माण्डु हाइड्रोपावरको खुद नाफा ३१ करोड ८५ लाख, विद्युत बिक्री आम्दानीमा उल्लेख्य वृद्धि
- BFIS News
- 2026 Aug 04 13:53
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै विद्युत बिक्री आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ।
कम्पनीले बाढीपहिरोबाट प्रभावित आयोजना पुनः सञ्चालनमा आएपछि वित्तीय प्रदर्शनमा सुधार देखिएको हो।
सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको खुद नाफा वार्षिक आधारमा ४१४.८० प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। कुल आम्दानी पनि ७९ करोड ४९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ।
आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ। जगेडा कोष ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट वृद्धि भई ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
ललितपुर र मकवानपुरको सीमाक्षेत्रमा रहेको कम्पनीको २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना २०८१ सालको असोजमा आएको बाढी र पहिरोबाट प्रभावित भएको थियो। कम्पनीका अनुसार पुनर्निर्माण कार्य सम्पन्न भएपछि आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ।
कम्पनीले आयोजनाको क्षमता थप १० मेगावाट विस्तार गरी कुल ३२ मेगावाटका लागि विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) तथा सञ्चालन अनुमति प्राप्त गरिसकेको जनाएको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ५४ पैसाबाट बढेर २३ रुपैयाँ ३६ पैसा पुगेको छ। कम्पनीले यसअघि १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सार्वजनिक गरिसकेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया