NIMB Header 2
Nepal Life

अत्याधिक आइपिओ निष्काशन पछि भियतनाममा लगानीकर्ताको आकर्षण घट्यो, बिक्री हुनै छाड्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 22:37
अत्याधिक आइपिओ निष्काशन पछि भियतनाममा लगानीकर्ताको आकर्षण घट्यो, बिक्री हुनै छाड्यो
United Ajod

काठमाडौं । भियतनाममा अत्याधिक मात्रामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) हुने देखिए पछि लगानीकर्ताको आकर्षण घटेको छ। आगामी वर्षहरूमा तीव्र हुने अपेक्षा गरिए पनि नयाँ सेयरप्रति लगानीकर्ताको आकर्षण कमजोर देखिन थालेको छ। नयाँ सेयर निष्कासनका पछिल्ला कारोबारमा माग अपेक्षाअनुसार नआएपछि कम्पनीहरूले लक्ष्यअनुसार पुँजी जुटाउन नसक्ने र आईपीओको समयतालिका परिमार्जन गर्नुपर्ने अवस्था देखिएको छ।

Nepal Life
NIMB

भियतनाम प्राइभेट क्यापिटल एजेन्सीले सन् २०२६–२०२७ मा ३ अर्बदेखि ५ अर्ब अमेरिकी डलरसम्मको आईपीओ पाइपलाइन रहने प्रक्षेपण गरेको थियो। पाँच वर्षसम्म सुस्त रहेको आईपीओ बजारमा आगामी अवधि एक दशककै सबैभन्दा सक्रिय चक्र बन्ने अपेक्षा गरिएको थियो। तर पछिल्ला कारोबारले बजार पुनरुत्थान सहज नहुने संकेत गरेका छन्।

विशेषगरी परम्परागतभन्दा फरक व्यवसायिक मोडल भएका कम्पनीका आईपीओमा लगानीकर्ताको छनोट कडा बनेको छ। यसको पछिल्लो उदाहरण एफ८८ इन्भेस्टमेन्ट जेएससी बनेको छ। करिब एक हजार शाखासहित भियतनामको सबैभन्दा ठूलो प्यानसप नेटवर्क सञ्चालन गर्ने एफ८८ले जुलाईमा नयाँ सेयर बिक्रीमार्फत १.५६ ट्रिलियन डोङ अर्थात् करिब ५ करोड ९८ लाख अमेरिकी डलर जुटाउने लक्ष्य राखेको थियो।

मुख्य सेयर बजार हो चि मिन्ह स्टक एक्सचेन्जमा सूचीकृत हुनुअघि गरिएको उक्त निष्कासनमा लक्ष्यको करिब आधा मात्रै माग आयो। तीन साताको अवधिमा कम्पनीले करिब ७८२ अर्ब डोङ जुटाउन सक्यो भने बिक्री नभएका बाँकी सेयर रद्द गरिएको थियो।

एफ८८का प्रमुख सेयरधनी तथा मेकोंग क्यापिटलका संस्थापक क्रिस फ्रेन्डले कमजोर मागलाई मुख्यतः निष्कासनको समयसँग जोड्दै जुलाई बजारका लागि निकै प्रतिकूल महिना भएको बताएका छन्। अपेक्षित रकमको आधा जुटाउन सक्नु पनि त्यस्तो बजार परिस्थितिमा उपलब्धि भएको उनको भनाइ छ।

तर कम्पनीको वित्तीय प्रदर्शन भने कमजोर थिएन। सन् २०२६ को पहिलो छ महिनामा एफ८८को आम्दानी ५३ प्रतिशतले बढेर २.९४ ट्रिलियन डोङ पुगेको थियो। सो अवधिमा सेयरधनीलाई वितरणयोग्य नाफा दोब्बरभन्दा बढी बढेर ५४५ अर्ब डोङ पुगेको थियो।

फ्रेन्डका अनुसार एफ८८को व्यवसायलाई बुझ्न लगानीकर्तालाई थप समय आवश्यक छ। परम्परागत वाणिज्य बैंकको प्रभुत्व रहेको भियतनामी बजारमा प्रविधिमा आधारित तीव्र विस्तार भइरहेको वैकल्पिक ऋणदाताका रूपमा एफ८८ले नयाँ व्यवसायिक मोडल प्रस्तुत गरेको छ।

सन् २०२५ को उत्साह हराउँदै

एफ८८को आईपीओमा देखिएको कमजोर माग सन् २०२५ को अवस्थाभन्दा बिल्कुलै फरक हो। सन् २०२५ मा सेयर बजारमा आएको तीव्र वृद्धिले भियतनामको आईपीओ बजारलाई पुनर्जीवित गरेको थियो। अधिकांश ठूला निष्कासनमा माग निष्कासनभन्दा बढी देखिएको थियो र कुल पुँजी संकलन बहुवर्षीय उच्च बिन्दुमा पुग्दै ३८.६ ट्रिलियन डोङ पुगेको थियो। तर सन् २०२६ मा बजारको अवस्था थप चुनौतीपूर्ण बनेको छ।

मोबाइल वर्ल्डको उपभोक्ता इलेक्ट्रोनिक्स खुद्रा व्यवसाय डिएमएक्सले एफ८८भन्दा राम्रो प्रदर्शन गरे पनि उसले पनि जुनमा भएको आईपीओमा सम्पूर्ण सेयर बिक्री गर्न सकेन। हालैका ठूला निष्कासनमध्ये एक रहेको उक्त कारोबारबाट कम्पनीले १३.३ ट्रिलियन डोङभन्दा बढी रकम जुटाएको थियो, जुन लक्ष्यभन्दा करिब ७ प्रतिशत कम हो।

टेमासेकसँग सम्बन्धित लगानीकर्ताको समर्थन रहेको रेस्टुरेन्ट चेन सञ्चालक गोल्डेन गेटले पनि जुलाई ३१ देखि सार्वजनिक कम्पनीको हैसियत गुमाएको छ। कम्पनीले धितोपत्र दर्ता र कारोबारसम्बन्धी प्रक्रिया पूरा गर्न नसकेपछि यस्तो अवस्था आएको हो। आईपीओ रणनीति परिमार्जन गरी कम्पनीको मूल्यांकनलाई अधिकतम बनाउन र दीर्घकालीन सेयरधनी मूल्य सिर्जना गर्न उपयुक्त समय छनोट गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, निर्माण सामग्री उत्पादक एमी ग्रुपले जुलाईदेखि ७८७ अर्ब डोङ जुटाउने लक्ष्यसहित आईपीओ प्रक्रिया अघि बढाए पनि आवेदन अवधि करिब चार साता थपेको छ। कम्पनीले आवेदन अवधि थप्नुको कारण सार्वजनिक गरेको छैन।

बजारमा तरलता दबाब

नयाँ सेयरप्रतिको कमजोर माग यस्तो समयमा आएको छ, जब भियतनामको सेयर बजारमा लगानीयोग्य रकमसमेत खुम्चिँदै गएको छ। भूराजनीतिक तनाव, मुद्रास्फीतिको दबाब, उच्च आन्तरिक ब्याजदर तथा विदेशी लगानीकर्ताको निरन्तर बहिर्गमनका कारण पछिल्ला महिनामा दैनिक औसत कारोबार रकम उल्लेख्य घटेको छ।

सन् २०२६ मा हालसम्म विदेशी लगानीकर्ताले भियतनामी सेयरमा करिब ३.५ अर्ब अमेरिकी डलर बराबरको खुद बिक्री गरिसकेका छन्। सन् २०२५ मा विदेशी लगानीकर्ताको खुद बिक्री करिब ५ अर्ब अमेरिकी डलर पुगेको थियो, जुन अहिलेसम्मकै उच्चमध्ये एक हो।

घरेलु खुद्रा लगानीकर्ताको उत्साहसमेत कमजोर बनेको छ। अनिश्चितता बढेसँगै धेरै लगानीकर्ताले सेयर बजारबाट रकम निकालेर बैंक निक्षेप तथा सुनजस्ता तुलनात्मक रूपमा कम जोखिमयुक्त विकल्पतर्फ रकम स्थानान्तरण गरिरहेका छन्।

यसको प्रभाव प्रमुख सेयर सूचकांक भीएन–इन्डेक्समा पनि देखिएको छ। पछिल्लो तीन महिनामा सूचकांक करिब ९ प्रतिशतले घटेको छ भने वर्षको सुरुदेखि हालसम्म ३ प्रतिशतभन्दा बढीले कमजोर भएको छ। यसको विपरीत सन् २०२५ मा सूचकांक ४० प्रतिशतभन्दा बढीले बढेको थियो।

बजारको कमजोर अवस्थाले सेप्टेम्बरमा हुने अपेक्षा गरिएको भियतनामको एफटीएसई रसेल उदीयमान बजार सूचकांकमा समावेशीकरणलाई समेत प्रभावकारी बजार उत्प्रेरक बन्ने विषयमा प्रश्न उठाएको छ।

आईपीओको आपूर्ति बढ्दै

बजारमा नयाँ सेयरको आपूर्ति भने अझै बढ्ने क्रममा छ। फिनग्रुपका अनुसार सन् २०२६ का लागि कम्पनीहरूले करिब २८९.५ ट्रिलियन डोङ बराबरको थप सेयर निष्कासन तथा आईपीओ प्रस्ताव वा स्वीकृत गरेका छन्। यो रकम सन् २०२५ मा जुटाइएको रकमभन्दा ८६.५ प्रतिशत बढी र पछिल्लो पाँच वर्षको औसतभन्दा ५३.७ प्रतिशत बढी हो। तर सन् २०२६ को पहिलो पाँच महिनासम्म प्रस्तावित निष्कासनमध्ये करिब ७० प्रतिशत अझै हुन बाँकी थियो।

आईपीओ योजनाको मात्रै कुल आकार करिब २२.४ ट्रिलियन डोङ रहेको छ, जुन सन् २०२५ को तुलनामा ४२ प्रतिशत कम हो। लामो समयदेखि सम्भावित आईपीओ उम्मेदवारका रूपमा हेरिएका गोल्डेन गेट, हाइल्यान्ड्स कफी र लङ चाउजस्ता कम्पनीसमेत अझै बजारमा आएका छैनन्।

फिनग्रुपले जुनमा गरेको विश्लेषणमा भियतनामको आईपीओ बजार अझै अत्यन्त छनोटमुखी रहेको र सन् २०१७ तथा २०१८ जस्तो नयाँ उछालको चक्रमा प्रवेश नगरेको निष्कर्ष निकालेको थियो।

यसबीच सरकारी स्वामित्वका कम्पनी तथा राज्यको हिस्सेदारी बिक्री पनि नयाँ आपूर्तिको सम्भावित स्रोतका रूपमा देखिएको छ। पुनर्संरचना तथा राज्यको स्वामित्व घटाउने प्रयास तीव्र बनेमा ठूला कम्पनी र सरकारी हिस्सेदारी बजारमा आउन सक्नेछन्। तर यी बिक्री एकैपटक भएमा घरेलु बजारको सामान्य माग क्षमताभन्दा आपूर्ति बढी भएर बजारमा थप दबाब पर्न सक्ने विश्लेषकहरूको चेतावनी छ।

सूचीकरण अझै सहज छैन

कमजोर बजार मात्रै भियतनामी कम्पनीका लागि आईपीओको बाधक होइन। लगानीकर्ताको माग भए पनि धेरै कम्पनीले सूचीकरणका लागि आवश्यक संरचनात्मक मापदण्ड पूरा गर्न कठिनाइ भोगिरहेका छन्।

मेकोंग क्यापिटलका फ्रेन्डले सकारात्मक सञ्चित नाफासम्बन्धी नियमलाई भेन्चर क्यापिटलबाट लगानी प्राप्त गरेका कम्पनीका लागि सबैभन्दा ठूलो समस्यामध्ये एक मानेका छन्। लामो समयसम्म घाटा व्यहोरेर पछि नाफामा पुगेका कम्पनीसँग सञ्चित घाटा रहने भएकाले उनीहरूका लागि सार्वजनिक बजारमा प्रवेश गर्न कठिन हुने उनको भनाइ छ।

यस्तो व्यवस्था सुधार गर्न सके सफल लगानीबाट भेन्चर क्यापिटल तथा निजी इक्विटी कोषलाई सार्वजनिक बजारमार्फत बाहिरिने बाटो खुल्ने र त्यसले अन्तर्राष्ट्रिय पुँजीलाई भियतनामी कम्पनीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भियतनाममा तुलनात्मक रूपमा साना कम्पनीले समेत सेयर बजारमा सूचीकरण गर्न सक्ने र बजारमा पर्याप्त तरलता हुने भएकाले आईपीओ अझै लगानीबाट बाहिरिने प्रभावकारी माध्यम रहेको फ्रेन्डको धारणा छ। तर थप कम्पनीलाई सूचीकरणका लागि सहज वातावरण आवश्यक रहेको उनले बताएका छन्।

विदेशमा सूचीकरणको विकल्प पनि चुनौतीपूर्ण

घरेलु बजारमा सूचीकरण गर्न नसक्ने वा नचाहने कम्पनीका लागि विदेशमा आईपीओ ल्याउने विकल्प रहे पनि त्यसमा छुट्टै चुनौती छन्।

राफल्स क्यापिटलका संस्थापक डा. चार्ली इनका अनुसार अमेरिकी जस्ता विश्वव्यापी पुँजी बजारमा प्रवेश गर्न खोज्ने दक्षिण–पूर्वी एसियाली कम्पनीहरूले प्रायः सिंगापुरमा अफसोर होल्डिङ संरचना स्थापना गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि सिंगापुरको कानुनी, कर तथा लेखापरीक्षण प्रणाली तुलनात्मक रूपमा परिचित भएकाले यस्तो संरचना प्रयोग हुने गरेको उनको भनाइ छ।

भियतनामको भिनग्रुपका कानुनी मामिला प्रमुख हो न्गोक लामले पनि भिनफास्टलाई भियतनाम र सिंगापुरमा दोहोरो सूचीकरण गर्ने प्रारम्भिक प्रयासमा स्थानीय नियमको अस्पष्टता बाधक बनेको बताएका थिए। विशेषगरी सेयरको अभिरक्षा, अन्तर्राष्ट्रिय लगानीकर्ताले रकम स्थानान्तरण गर्ने व्यवस्था तथा विदेशमा लगानीका लागि आवश्यक सरकारी स्वीकृति चुनौतीका रूपमा देखिएका थिए।

यही कारण भिनग्रुपले भिनफास्टलाई सिंगापुरमा आधारित संस्थामार्फत पुनर्संरचना गरी अन्ततः नास्डाकमा सूचीकरण गरेको थियो।

लामले भियतनाम अन्तर्राष्ट्रिय वित्तीय केन्द्रले आगामी दिनमा थप खुला वातावरण सिर्जना गर्ने र भियतनामी कम्पनीलाई विदेशमा विस्तार गर्न आवश्यक वित्तीय क्षमता बढाउन सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।

यसरी भियतनाममा आईपीओको सम्भावित आपूर्ति बलियो भए पनि कमजोर लगानीकर्ता माग, विदेशी पुँजीको बहिर्गमन, उच्च ब्याजदर, बजारको अस्थिरता र सूचीकरणसम्बन्धी संरचनात्मक अवरोधले नयाँ आईपीओ चक्रलाई अपेक्षाभन्दा कठिन बनाउने संकेत देखिएको छ। नयाँ निष्कासनको संख्या बढ्दै जाँदा त्यसलाई धान्ने लगानीकर्ता माग र बजारको अवशोषण क्षमता आगामी आईपीओ पुनरुत्थानको मुख्य परीक्षा बन्ने देखिन्छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया