चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीको प्रतिबद्धता
- BFIS News
- 2026 Sep 28 11:57
काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेसम्म आसन्न चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने जनाएको छ।
महासंघले सरकारले तोकेको भाडादरअनुसार यात्रुलाई सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै पेट्रोलियम पदार्थको मूल्य स्थिर राख्न सरकारसँग आग्रह गरेको छ।
सोमबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले हाल कायम भाडादरमै सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका हुन्। उनले दशैँलगायतका चाडपर्वमा अग्रिम टिकट बुकिङभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए।
सिटौलाका अनुसार सडकको कमजोर अवस्था र विभिन्न स्थानमा भइरहेको अवरोधका कारण यातायात सञ्चालनमा समस्या रहे पनि सरकारसँग समन्वय गरेर सेवा निरन्तर सञ्चालन गरिनेछ। उनले सार्वजनिक यातायातमा हुने बिचौलियाको हस्तक्षेप र जथाभावी टिकट बिक्री नियन्त्रण गर्नुपर्ने बताए।
महासंघले नर्मल, डिलक्स र सुपर डिलक्सलगायत सवारी साधनको वर्गअनुसार सरकारले निर्धारण गरेको भाडादर कार्यान्वयन गर्ने जनाएको छ। चाडपर्वमा हुने एकतर्फी यात्रुको चाप व्यवस्थापनका लागि निश्चित अवधिमा मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउन तथा सडक मर्मतलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गरिएको छ।
सिटौलाले यात्रु ठगी रोक्न तोकिएका बसपार्क र टिकट काउन्टरबाट मात्रै टिकट बिक्री गर्ने व्यवस्था आवश्यक रहेको बताए। दशैँको समयमा यात्रुवाहक सवारीलाई प्राथमिकता दिनुपर्ने तथा सडकका खाल्डाखुल्डी पुर्न र सडक सुरक्षामा कम्तीमा १५ देखि २० दिन विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।
महासंघले अग्रिम बुकिङ भएका सवारी साधनलाई अन्य प्रयोजनका लागि रिजर्भमा नपठाउन व्यवसायीलाई निर्देशन दिएको पनि सिटौलाले जानकारी दिए। लामो दूरीका सवारी साधनमा दुई चालक राख्ने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताए।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य बढे पनि सरकारले नागरिकको हितलाई ध्यानमा राख्दै आवश्यक परे घाटा व्यहोरेर भए पनि मूल्य स्थिर राख्नुपर्ने सिटौलाको भनाइ छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)








.jpg)

प्रतिक्रिया