सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, रिकभरमा गर्यो काम : इम्पेरमेन्ट चार्जमा ठूलो गिरावट
- BFIS News
- 2026 Aug 14 13:39
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको १ अर्ब २८ करोड ७० लाख रुपैयाँको तुलनामा खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि गरेको हो।
बैंकले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि इम्पेरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले नाफा बढाउन मुख्य भूमिका खेलेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ६८ करोड रुपैयाँबाट घटेर ८२ करोड ९३ लाख रुपैयाँमा झरेको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशतले घटेर ६ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ४१ करोड रुपैयाँ थियो। यद्यपि, खुद फि तथा कमिशन आम्दानी भने ६.३३ प्रतिशतले बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले वृद्धि हुँदा सञ्चालन मुनाफा ८१.२६ प्रतिशतले बढेर ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
बैंकको आम्दानीसँगै प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार आएको छ। समीक्षा अवधिमा ईपीएस ४ रुपैयाँ ८२ पैसा बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको ईपीएस ८ रुपैयाँ ७१ पैसा थियो। त्यस्तै, प्रतिशेयर नेटवर्थ ३.३१ प्रतिशतले बढेर १६० रुपैयाँ ५१ पैसा पुगेको छ।
गत असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ३१ लाख रुपैयाँ रहेको छ। सो अवधिमा बैंकको मूल्य–आम्दानी अनुपात (पी/ई) १४.५५ गुणा रहेको छ भने चौथो त्रैमासको अन्त्यमा बैंकको बजार मूल्य प्रतिकित्ता १९६ रुपैयाँ ९० पैसा कायम थियो।
बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो पुँजी १४ अर्ब ७६ करोड रुपैयाँ थियो। बैंकको जगेडा तथा कोषमा ८ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ। उपलब्ध विवरणअनुसार जगेडा कोषमा करिब १९.७४ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, बैंकको ग्राहक निक्षेप ९.५७ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकसँग २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप थियो। कर्जा तथा सापटी भने सामान्य रूपमा बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १ खर्ब ६८ अर्ब रुपैयाँको तुलनामा ०.७६ प्रतिशत बढी हो।
बैंकको पूँजी पर्याप्तता अनुपात १२.४७ प्रतिशतमा स्थिर रहेको छ। यद्यपि, निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने बढेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल अनुपात ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको छ।
अर्कोतर्फ, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) मा उल्लेख्य सुधार देखिएको छ। यस्तो लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा झरेको छ, जुन २५.१७ प्रतिशतको कमी हो। यसले बैंकको वित्तीय स्रोतको लागत घटाउन सहयोग गरेको देखिन्छ।
यसरी, ब्याज आम्दानीमा आएको सामान्य गिरावटका बाबजुद इम्पेरमेन्ट चार्जमा आएको ठूलो कमी, सञ्चालन मुनाफामा भएको वृद्धि तथा कोषको लागतमा आएको सुधारका कारण सिटिजन्स बैंकको समग्र नाफामा उल्लेख्य वृद्धि भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया