नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह, एशियाका तीन दर्जन व्यवसायी काठमाडौंमा

  • BFIS News
  • 2023 Nov Tue 17:06
नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह, एशियाका तीन दर्जन व्यवसायी काठमाडौंमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (Confederation of Asia –Pacific Chambers of Commerce and Industry-CACCI) का अध्यक्ष पिटर म्याकमुलिन (Peter McMullin AM Presidnt, CACCI) सहितको प्रतिनिधिमण्डलले आज विहान औपचारिक भेटवार्ता गरेको छ ।

 

भेटवार्तामा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको छ । सो अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलव्धी हासिल गरिसकेको र अवको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरुलाई आग्रह गरे । नेपालले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी आव्हान गरिरहेको र नेपालमा लगानीका लागि अतिनै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनले विश्वास दिलाए ।

महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रीत भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे ।   

क्यासीका अध्यक्ष पिटर (Peter McMullin AM Presidnt, CACCI)ले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्याउन क्यासी तयार रहेको प्रतिवद्धता जनाएका छन् । भेटवार्तामा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा उनले खुशी व्यक्त गरे । विश्व आर्थिक मन्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने उनले विश्वास दिलाए ।

महासंघको आयोजनामा कार्तिक २० गतेदेखि काठमाडौंमा क्यासीको ३७ औं सम्मेलन आयोजना भैरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उद्घाटन गरेका थिए । कार्यक्रममा भागलिन एशिया प्रशान्त क्षेत्रबाट करिव तीन दर्जन व्यवसायिक नेताहरुको काठमाडौं आएका छन् ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गरीरहेका छन् । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया