Siddartha Bank
Prabhu Mahalaxmi

कुमारी बैंकको नाफा १.७० प्रतिशतले बढ्यो, सञ्चालन नाफामा ३२ प्रतिशतको वृद्धि

United Ajod
  • BFIS News
  • 2026 Nov 01 11:30
कुमारी बैंकको नाफा १.७० प्रतिशतले बढ्यो, सञ्चालन नाफामा ३२ प्रतिशतको वृद्धि
Sanima Reliance Life Insurance Company

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष नाफा १.७० प्रतिशतले बढाएको हो। ब्याज आम्दानीमा गिरावट आए पनि खराब कर्जा जोखिमबापतको सम्भावित नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) घट्नु र सञ्चालन नाफा बढ्नुले बैंकको खुद नाफामा सामान्य सुधार देखिएको छ।

Nepal Life
NIMB

बैंकको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा सञ्चालन नाफा ३२.३९ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो नाफा १ अर्ब ४३ करोड रुपैयाँको हाराहारीमा थियो। यद्यपि, बैंकको खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकले समीक्षा अवधिमा इम्पेरमेन्ट चार्ज ६४.४१ प्रतिशतले घटाएर ४४ करोड ९९ लाख रुपैयाँमा झारेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब २६ करोड रुपैयाँको हाराहारीमा थियो। त्यसैगरी, कर्मचारी खर्च पनि १५.९७ प्रतिशतले घटेर ९१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। खर्च व्यवस्थापनमा भएको सुधारले ब्याज आम्दानी घट्दा पनि सञ्चालन नाफा बढाउन सहयोग गरेको देखिन्छ।

निक्षेप र कर्जा विस्तारमा वृद्धि

बैंकले पहिलो त्रैमासमा निक्षेप तथा कर्जा दुवै विस्तार गरेको छ। समीक्षा अवधिमा कुल निक्षेप ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा तथा सापटी ७.६८ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब रुपैयाँ कायम भएको छ।

बैंकको चुक्ता पुँजी २६ अर्ब २३ करोड रुपैयाँमा स्थिर रहेको छ। सञ्चित कोष भने ५.०७ प्रतिशतले बढेर १८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। तर, रिटेन्ड अर्निङ ७६.८३ प्रतिशतले घटेर १४ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ।

वितरणयोग्य नाफा ऋणात्मक अवस्थाबाट सकारात्मक

बैंकको वितरणयोग्य नाफामा भने उल्लेख्य सुधार देखिएको छ। नाफा–नोक्सानी विनियोजन तथा नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १४ करोड ७२ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ३९ करोड २० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

पूँजी पर्याप्तता अनुपात पनि सुधार भएको छ। अघिल्लो वर्ष ८.५४ प्रतिशत रहेको यस्तो अनुपात समीक्षा अवधिमा बढेर ९.१५ प्रतिशत पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ। यसले बैंकको कर्जा गुणस्तरमा दबाब कायमै रहेको संकेत गर्छ।

यसैबीच, बैंकको कोषको लागत (कस्ट अफ फन्ड) ४.२९ प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा झरेको छ। कोषको लागत घट्दा बैंकको ब्याज खर्च व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।

प्रति सेयर आम्दानीमा सामान्य सुधार

कुमारी बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) १६ रुपैयाँ ११ पैसाबाट बढेर १६ रुपैयाँ ३९ पैसा पुगेको छ। त्यसैगरी, प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ७१ पैसाबाट बढेर १७२ रुपैयाँ ३१ पैसा कायम भएको छ।

समीक्षा अवधिको अन्त्यमा बैंकको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ४० पैसा रहेको छ। सोही मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १४.५५ गुणा कायम भएको छ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया