जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

  • BFIS News
  • 2023 Nov Thu 13:59
जलविद्युतमा लगानी गर्न एसियन मुलुकका बैङ्कका सीईओलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुखकार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौँमा भएको ३९औँ एसियन बैंकर्स एसाेसिएसनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

अर्थमन्त्री महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताए । उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने जानकारी दिए । उनले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता जनाएको बताए । उनले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिबद्ध रहेको जनाए । 

अर्थमन्त्री महतले विश्व बैङ्क र एडिपीले पनि नेपालको ठुलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको बताए । उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिए । अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गरे । उनले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताए । उनले बैङ्क तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठुलो योगदान पुर्‍याएको जानकारी दिए । 

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठुलो चुनौती भोगिरहेको बताए । उनले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । उनले डिजिटल बैङ्किङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेको जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार