माछापुच्छ्रे बैंकको नाफा १२.२४ प्रतिशतले बढ्यो, ईपीएस १७.४९ रुपैयाँ
- BFIS News
- 2026 Aug 14 13:44
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ रहेको थियो।
बैंकको खुद नाफा बढ्नुमा खुद ब्याज आम्दानी तथा फि तथा कमिशन आम्दानीमा भएको वृद्धि र गैरसञ्चालन खर्चमा आएको कमी मुख्य कारण देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशतले बढेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २३.३८ प्रतिशतले वृद्धि भएको छ। यससँगै बैंकको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशतले बढेर सञ्चालन मुनाफासमेत ०.५४ प्रतिशतले वृद्धि भएको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि सुधारिएको छ। समीक्षा अवधिमा ईपीएस १ रुपैयाँ ९० पैसा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको छ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ। त्यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १४.१८ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
पूँजीतर्फ बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेपछि चुक्ता पूँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ। सो अवधिसम्म बैंकको जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ सञ्चित रहेको छ।
समीक्षा अवधिको अन्त्यसम्म बैंकले २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। यस अवधिमा बैंकको कर्जा प्रवाह १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ। यसले बैंकको व्यवसाय विस्तारसँगै नाफा तथा प्रतिशेयर आम्दानीमा समेत सुधार आएको देखाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया