विपत्तिमा परिवारको आर्थिक सहारा बन्यो जीवन बीमा, विष्टको परिवारलाई आइएमई लाइफद्वारा दाबी भुक्तानी
- BFIS News
- 2026 Aug 10 18:11
काठमाडौं । विपत्ति र संकटको समयमा सही वित्तीय निर्णयको महत्त्व अझ बढी देखिन्छ। यही कुराको उदाहरण बनेको छ, कमलबजार नगरपालिका–१० का स्वर्गीय भरत विष्टको परिवारमा जीवन बीमाले दिएको आर्थिक सहारा।
भरत विष्टका छोरा तपेन्द्र विष्टले करिब दुई वर्षअघि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको अछाम शाखामा अभिकर्ता मंगल रावतमार्फत वार्षिक २० हजार ६ सय ४४ रुपैयाँ किस्ता तिर्ने गरी २ लाख २० हजार रुपैयाँको जीवन बीमा पोलिसी लिएका थिए।
गत वैशाखमा हृदयघातका कारण भरत विष्टको निधन भएपछि बीमा पोलिसीअन्तर्गत परिवारले दाबी भुक्तानी पाउने अवस्था बनेको थियो। कम्पनीले बीमित परिवारलाई राहतस्वरूप २ लाख ७५ हजार रुपैयाँको दाबी भुक्तानी गरेको छ। कम्पनीले रकम बीमितको घरमै पुगेर हस्तान्तरण गरेको हो।
बीमा दाबी भुक्तानीमा मात्रै सीमित नभई पोलिसीका अन्य सुविधासमेत परिवारले पाउने व्यवस्था रहेको छ। बीमा अवधिभर प्रत्येक वर्ष तिर्नुपर्ने २० हजार ६ सय ४४ रुपैयाँको किस्ता कम्पनीले नै व्यहोर्नेछ।
त्यस्तै, नाबालक बच्चाको शिक्षा तथा भविष्यका लागि प्रत्येक महिना बीमाङ्क रकमको १ प्रतिशत अर्थात् २ हजार २ सय रुपैयाँ बच्चाको खातामा जम्मा गरिने व्यवस्था गरिएको छ। बीमा अवधि समाप्त भएपछि बीमाङ्क रकमसँगै प्राप्त बोनससमेत बीमितको खातामा जम्मा हुनेछ।
आर्थिक संकटको समयमा परिवारलाई प्रत्यक्ष राहत पुग्ने गरी दाबी भुक्तानी र भविष्यका लागि निरन्तर आर्थिक सहयोग उपलब्ध गराइनुले जीवन बीमाको भूमिकालाई थप स्पष्ट पारेको छ। विष्ट परिवारले दुःखको समयमा आर्थिक सहारा प्रदान गरेको भन्दै सम्बन्धित बीमा कम्पनीप्रति आभार व्यक्त गरेको छ।
जीवन बीमा तत्कालको खर्चका रूपमा मात्र नभई भविष्यको आर्थिक सुरक्षा र संकटको समयमा परिवारको सहाराका रूपमा पनि उपयोगी हुने देखिन्छ। त्यसैले आफ्नो आर्थिक अवस्था र आवश्यकता मूल्याङ्कन गरी समयमै जीवन बीमामार्फत परिवारको भविष्य सुरक्षित गर्ने अभ्यास महत्वपूर्ण हुन्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया