नेप्से १.२० अंकले घट्यो, कारोबार रकम ४ अर्ब ५७ करोड रुपैयाँ नाघ्यो
- BFIS News
- 2026 Aug 03 15:19
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ।
सोमबार नेप्से परिसूचक १.२० अंकले घटेर २,६८४.३३ विन्दुमा कायम भएको छ। यद्यपि, सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले वृद्धि भएको छ।
यस दिन ३४९ वटा कम्पनीको १ करोड १४ लाख ४९ हजार कित्ता शेयर ६३ हजार ६४८ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
कारोबारमा एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किटमा पुगेको छ। कम्पनीको शेयर मूल्य १९६ रुपैयाँ ३० पैसा बढेर प्रतिकित्ता १ हजार ५०५ रुपैयाँ ६० पैसामा कायम भएको छ। यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ११.५ प्रतिशतभन्दा बढी तथा महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
यता, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य सबैभन्दा धेरै ७.४० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। कम्पनीको २७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसपछि रिडी पावर कम्पनीको करिब २१ करोड रुपैयाँ र ग्लोबल आइएमई बैंकको १९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये ८ उपसमूहका सूचक बढेका छन् भने ५ उपसमूहमा गिरावट आएको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड तथा निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि हुँदा अन्य उपसमूहका सूचक भने घटेर बन्द भएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया