्षतामा सुधार आएपछि संस्थाको नाफा उल्लेखनीय रूपमा बढेको हो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १३.१९ प्रतिशतले बढेर १५ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी १३ करोड ५७ लाख रुपैयाँ रहेको थियो।
व्यवसाय विस्तारसँगै निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा वृद्धि भएको छ। ग्राहक निक्षेप २७.०३ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी २१.३२ प्रतिशतले विस्तार हुँदै १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
स्रोत व्यवस्थापनतर्फ संस्थाको ऋण सापटी ९ करोड ९७ लाख रुपैयाँ रहेको छ। ब्याज खर्च भने लगभग स्थिर रहँदै ०.०६ प्रतिशतले घटेर ७ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ।
सञ्चालन खर्च ४.०३ प्रतिशतले बढेर १ करोड ६१ लाख रुपैयाँ पुगे पनि कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटेको छ। समीक्षा अवधिमा यस्तो व्यवस्था २ करोड १२ लाख रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ४ करोड ७२ लाख रुपैयाँभन्दा निकै कम हो। यही कारण संस्थाको सञ्चालन नाफा ५ करोड १७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४ करोड ९७ लाख रुपैयाँभन्दा बढी हो।
सम्पत्ति गुणस्तरतर्फ पनि सुधार देखिएको छ। संस्थाको निष्क्रिय कर्जा (एनपीएल) अनुपात १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशतमा झरेको छ। यद्यपि, पुँजी पर्याप्तता अनुपात भने १७.३३ प्रतिशतबाट घटेर १५.७३ प्रतिशतमा सीमित भएको छ। संस्थाको कस्ट अफ फन्ड ८.४५ प्रतिशत रहेको छ।
प्रतिशेयर वित्तीय सूचकहरू पनि मिश्रित देखिएका छन्। प्रतिशेयर आम्दानी (ईपीएस) ५७.०७ रुपैयाँबाट बढेर ६९.७१ रुपैयाँ पुगेको छ। यद्यपि, प्रतिशेयर नेटवर्थ ५.८३ प्रतिशतले घट्दै १०३.२८ रुपैयाँमा झरेको वित्तीय विवरणमा उल्लेख छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpg)

प्रतिक्रिया