बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ८ लाख ६३ हजार कित्ता
- BFIS News
- 2026 Sep 07 11:13
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२, २०८३) देखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख ६३ हजार २०० कित्ता साधारण शेयर निष्कासन गरेको हो।
कम्पनीको आईपीओमा प्रारम्भिक रूपमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि असोज ५ गतेसम्म थप गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ। यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
त्यस्तै, जारी पुँजीको बाँकी १० प्रतिशत अर्थात् १० लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने व्यवस्था गरिएको हो। सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि यसअघि नै छुट्याइएको छ।
सर्वसाधारणका लागि निष्कासन हुने शेयरमध्ये कम्पनीका कर्मचारीका लागि २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता शेयर सुरक्षित गरिएको छ। यी सबै कोटा छुट्याएपछि बाँकी रहेको ८ लाख ६३ हजार २०० कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
यसैबीच, इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको इश्युअर रेटिङ सुधार गरेको छ। इक्रा नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको [ICRANP-IR] BB रेटिङलाई बढाएर [ICRANP-IR] BB+ कायम गरेको हो। यो रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
बेनी हाइड्रोपावर सन् २०१६ मा स्थापना भएको जलविद्युत् विकास कम्पनी हो। कम्पनीले सोलुखुम्बु जिल्लाको बेनी (सल्लेरी) क्षेत्रमा १८ मेगावाट क्षमताको अपर सोलु खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रन–अफ–द रिभर प्रकृतिको उक्त आयोजना हाल निर्माणाधीन अवस्थामा रहेको छ।
आईपीओमार्फत संकलन हुने पुँजीले कम्पनीको वित्तीय संरचना तथा आयोजना निर्माणसँग सम्बन्धित आवश्यकतामा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। सर्वसाधारणतर्फको निष्कासनसँगै कम्पनीको शेयर स्वामित्व संरचनामा सर्वसाधारण लगानीकर्ताको सहभागिता थप विस्तार हुने भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया