Nepal Life

नेपाल एसबीआई बैंकको नाफा १२.८९ प्रतिशतले बढ्यो, खराव कर्जामा सुधार

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 12 10:57
नेपाल एसबीआई बैंकको नाफा १२.८९ प्रतिशतले बढ्यो, खराव कर्जामा सुधार

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८१ करोड रुपैयाँको तुलनामा १२.८९ प्रतिशतले बढेको हो।

Nepal Life
NIMB

बैंकको नाफा वृद्धिमा मुख्य रूपमा कर्जा नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट चार्ज घट्नुले सहयोग गरेको छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ८.७७ प्रतिशतले घटेर ९४ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १६.६२ रुपैयाँ रहेको ईपीएस बढेर १८.०४ रुपैयाँ पुगेको छ। चौथो त्रैमासको अन्त्यमा बैंकको सेयर मूल्य ३९२.९ रुपैयाँ कायम हुँदा मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) २१.७८ गुणा रहेको छ।

चुक्ता पुँजी र सञ्चित कोष बढ्यो

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी १० अर्ब ८९ करोड रुपैयाँ थियो।

बैंकको रिटेन्ड अर्निङ ४.५५ प्रतिशतले बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको रिजर्भ १२.०३ प्रतिशतले बढेर ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।

निक्षेप र कर्जा विस्तार

बैंकले व्यवसाय विस्तारतर्फ पनि वृद्धि गरेको छ। ग्राहक निक्षेप ६.६२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ८.२३ प्रतिशतले बढेर १ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको कोषको लागत (कस्ट अफ फन्ड) समेत घटेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५.१८ प्रतिशत रहेको कोषको लागत समीक्षा अवधिमा घटेर ४.०६ प्रतिशतमा आएको छ। यसले बैंकको वित्तीय स्रोत व्यवस्थापनमा सुधार भएको देखाउँछ।

खुद ब्याज आम्दानी सामान्य बढ्यो

बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेर ५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यद्यपि, कर्मचारी खर्च १०.१६ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ।

इम्पेयरमेन्ट चार्ज घटे पनि बैंकको सञ्चालन नाफामा भने गिरावट आएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ३०.२० प्रतिशतले घटेर १ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ।

खराब कर्जा घट्यो, पूँजी पर्याप्तता बढ्यो

बैंकको सम्पत्तिको गुणस्तरतर्फ गैरनिष्क्रिय कर्जा (एनपीएल) अनुपातमा सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा ३.३५ प्रतिशत रहेको एनपीएल अनुपात घटेर २.९२ प्रतिशतमा आएको छ।

बैंकको पूँजी पर्याप्तता अनुपात पनि बढेको छ। अघिल्लो वर्ष १२.७५ प्रतिशत रहेको पूँजी पर्याप्तता अनुपात समीक्षा अवधिमा १३.७४ प्रतिशत पुगेको छ।

त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १८८.६७ रुपैयाँबाट बढेर १९४.७३ रुपैयाँ पुगेको छ। यसले बैंकको प्रतिशेयर सम्पत्ति आधारमा समेत सुधार भएको देखाउँछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया