NIMB Header 2
Nepal Life

भोटेकोशी बाढीपछि बैंकिङ क्षेत्रमा परेको असरप्रति सिबिफिनको चासो, पुनर्संरचनादेखि पुनरुत्थानसम्म सहजीकरण गर्ने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 27 17:44
भोटेकोशी बाढीपछि बैंकिङ क्षेत्रमा परेको असरप्रति सिबिफिनको चासो, पुनर्संरचनादेखि पुनरुत्थानसम्म सहजीकरण गर्ने
United Ajod

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको बैंकिङ सेवा तथा आर्थिक गतिविधि पुनः सञ्चालनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

Nepal Life
NIMB

सिबिफिनले बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गर्दै विपद्को समयमा उद्धार तथा राहत कार्यमा खटिएका निकाय र व्यक्तिप्रति सम्मान व्यक्त गरेको छ।

बाढीका कारण बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधारसँगै मानवीय बस्ती, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पुगेको सिबिफिनले जनाएको छ।

प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत विभिन्न व्यावसायिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको उल्लेख्य कर्जा तथा लगानी रहेकाले बाढीको प्रभाव ऋणी, व्यवसाय, बैंकिङ सेवा र समग्र आर्थिक गतिविधिमा पर्न सक्ने सिबिफिनको आकलन छ।

वैकल्पिक बैंकिङ सेवामा जोड

विपद्को अवस्थामा मानवीय उद्धार तथा राहतसँगै कर्मचारी र ग्राहकको सुरक्षा पहिलो प्राथमिकता रहेको सिबिफिनले जनाएको छ। प्रभावित क्षेत्रमा ग्राहकको बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन बैंक तथा वित्तीय संस्थाले वैकल्पिक सेवा प्रवाहसहित आवश्यक व्यवस्था गरिरहेको सिबिफिनको भनाइ छ।

त्यस्तै, वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्याङ्कन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण तथा व्यवसाय पुनःसञ्चालन र पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउन सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने सिबिफिनले जनाएको छ।

यसका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी आवश्यक नीतिगत तथा कार्यगत उपाय अवलम्बन गर्नसमेत पहल गर्ने सिबिफिनको प्रतिबद्धता छ।

आर्थिक पुनरुत्थानमा बैंकिङ क्षेत्र एकजुट हुने

राष्ट्रिय विपत्तिको सामना सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै सिबिफिनले उद्धार, राहत, पुनर्स्थापना तथा आर्थिक पुनरुत्थानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायसँग सहकार्य गर्न बैंक तथा वित्तीय क्षेत्र तयार रहेको जनाएको छ।

प्रभावित परिवार, व्यवसाय र समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन संघीय, प्रदेश तथा स्थानीय सरकारले अघि बढाएका प्रयासमा हातेमालो गर्दै एकताबद्ध रूपमा परिचालित हुन सिबिफिनले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई आग्रहसमेत गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया