कुमारी बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा, तीन वर्ष पछि २.०१५६ प्रतिशत नगद लाभांश दिदै
- BFIS News
- 2026 Sep 23 11:33
काठमाडौं । कुमारी बैंक लिमिटेडले तीन वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव सहित २६औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले असोज २८ गते बुधबार काठमाडौंको सुवर्ण सम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभाले बैंकको हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य नियमित प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिनेछ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। त्यसअनुसार असोज १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकको सञ्चालक समितिले यसअघि भदौ ३० गते बसेको बैठकबाट आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो। नियामकीय प्रक्रिया तथा समायोजनपछि साधारण सभाका लागि प्रस्तुत प्रस्तावित नगद लाभांश २.०१५६ प्रतिशत कायम भएको हो।
कुमारी बैंकले मर्जरपछिको वित्तीय अवस्थाका कारण पछिल्ला तीन वर्ष शेयरधनीलाई लाभांश वितरण गर्न सकेको थिएन। यसपटक भने बैंकले वितरणयोग्य मुनाफाका आधारमा लाभांश प्रस्ताव गरेको हो।
बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा करिब ७ अर्ब ३८ करोड रुपैयाँ मुनाफा देखिएको थियो। विभिन्न नियामकीय प्रोभिजनिङपछि खुद मुनाफा करिब ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको थियो। त्यस्तै, अघिल्लो वर्षको करिब ३ अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक रिटेन अर्निङ समायोजनपछि वितरणयोग्य मुनाफा ७९ करोड १६ लाख रुपैयाँमा सीमित भएको थियो।
बैंकको चुक्ता पूँजी करिब २६ अर्ब २२ करोड रुपैयाँ तथा जगेडा कोषमा करिब १७ अर्ब ८२ करोड रुपैयाँ रहेको छ। पछिल्लो वित्तीय अवस्थामा भएको सुधारसँगै बैंकले तीन वर्षपछि शेयरधनीलाई नगद प्रतिफल वितरण गर्न लागेको हो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)

प्रतिक्रिया