धितोपत्र बजार आधुनिकीकरणका लागि मार्जिन कारोबार, इन्ट्राडे ट्रेडिङ र सेक्युरिटिज लेन्डिङको तयारी
- BFIS News
- 2026 Aug 19 13:21
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुकूल आधुनिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले मार्जिन कारोबार, इन्ट्राडे ट्रेडिङ, धितोपत्र कर्जा तथा सापटी र कभरर्ड सर्ट सेलिङलगायतका व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी अघि बढाएको छ।
नेपालको पुँजी बजारमा संस्थागत विकास, विद्युतीय कारोबार प्रणाली तथा लगानीकर्ताको सहभागितामा उल्लेख्य विस्तार भए पनि बजारको गुणात्मक विकासलाई थप गति दिनुपर्ने आवश्यकता रहेको सेबोनले जनाएको छ। सोहीअनुसार बजारलाई आधुनिक, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने योजनाअन्तर्गत विभिन्न नयाँ कारोबार प्रणाली कार्यान्वयनको तयारी गरिएको हो।
यस प्रक्रियाको पहिलो चरणमा सेबोनले मार्जिन कर्जा कारोबार (मार्जिन लेन्डिङ) सम्बन्धी विनियमावलीको मस्यौदा तयार गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार योग्य लगानीकर्ताले आफ्नो स्वपुँजीसँगै धितोपत्र दलाल व्यवसायीबाट प्राप्त कर्जासमेत प्रयोग गरी सेयर तथा अन्य योग्य धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्था हुनेछ।
दोस्रो बजार सुधारसम्बन्धी कार्ययोजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिले मस्यौदा विनियमावलीमाथि छलफल गरी आवश्यक परिमार्जनसमेत गरेको छ। समितिमा सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरू सहभागी छन्।
सेबोनले अहिले उक्त मस्यौदा विनियमावलीलाई सार्वजनिक परामर्शका लागि उपलब्ध गराएको छ। सरोकारवाला पक्षबाट प्राप्त सुझाव तथा प्रतिक्रियाको अध्ययन गरी आवश्यक सुधारसहित अन्तिम विनियमावली तयार गरिने बोर्डले जनाएको छ।
बोर्डले इच्छुक सरोकारवालालाई मस्यौदासम्बन्धी सुझाव तथा प्रतिक्रिया [email protected] मा इमेलमार्फत पठाउन आग्रह गरेको छ।
सार्वजनिक परामर्शका लागि जारी गरिएको दस्तावेजमा प्रस्तावित विनियमावलीका प्रमुख विशेषता तथा सरोकारवालाबाट सुझाव माग गरिएका विषयसमेत समावेश गरिएको छ। मार्जिन कारोबारको व्यवस्था कार्यान्वयनसँगै दोस्रो बजारमा लगानीकर्ताको कारोबार क्षमता विस्तार हुनुका साथै बजारमा तरलता र कारोबारको दायरा बढ्ने अपेक्षा गरिएको छ।
मार्जिन कारोबारसँगै इन्ट्राडे ट्रेडिङ, धितोपत्र कर्जा तथा सापटी र कभरर्ड सर्ट सेलिङजस्ता उपकरण कार्यान्वयनमा आएमा नेपालको दोस्रो बजार अन्तर्राष्ट्रिय अभ्याससँग थप नजिक पुग्ने सेबोनको योजना छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया