विकास बैंकको नाफामा उछाल, राष्ट्रियस्तरका बैंक अगाडि; क्षेत्रीय बैंकमा बढ्दो दबाब, दुईको लाभांश घोषणा
- BFIS News
- 2026 Aug 18 11:09
काठमाडौं। राष्ट्रियस्तरका विकास बैंकहरूको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ५६.९८ प्रतिशतले खुद नाफा बढाउन सफल भएका छन्। १६ विकास बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा क्षेत्रको कुल खुद नाफा ५६.९८ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड ९ लाख रुपैयाँ आर्जन गरेका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूको कुल खुद नाफा ६ अर्ब १४ करोड रुपैयाँ थियो। आजसम्ममा कामना सेवा र साग्रिला डेभलपमेन्ट बैंकले लाभांश नै घोषणा गरिसकेका छन्।
कुल नाफामा भएको वृद्धिसँगै प्रतिविकास बैंक औसत खुद नाफा पनि ४० करोड १ लाख रुपैयाँबाट बढेर ५८ करोड ८८ लाख रुपैयाँ पुगेको छ। यद्यपि, समग्र क्षेत्रको नाफा वृद्धिभित्र बैंकहरूबीच ठूलो असमानता देखिएको छ। विशेषगरी राष्ट्रियस्तरका विकास बैंकहरूले अधिकांश नाफा ओगट्दा क्षेत्रीयस्तरका केही बैंक भने न्यून नाफा, घाटा तथा नकारात्मक वितरणयोग्य नाफाको दबाबमा देखिएका छन्।
राष्ट्रियस्तरका बैंक नाफाका मुख्य चालक
राष्ट्रियस्तरमा सञ्चालनमा रहेका विकास बैंकहरू समग्र क्षेत्रको नाफा वृद्धिका प्रमुख आधार बनेका छन्। गरिमा विकास बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाउँदै सबैभन्दा अगाडि रहेको छ। त्यसपछि मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब १८ करोड र ज्योति विकास बैंकले १ अर्ब रुपैयाँ खुद नाफा गरेका छन्।
त्यस्तै, कामना सेवा विकास बैंकले ८९ करोड ४१ लाख ७० हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले ८८ करोड ९९ लाख ३० हजार रुपैयाँ, लुम्बिनी विकास बैंकले ८५ करोड १० लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकले ६२ करोड ९९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका छन्।
नाफा वृद्धिको दर हेर्दा ज्योति विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकको खुद नाफा अघिल्लो वर्षको १ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब रुपैयाँ पुगेको छ। यो ७,९८४.०७ प्रतिशतको वृद्धि हो। लुम्बिनी विकास बैंकको नाफा १२४.०२ प्रतिशत, शाइन रेसुङ्गाको ७१.३६ प्रतिशत, सांग्रिलाको ६५.६९ प्रतिशत र कामना सेवाको ४०.७५ प्रतिशतले बढेको छ।
गरिमा विकास बैंकको नाफा २८.२१ प्रतिशतले बढेको छ भने महालक्ष्मी विकास बैंकको २४.३४ प्रतिशत वृद्धि भएको छ। अर्कोतर्फ, मुक्तिनाथ विकास बैंकको नाफा १.७८ प्रतिशतले घटेको छ। यद्यपि, उच्च आधारमा कायम रहेको नाफाका कारण मुक्तिनाथको समग्र वित्तीय स्थिति अझै बलियो देखिन्छ।
क्षेत्रीयस्तरका बैंकमा मिश्रित अवस्था
राष्ट्रियस्तरका बैंकको तुलनामा क्षेत्रीयस्तरका विकास बैंकहरूको वित्तीय अवस्था कमजोर र अस्थिर देखिएको छ। क्षेत्रीय बैंकमध्ये एक्सेल डेभलपमेन्ट बैंकले सबैभन्दा बढी ३० करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा अघिल्लो वर्षको ४ करोड ९ लाख रुपैयाँबाट ६५६.४८ प्रतिशतले बढेको हो।
मितेरी डेभलपमेन्ट बैंकले १४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकले १५ करोड ४ लाख ७० हजार रुपैयाँ खुद नाफा देखाएको छ। तर, सप्तकोशीको अघिल्लो वर्षको १ करोड ६४ लाख रुपैयाँ घाटाको तुलनामा चालू वर्षको नाफा सुधार भए पनि वृद्धि प्रतिशत अत्यधिक उतारचढावपूर्ण देखिएको छ।
ग्रीन डेभलपमेन्ट बैंकले ७ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकले ५ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ। नारायणी डेभलपमेन्ट बैंकले ५ करोड ३७ लाख ९० हजार रुपैयाँ नाफा देखाएको छ, जबकि अघिल्लो वर्ष बैंक घाटामा थियो।
यता, सालपा विकास बैंकको नाफा ७६ लाख रुपैयाँमा सीमित छ। सिन्धु विकास बैंकको खुद नाफा भने अघिल्लो वर्षको ११ करोड ७९ लाख रुपैयाँबाट घटेर १० लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको नाफामा ९९.१५ प्रतिशतको गिरावट देखाउँछ।
वितरणयोग्य नाफामा पनि राष्ट्रियस्तरका बैंक अगाडि
शेयरधनीलाई प्रत्यक्ष लाभांश वितरण गर्ने क्षमता देखाउने वितरणयोग्य नाफामा पनि राष्ट्रियस्तरका बैंकहरू अगाडि छन्। गरिमा विकास बैंकले १ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य नाफा कायम गर्दै सबैभन्दा अगाडि रहेको छ। बैंकको वितरणयोग्य नाफा प्रतिशेयर २० रुपैयाँ २३ पैसा रहेको छ।
शाइन रेसुङ्गाको वितरणयोग्य नाफा ८४ करोड रुपैयाँ र वितरणयोग्य नाफा प्रतिशेयर १६ रुपैयाँ ८६ पैसा रहेको छ। लुम्बिनी विकास बैंकले ६१ करोड रुपैयाँ वितरणयोग्य नाफा र प्रतिशेयर १६ रुपैयाँ ९९ पैसा कायम गरेको छ। कामना सेवा विकास बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ तथा प्रतिशेयर १५ रुपैयाँ ५७ पैसा रहेको छ।
मुक्तिनाथ विकास बैंकको वितरणयोग्य नाफा ६७ करोड रुपैयाँ र प्रतिशेयर ८ रुपैयाँ ४५ पैसा छ। सांग्रिला विकास बैंकको ४९ करोड रुपैयाँ तथा प्रतिशेयर १३ रुपैयाँ १९ पैसा र महालक्ष्मी विकास बैंकको ४६ करोड रुपैयाँ तथा प्रतिशेयर १० रुपैयाँ ३१ पैसा रहेको छ।यसले कुल नाफा र शेयरधनीलाई उपलब्ध हुने नाफाबीच बैंकअनुसार फरक अवस्था रहेको देखाउँछ।
ज्योति विकास बैंकको नाफा बढे पनि प्रतिफलमा कमजोर
ज्योति विकास बैंकको वित्तीय विवरण तुलनात्मक रूपमा फरक देखिएको छ। बैंकले खुद नाफामा असाधारण वृद्धि गर्दै १ अर्ब रुपैयाँ पुर्याए पनि वितरणयोग्य नाफा १४ करोड रुपैयाँ र वितरणयोग्य नाफा प्रतिशेयर ३ रुपैयाँ २८ पैसा मात्र रहेको छ।
यसले खुद नाफामा भएको ठूलो वृद्धिको सबै हिस्सा तत्काल शेयरधनीलाई वितरण गर्न सकिने अवस्थामा नरहेको संकेत गर्छ। ठूलो संख्यामा शेयर, सञ्चित कोषमा रकम राख्ने अवस्था वा अन्य नियामकीय समायोजनका कारण खुद नाफा र वितरणयोग्य नाफाबीच यस्तो अन्तर देखिन सक्छ। त्यसैले ज्योति विकास बैंकको नाफा वृद्धिको दीगोपन र त्यसको संरचनालाई थप विश्लेषण गर्नुपर्ने देखिन्छ।
केही क्षेत्रीय बैंकमा नकारात्मक वितरणयोग्य नाफा
वितरणयोग्य नाफाको आधारमा क्षेत्रीयस्तरका केही विकास बैंकको अवस्था थप चुनौतीपूर्ण देखिएको छ। सालपा विकास बैंकको वितरणयोग्य नाफा माइनस १ करोड रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको माइनस ३ करोड रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको माइनस ५ करोड रुपैयाँ रहेको छ।
सिन्धु विकास बैंकको वितरणयोग्य नाफा माइनस २३ करोड रुपैयाँ र वितरणयोग्य नाफा प्रतिशेयर माइनस ४२ रुपैयाँ ४६ पैसा रहेको छ। सबैभन्दा कमजोर अवस्थामा सप्तकोशी विकास बैंक देखिएको छ। बैंकको वितरणयोग्य नाफा माइनस ५५ करोड रुपैयाँ तथा वितरणयोग्य नाफा प्रतिशेयर माइनस ६६ रुपैयाँ ९८ पैसा रहेको छ।
नकारात्मक वितरणयोग्य नाफाले विगतको सञ्चित घाटा तथा चालू अवधिको वित्तीय दबाबका कारण शेयरधनीलाई प्रतिफल वितरण गर्ने क्षमता कमजोर रहेको देखाउँछ।
नाफा वृद्धिभित्र देखिएको दुई तहको विकास बैंकिङ क्षेत्र
समग्र तथ्यांकले विकास बैंकिङ क्षेत्रमा स्पष्ट रूपमा दुई फरक प्रवृत्ति देखाएको छ। एकातर्फ राष्ट्रियस्तरका बैंकहरूले उच्च नाफा, बलियो वितरणयोग्य नाफा र तुलनात्मक रूपमा आकर्षक प्रतिशेयर वितरणयोग्य नाफा कायम गरेका छन्। अर्कोतर्फ केही क्षेत्रीयस्तरका बैंक न्यून नाफा, तीव्र नाफा गिरावट तथा नकारात्मक वितरणयोग्य नाफाको दबाबमा छन्।
गरिमा, शाइन रेसुङ्गा, लुम्बिनी र कामना सेवा जस्ता बैंकले नाफा र शेयरधनी प्रतिफल दुवैमा बलियो प्रदर्शन गरेका छन्। त्यसको विपरीत सिन्धु र सप्तकोशी विकास बैंकको नकारात्मक वितरणयोग्य नाफाले वित्तीय स्थायित्वका विषयमा थप चासो बढाएको छ।
यस अवस्थामा समग्र विकास बैंकिङ क्षेत्रको ५६.९८ प्रतिशत नाफा वृद्धि सकारात्मक देखिए पनि उक्त वृद्धि सबै बैंकमा समान रूपमा वितरण भएको छैन। त्यसैले क्षेत्रको वास्तविक स्वास्थ्य मूल्यांकन गर्दा कुल नाफासँगै बैंकगत नाफा, वितरणयोग्य नाफा, प्रतिशेयर वितरणयोग्य नाफा, सम्पत्तिको गुणस्तर र पूँजी पर्याप्तताजस्ता सूचकलाई समेत सँगसँगै हेर्नुपर्ने देखिन्छ।
विशेषगरी कमजोर प्रदर्शन गरिरहेका क्षेत्रीय बैंकका लागि खराब कर्जा व्यवस्थापन, सञ्चालन खर्च नियन्त्रण, पूँजी सुदृढीकरण तथा व्यवसायिक रणनीतिमा सुधार महत्वपूर्ण हुने देखिन्छ। त्यस्तै, नियामक निकायले कमजोर वित्तीय सूचक भएका बैंकको अवस्था नजिकबाट अनुगमन गर्दै आवश्यक सुधार, पुनर्संरचना वा समेकनका विकल्पमा ध्यान दिनुपर्ने अवस्था देखिएको छ।
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा विकास बैंकिङ क्षेत्रले नाफामा उल्लेख्य सुधार गरे पनि त्यसको लाभ मुख्यतः राष्ट्रियस्तरका बैंकमा केन्द्रित भएको छ। यसले विकास बैंकिङ क्षेत्रमा आकार, व्यवसायिक पहुँच र वित्तीय क्षमताका आधारमा बैंकहरूबीचको दूरी अझ स्पष्ट बनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया