नेपालमा एडिबीको ४.३ अर्ब डलर लगानी, ऊर्जा र यातायात क्षेत्रमा सबैभन्दा बढी
- BFIS News
- 2026 Nov 23 16:45
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा कुल ४ अर्ब ३० करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ। एडीबीको सन् २०२६ नोभेम्बर १५ सम्मको पोर्टफोलियो विवरणअनुसार ऊर्जा र यातायात क्षेत्रमा सबैभन्दा बढी लगानी रहेको छ।
एडीबीको कुल लगानीमध्ये ऊर्जा क्षेत्रमा १ अर्ब २१ करोड अमेरिकी डलर अर्थात् ३० प्रतिशत हिस्सा रहेको छ। यस क्षेत्रमा ७ वटा परियोजना सञ्चालनमा छन्, जसका लागि ८ वटा ऋण र ८ वटा अनुदान परिचालन गरिएको छ।
त्यस्तै, यातायात क्षेत्रमा १ अर्ब १३ करोड अमेरिकी डलर लगानी रहेको छ। यो कुल पोर्टफोलियोको २८ प्रतिशत हो। यस क्षेत्रमा ६ वटा परियोजना सञ्चालनमा छन्, जसलाई ६ वटा ऋण र एउटा अनुदानमार्फत सहयोग गरिएको छ।
जलस्रोत तथा सहरी विकास क्षेत्रमा एडीबीको ६८ करोड १८ लाख अमेरिकी डलर लगानी रहेको छ। कुल लगानीको १७ प्रतिशत हिस्सा ओगट्ने यस क्षेत्रमा ५ वटा परियोजना छन्। ती परियोजनाका लागि ५ वटा ऋण र ३ वटा अनुदान उपलब्ध गराइएको छ।
कृषि तथा प्राकृतिक स्रोत क्षेत्रमा ५३ करोड ९० लाख अमेरिकी डलर लगानी रहेको छ। कुल पोर्टफोलियोको १३ प्रतिशत हिस्सा रहेको यस क्षेत्रमा ८ वटा परियोजना सञ्चालनमा छन्। यी परियोजनाका लागि ७ वटा ऋण र ७ वटा अनुदान परिचालन गरिएको छ।
मानव विकास क्षेत्रमा एडीबीको ३६ करोड ३९ लाख अमेरिकी डलर लगानी रहेको छ। कुल लगानीको ९ प्रतिशत हिस्सा रहेको यस क्षेत्रमा २ वटा परियोजना छन्। दुवै परियोजनाका लागि २ वटा ऋण र २ वटा अनुदान उपलब्ध गराइएको छ।
अन्य क्षेत्रमा भने तुलनात्मक रूपमा कम लगानी रहेको छ। वित्तीय क्षेत्रमा ५ करोड अमेरिकी डलर अर्थात् १ प्रतिशत लगानी रहेको छ। यस क्षेत्रमा एउटा परियोजनाका लागि एउटा ऋण परिचालन गरिएको छ। उद्योग तथा व्यापार क्षेत्रमा पनि ५ करोड अमेरिकी डलर लगानी रहेको छ। त्यहाँ एउटा परियोजनालाई एउटा ऋणमार्फत सहयोग गरिएको छ।
त्यसैगरी, डिजिटल विकास क्षेत्रमा ४ करोड अमेरिकी डलर अर्थात् १ प्रतिशत लगानी रहेको छ। यस क्षेत्रमा एउटा परियोजनाका लागि एउटा ऋण उपलब्ध गराइएको छ। सार्वजनिक क्षेत्रमा भने १ करोड २० लाख अमेरिकी डलर लगानी रहेको छ। उक्त रकम एउटा परियोजनाका लागि अनुदानमार्फत उपलब्ध गराइएको छ।
एडीबीको विवरणअनुसार नेपालमा बैंकको कुल पोर्टफोलियोअन्तर्गत ३२ वटा परियोजना रहेका छन्। ती परियोजनाका लागि ३१ वटा ऋण र २२ वटा अनुदान परिचालन गरिएको छ। कुल लगानीको ठूलो हिस्सा ऊर्जा र यातायात क्षेत्रमा केन्द्रित रहेको विवरणले देखाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया