NIMB Header 2
Nepal Life

पहिलो महिनामै नेपालको वैदेशिक व्यापार २ खर्ब २६ अर्ब, निर्यातमा उत्साहजनक सुधार

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 06 13:47
पहिलो महिनामै नेपालको वैदेशिक व्यापार २ खर्ब २६ अर्ब, निर्यातमा उत्साहजनक सुधार
United Ajod

काठमाडौं । उच्च तरलता र सुस्त आर्थिक गतिविधिबीच चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको वैदेशिक व्यापारले सकारात्मक संकेत देखाएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिनासम्म कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

Nepal Life
NIMB

विगत १० वर्षका आर्थिक वर्षहरूको पहिलो महिनाको तथ्यांकलाई तुलना गर्दा नेपालको वैदेशिक व्यापारको आकार उल्लेख्य रूपमा विस्तार भएको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनामा ७७ अर्ब १२ करोड रुपैयाँ रहेको कुल वैदेशिक व्यापार २०८३/८४ मा २ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ पुगेको हो।

यद्यपि, व्यापार विस्तारको मुख्य आधार अझै पनि आयात नै रहेको छ। अर्कोतर्फ, पछिल्ला वर्षमा निर्यातको वृद्धि र कुल व्यापारमा निर्यातको हिस्सा बढ्दै जानुले नेपालको बाह्य व्यापार संरचनामा केही सुधारको संकेत गरेको छ।

१० वर्षमा आयात ७० अर्बबाट १ खर्ब ८७ अर्ब

नेपालको आयातमुखी अर्थतन्त्रका कारण वैदेशिक व्यापारमा आयातको हिस्सा निरन्तर उच्च रहँदै आएको छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनामा ७० अर्ब १७ करोड रुपैयाँको वस्तु आयात भएकोमा २०८३/८४ को सोही अवधिमा आयात १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा आयात औसत १३.६६ प्रतिशतका दरले बढेको देखिन्छ। बीचका वर्षमा उतारचढाव देखिए पनि समग्र प्रवृत्ति भने बढ्दो रहेको छ।

आयातमा सबैभन्दा ठूलो वृद्धि आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा देखिएको थियो। उक्त वर्ष आयात ७५.६६ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो। अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा यस्तो आयात ८५ अर्ब ८० करोड रुपैयाँ थियो।

त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ को पहिलो महिनामा आयात ५७.१८ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो। त्यसपछि आर्थिक वर्ष २०७६/७७ मा आयात ११.५१ प्रतिशतले घटेर १ खर्ब ६ अर्ब ७२ करोड तथा २०७७/७८ मा थप १९.६० प्रतिशतले घटेर ८५ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको थियो।

निर्यात ६ अर्बबाट बढेर ३८ अर्ब ७० करोड

आयातको तुलनामा आकार सानो भए पनि निर्याततर्फको दीर्घकालीन वृद्धि भने उल्लेखनीय देखिएको छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनामा ६ अर्ब ९५ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा १० वर्षपछि अर्थात् २०८३/८४ को पहिलो महिनामा निर्यात ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा निर्यातको औसत वार्षिक वृद्धि दर २४.५४ प्रतिशत रहेको छ, जुन आयातको औसत वृद्धिदरभन्दा उच्च हो।

तर, समीक्षा अवधिमा निर्यात चार पटक घटेको देखिन्छ। सबैभन्दा ठूलो गिरावट आर्थिक वर्ष २०७९/८० मा आएको थियो। उक्त वर्षको पहिलो महिनामा निर्यात २८.६८ प्रतिशतले घटेर १४ अर्ब ८० करोड रुपैयाँमा झरेको थियो। अघिल्लो वर्षको सोही अवधिमा निर्यात २० अर्ब ७६ करोड रुपैयाँ थियो। अन्य तीन वर्षमा भने निर्यातको गिरावट १० प्रतिशतभन्दा कम रहेको थियो।

व्यापार घाटा अझै चुनौतीपूर्ण

निर्यातमा सुधार आए पनि नेपालको व्यापार घाटा भने समीक्षा अवधिभर कायम रहेको छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनामा ६३ अर्ब २१ करोड रुपैयाँ रहेको व्यापार घाटा २०८३/८४ मा बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

यो समीक्षा अवधिकै सबैभन्दा उच्च व्यापार घाटा हो। यसले निर्यातको वृद्धिदरमा सुधार भए पनि आयातको ठूलो आकारका कारण व्यापार असन्तुलन अझै गहिरो रहेको देखाउँछ।

व्यापार घाटाको वृद्धिदर समीक्षा अवधिमा चार वर्ष नकारात्मक रहेको थियो। सबैभन्दा ठूलो नकारात्मक वृद्धि आर्थिक वर्ष २०७७/७८ मा २२.१७ प्रतिशत रहेको थियो। समग्रमा भने समीक्षा अवधिमा व्यापार घाटा औसत १२.४३ प्रतिशतले बढेको देखिन्छ।

कुल वैदेशिक व्यापार २ खर्ब २६ अर्ब

नेपालको कुल वैदेशिक व्यापार आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनाको ७७ अर्ब १२ करोड रुपैयाँबाट बढेर २०८३/८४ मा २ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ।

बीचका केही वर्षमा गिरावट आए पनि दीर्घकालमा नेपालको अन्तर्राष्ट्रिय बजारसँगको आर्थिक आबद्धता बढ्दै गएको तथ्यांकले देखाउँछ। समीक्षा अवधिमा कुल वैदेशिक व्यापार औसत १४.६३ प्रतिशतले बढेको छ।

तर, आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ को प्रभावका कारण कुल व्यापार १७.४२ प्रतिशतले घटेको थियो। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा १ खर्ब १५ अर्ब ५६ करोड रुपैयाँ रहेको कुल व्यापार २०७७/७८ मा घटेर ९५ अर्ब ४२ करोड रुपैयाँमा झरेको थियो।

आयात–निर्यात अनुपातमा सुधार

नेपालको व्यापार संरचनामा देखिएको अर्को सकारात्मक पक्ष आयात र निर्यातबीचको अनुपातमा आएको सुधार हो। आर्थिक वर्ष २०७३/७४ मा आयात–निर्यात अनुपात १०.१ गुणा रहेकोमा २०७५/७६ मा यो १७.४ गुणासम्म पुगेको थियो। त्यसपछि भने निर्यातको तुलनात्मक वृद्धि बढ्दै जाँदा अनुपात क्रमशः घटेको छ। आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा यस्तो अनुपात ४.८४ गुणामा झरेको छ।

१० वर्षको औसत आयात–निर्यात अनुपात १०.२० गुणा रहेको छ। पछिल्ला दुई वर्षमा भने यो अनुपात करिब पाँच गुणाको आसपास रहेको छ। यसले आयातको तुलनामा निर्यातको विस्तारले व्यापार संरचनामा केही सकारात्मक प्रभाव पारेको संकेत गर्छ।

कुल व्यापारमा निर्यातको हिस्सा बढ्यो

कुल वैदेशिक व्यापारमा निर्यातको योगदान पनि पछिल्ला वर्षमा बढेको छ। आर्थिक वर्ष २०७३/७४ को पहिलो महिनामा कुल व्यापारमा निर्यातको हिस्सा ९ प्रतिशत थियो। आर्थिक वर्ष २०७५/७६ मा यो घटेर ५.४ प्रतिशतमा पुगे पनि त्यसपछि क्रमशः सुधार भएको छ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १७.११ प्रतिशत पुगेको छ। अर्थात्, एक दशकको अवधिमा कुल व्यापारमा निर्यातको योगदान उल्लेख्य रूपमा बढेको छ।

यसको विपरीत, कुल व्यापारमा आयातको हिस्सा घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा ९४.६ प्रतिशतसम्म पुगेको आयातको हिस्सा २०८३/८४ मा ८२.८९ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा कुल व्यापारमा आयातको औसत हिस्सा ९०.५० प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा यस्तो हिस्सा ८५.६७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा थप घटेर ८२.८९ प्रतिशत पुगेको हो।

कोभिडले व्यापारमा पारेको प्रभाव

नेपालको वैदेशिक व्यापारमा कोभिड–१९ महामारीको प्रभाव पनि स्पष्ट रूपमा देखिन्छ। सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन लागू गरेपछि आर्थिक गतिविधिसँगै अन्तर्राष्ट्रिय व्यापारसमेत प्रभावित भएको थियो। संक्रमणको अवस्था र नियन्त्रणका उपायअनुसार लकडाउनको कडाइमा परिवर्तन हुँदै आएको थियो।

विशेषगरी आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा आयात तथा कुल वैदेशिक व्यापारमा गिरावट आएको तथ्यांकले देखाउँछ। यद्यपि, महामारीपछिको अवधिमा व्यापार गतिविधि पुनः विस्तार हुँदै गएको छ।

नीति परिवर्तन र बाह्य झट्काको जोखिम

नेपालको वैदेशिक व्यापारमा सरकारी तथा मौद्रिक नीतिको प्रभावसमेत महत्वपूर्ण हुन्छ। विदेशी मुद्रा सञ्चितिमा दबाब परेको अवस्थामा केन्द्रीय बैंक वा सरकारले वस्तु तथा सेवाको आयातमा प्रतिबन्ध वा कडाइ गर्ने नीति लिन सक्छ। यस्ता नीतिले आयातको प्रवाहसँगै समग्र व्यापार गतिविधिमा समेत असर पार्न सक्छ।

त्यस्तै, नेपालका प्रमुख व्यापार साझेदार मुलुकका नीति परिवर्तनले पनि नेपालको वैदेशिक व्यापार प्रभावित हुन सक्छ। विशेषगरी भारतलगायत प्रमुख व्यापार साझेदार मुलुकका व्यापार नीति, भन्सार व्यवस्था तथा आपूर्ति प्रणालीमा हुने परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्छ।

भूराजनीतिक तनाव अर्को जोखिम

आयातमा उच्च निर्भर रहेको नेपाल अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घटनाक्रमबाट पनि संवेदनशील छ। विभिन्न भूराजनीतिक तनाव तथा क्षेत्रीय द्वन्द्वले आपूर्ति शृंखला अवरुद्ध पार्न सक्छ। यसबाट ढुवानी लागत बढ्नुका साथै आयातित वस्तुको उपलब्धता र मूल्यमा समेत असर पर्न सक्छ।

त्यसैले नेपालको बाह्य व्यापार विस्तारलाई केवल व्यापार परिमाणको वृद्धिका रूपमा मात्र हेर्नुभन्दा त्यसको संरचना, स्रोत, बजार र घरेलु उत्पादन क्षमतासँग जोडेर हेर्न आवश्यक देखिन्छ।

निर्यात वृद्धि सकारात्मक, तर व्यापार सन्तुलन अझै चुनौती

आर्थिक वर्ष २०७३/७४ देखि २०८३/८४ सम्मका पहिलो महिनाका तथ्यांकले नेपालको वैदेशिक व्यापारको आकार उल्लेख्य रूपमा बढेको देखाउँछन्। कुल व्यापार ७७ अर्ब १२ करोडबाट २ खर्ब २६ अर्ब १५ करोड रुपैयाँ पुग्नुले अन्तर्राष्ट्रिय बजारसँग नेपालको आर्थिक सम्बन्ध विस्तार भएको पुष्टि गर्छ।

यद्यपि, यो विस्तार मुख्यतः आयातमा आधारित छ। त्यसैले बढ्दो आयात, निरन्तर व्यापार घाटा र विदेशी वस्तुमाथिको निर्भरता अझै प्रमुख चुनौतीका रूपमा कायम छन्।

अर्कोतर्फ, १० वर्षमा निर्यात ६ अर्ब ९५ करोडबाट ३८ अर्ब ७० करोड रुपैयाँ पुग्नु, कुल व्यापारमा निर्यातको हिस्सा ९ प्रतिशतबाट १७.११ प्रतिशतमा उक्लिनु तथा आयात–निर्यात अनुपात १०.१० गुणाबाट ४.८४ गुणामा झर्नु सकारात्मक संकेत हुन्।

अबको चुनौती यही सकारात्मक प्रवृत्तिलाई दिगो बनाउनु हो। निर्यातको निरन्तर वृद्धि, वस्तु तथा बजार विविधीकरण, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार र स्वदेशी उत्पादन क्षमता अभिवृद्धि गर्न सके नेपालको वैदेशिक व्यापारलाई क्रमशः बढी सन्तुलित बनाउन सकिने देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया