Siddartha Bank
Prabhu Mahalaxmi

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न, दुई दिन विद्युत् आपूर्ति बन्द हुने

United Ajod
  • BFIS News
  • 2026 Oct 29 07:46
मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न, दुई दिन विद्युत् आपूर्ति बन्द हुने
Sanima Reliance Life Insurance Company

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङ तथा आसपासका जिल्लामा विद्युत् माग सम्बोधन गरी आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन सबस्टेसन निर्माण गरिएको हो।

Nepal Life
NIMB

सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने तयारी गरिएको छ। त्यसका लागि पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा प्रसारण लाइनको लुप इन र लुप आउटसम्बन्धी काम गरिनेछ।

उक्त कामका लागि शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म दुहवी–दमक १३२ केभी प्रसारण लाइन बन्द गरिनेछ। यसबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रका साथै मोरङको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा उक्त समयमा विद्युत् आपूर्ति बन्द हुनेछ।

सबस्टेसनमा १३२/३३ केभी क्षमताका ६३ एमभीएका दुईवटा र ३३/११ केभी क्षमताको २२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए रहेको छ।

यसअघि उक्त क्षेत्रमा दुहवी–रानी–रङ्गेली ३३ केभीको करिब ५० किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको थियो। केरौन सबस्टेसन सञ्चालनमा आएपछि विद्युत् आपूर्ति हुने लाइनको लम्बाइ घट्ने र त्यसले आपूर्तिमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका पाँचवटा फिडर लाइन निकालिएका छन्। त्यस्तै, केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइनसमेत निर्माण गरिएको छ।

आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब एक अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया