निर्जीवन बीमा व्यवसाय ३.५७ प्रतिशतले घट्यो, नयाँ दुई कम्पनी थपिदा पनि १० अर्ब ४५ करोड बीमा शुल्क आर्जन
- BFIS News
- 2023 Nov Wed 16:00
काठमाडौं । निर्जीवन बीमा व्यवसाय ३.५७ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा १० अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेका थिए । जवकी यहि अवधिमा दुई वटा लघु निर्जीवन बीमा कम्पनी थपिएका छन् ।
चरम आर्थिक मन्दीका कारण निर्जीवन बीमा व्यवसायमा गिरावट आएको शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउछन् । निर्जीवन बीमा व्यवसायको ठुलो हिस्सा मोटर बीमाकै व्यवसाय घटेको छ ।
उनले भने एकातिर मोटरको आयात घटेको छ भने अर्को तर्फ सञ्चालनमा रहेका सबै मोटरको बीमा हुन सकेको छैन । बीमा कम्पनीहरुले गरिरहेको मोटर बीमाको संख्या र सञ्चालमा रहेका मोटरको संख्याको विचमा ठुलो ग्याप रहनुले पनि यो कुरालाई पुष्टी गर्ने उनको भनाइ छ ।
सरकारले ठेकेदारकै पैसा दिन सकेको छैन । निर्माण कार्य लगभग ठप्प जस्तै छ । यसले पनि बीमा व्यवसायलाई ठुलो असर पारेको बीमकहरु बताउछन् । बैंक वित्तीय संस्थाले घर जग्गामा कर्जा प्रवाह बढाउन सकेका छैनन् । बैंकहरुले घर तथा सम्पत्ती धितोमा राखेर कर्जा प्रवाह गर्दा बीमालाई अनिवार्य गर्ने भएकाले यो समुहमा पनि राम्रो बीमा व्यवसाय हुन्थ्यो । तर अहिले यस्तो कर्जा प्रवाह पनि हुन सकेको छैन ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका कम्पनीहरुले गएको असोज एक महिनामा मात्रै भने तीन अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेका छन् । एक महिनामा कम्पनीहरुले २ लाख ७२ हजार वटा पोलिसी बन्द गरेका छन् । असोज महिनासम्मको अवधिमा भने ६ लाख ८१ हजार वटा पोलिसी जारी भएका छन् ।
भर्खरै स्थापना भएका नयाँ लघु बीमा कम्पनीहरुको व्यवसाय भने एकदमै नगन्य छ । सञ्चालनमा आएका दुई लघु निर्जीवन बीमा कम्पनीले ९१ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
प्रतिक्रिया