Nepal Life

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौताको तयारी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 07 14:58
साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौताको तयारी

काठमाडौं । साउदी अरेबिया, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौतामा हस्ताक्षरको तयारी भइरहेको छ।

Nepal Life
NIMB

क्षेत्रीय घटनाक्रमबारे जानकार स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तीन देशबीच करिब एक वर्षदेखि जारी वार्ता सम्झौताको अन्तिम चरणमा पुगेको जनाएको छ।

सम्झौतामा हस्ताक्षरका लागि टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाप्रमुख असिम मुनिर साउदी अरबको जेद्दाह पुगेका छन्। उनीहरूले साउदी युवराज मोहम्मद बिन सलमानसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

तीन देशबीच क्षेत्रीय सुरक्षा सहकार्यबारे यसअघि पनि छलफल हुँदै आएको थियो। गत जनवरीमा पनि उनीहरूबीच सुरक्षा सहकार्यसम्बन्धी वार्ता भइरहेको विवरण सार्वजनिक भएको थियो। टर्की उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को सदस्य राष्ट्र हो भने साउदी अरेबिया अमेरिकाको प्रमुख साझेदारमध्ये एक हो। पाकिस्तान भने परमाणु हतियार भएको मुस्लिम राष्ट्र हो।

इरानसँगको बढ्दो तनाव तथा क्षेत्रीय सुरक्षासम्बन्धी चुनौतीका बीच नयाँ रक्षा सम्झौताको तयारी भइरहेको हो। पछिल्लो क्षेत्रीय द्वन्द्वले खाडी मुलुकहरूको सुरक्षा चासो बढाएको छ भने होर्मुज जलडमरूमध्य हुँदै हुने तेल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्तिसमेत प्रभावित भएको छ।

टर्कीका विदेशमन्त्री हाकान फिदानले यसअघि क्षेत्रीय स्थायित्व र सहकार्यका लागि व्यापक क्षेत्रीय सुरक्षा संयन्त्र आवश्यक रहेको धारणा सार्वजनिक गरेका थिए।

यसअघि साउदी अरेबिया र पाकिस्तानबीच रहेको सुरक्षा सम्झौतामा एक देशमाथि भएको आक्रमणलाई दुवै देशमाथिको आक्रमणका रूपमा लिने व्यवस्था रहेको बताइएको छ। प्रस्तावित त्रिपक्षीय सम्झौताले तीन देशबीचको रक्षा तथा सुरक्षा सहकार्यलाई थप औपचारिक र विस्तारित गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया