धितोपत्र बोर्डले सार्वजनिक गर्यो ‘इन्ट्राडे ट्रेडिङ’ सम्बन्धी अवधारणापत्र
- BFIS News
- 2026 Sep 24 17:05
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारमा अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयनका लागि अवधारणापत्र सार्वजनिक गरेको छ। बजारमा तरलता बढाउने, मूल्य अन्वेषण प्रक्रियालाई प्रभावकारी बनाउने तथा आधुनिक पूँजी बजार पूर्वाधार विकास गर्ने उद्देश्यले बोर्डले ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ सार्वजनिक गरेको हो।
नेपाल सरकार, अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते जारी गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ तथा बोर्डको चालु आर्थिक वर्षको नीतिमा मार्जिन ऋण कारोबार र अन्तरदिवसीय कारोबारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषय समेटिएको छ। सोहीअनुसार बोर्डले अन्तरदिवसीय कारोबार कार्यान्वयनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था तयार गर्ने क्रममा अवधारणापत्र सार्वजनिक परामर्शका लागि ल्याएको हो।
बोर्डका अनुसार अवधारणापत्रमार्फत सरोकारवालाबाट राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गरी आगामी नीतिगत र नियामकीय व्यवस्था थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
लगानीकर्ता संरक्षणलाई प्राथमिकता
प्रस्तावित अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ। जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई यसको प्रमुख आधार बनाइएको छ।
प्रारम्भिक चरणमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने प्रस्ताव गरिएको छ। परीक्षण चरणबाट प्राप्त अनुभव तथा जोखिम मूल्यांकनका आधारमा पछि योग्य धितोपत्रको दायरा विस्तार गर्ने अवधारणा अघि सारिएको छ।
‘बाइ फर्स्ट, सेल लेटर’बाट सुरु गर्ने प्रस्ताव
नेपालको विद्यमान बजार संरचना, संस्थागत क्षमता र जोखिम व्यवस्थापनको अवस्थालाई ध्यानमा राख्दै अन्तरदिवसीय कारोबार चरणबद्ध रूपमा लागू गर्ने प्रस्ताव गरिएको छ।
प्रारम्भिक चरणमा ‘Buy First, Sell Later’ अर्थात् पहिले खरिद गरेर सोही कारोबार अवधिमा बिक्री गर्ने प्रकृतिको कारोबारबाट सुरुवात गर्ने प्रस्ताव छ। त्यसपछि Securities Lending and Borrowing तथा Covered Short Selling का लागि आवश्यक पूर्वाधार पर्याप्त रूपमा विकास भएपछि मात्रै ‘Sell First, Buy Later’ प्रकृतिको कारोबार कार्यान्वयनमा ल्याउने अवधारणा अघि सारिएको छ।
यस व्यवस्थाले अन्तरदिवसीय कारोबार सुरु गर्दा उत्पन्न हुन सक्ने जोखिमलाई चरणबद्ध रूपमा व्यवस्थापन गर्न सहयोग गर्ने बोर्डको अवधारणामा उल्लेख छ।
कानुनीदेखि प्रविधिगत पूर्वाधारसम्म तयार गर्नुपर्ने
बोर्डले अन्तरदिवसीय कारोबारलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनुभन्दा पहिले आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तयार गर्नुपर्ने जनाएको छ। त्यसका लागि योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्तासम्बन्धी व्यवस्था, ब्रोकरको Standard Operating Procedure (SOP), Risk Disclosure, Margin तथा Risk Management System (RMS), बजार निगरानी (Surveillance) र प्रविधिगत पूर्वाधार विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ।
यी पूर्वतयारी पूरा गरेपछि testing, pilot र readiness assessment मार्फत कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अवधारणा अघि सारिएको छ।
बोर्डसहित सरोकारवाला संस्थाको अध्ययन
अन्तरदिवसीय कारोबारसम्बन्धी अवधारणापत्र तयार गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), सिडिएस एण्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एशोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिमा छलफल भएको थियो।
धितोपत्रको दोस्रो बजार सुधार योजनाको कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित उक्त समितिले आवश्यक अध्ययन तथा छलफलपछि अवधारणापत्र तयार गरेको हो।
बोर्डले सार्वजनिक गरेको अवधारणापत्रमा लगानीकर्ता तथा अन्य सरोकारवालाले सुझाव दिन सक्ने विषयसमेत समेटिएको छ। ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (Intraday Trading) कार्यान्वयन सम्बन्धी अवधारणापत्र, २०८३’ तथा यसको कार्यकारी सारांश बोर्डको सार्वजनिक परामर्शमार्फत हेर्न र सुझाव दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)






.jpg)




प्रतिक्रिया