हेर्नुहोस् देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक, अर्थतन्त्र सुधार भइरहेको राष्ट्र बैंकको दाबी

  • BFIS News
  • 2023 Nov Fri 17:42
हेर्नुहोस् देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रमुख झलक, अर्थतन्त्र सुधार भइरहेको राष्ट्र बैंकको दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सुधार आएको बताएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै मुद्रास्फीति, विदेशी मुद्राको सञ्चिती, व्यापार घाटामा सुधार देखिएको जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा देशको अर्थतन्त्र विस्तारै सुधार भइरहेको र डराउनु पर्ने अवस्था नरहेको बताएका थिए । 

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । २०८० असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलपूmलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ ।

आयात १.७ प्रतिशतले बढेको, निर्यात २.३ प्रतिशतले घटेको र कुल वस्तु व्यापार घाटा २.१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल वस्तु निर्यात २.३ प्रतिशतले कमी आई रु.४० अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३५.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ९.४ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३४५.९ प्रतिशत र ९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, अलैंची, पोलिस्टर धागो लगायतका
वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, जुटका सामान, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३०.० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ११३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १४७,९३२ र ५७,८६१ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई रु.४०४ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो । 

शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडलेबचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता रु.५९ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३५ अर्ब २४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६७ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४४ करोड ५२ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ३७ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्व ५९ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.९९ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१२ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७४ करोड ७२ लाखले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१,६४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको छ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले वृद्धि भई २०८० असोज मसान्तमा रु.१६४३ अर्ब ९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा ५.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ३३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० असोज मसान्तमा ६.५ प्रतिशतले वृद्धि भई रु.१४३३ अर्ब ३६ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० असोज मसान्तमा ८.३ प्रतिशतले वृद्घि भई रु.२०९ अर्ब ७३ करोड कायम भएको छ । २०८० असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.० प्रतिशत रहेको छ । 

नेपाल सरकारको खर्च रु. २८० अर्ब ५७ करोड र राजस्व परिचालन रु.२१९ अर्ब १२ करोड रहेको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा नेपाल सरकारको कुल खर्च रु.२८० अर्ब ५७ करोड भएको छ । सरकारी खर्चको वृद्घिदर गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.६ प्रतिशतले बढेकोमा, समीक्षा अवधिमा ०.९ प्रतिशतले मात्र बढेको छ । समीक्षा अवधिमा चालु खर्च रु.२१३ अर्ब ३९ करोड, पँुजीगत खर्च रु.१७ अर्ब ८३ करोड र वित्तीय व्यवस्था खर्च रु.४९ अर्ब ३५ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२१९ अर्ब १२ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १८.२ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ५.० प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व रु.१९९ अर्ब ४६ करोड र गैर कर राजस्व रु.१९ अर्ब ६५ करोड परिचालन भएको छ । 

विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ, जुन २०७९ असोजमा ५.३ प्रतिशतले मात्र बढेको थियो ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.९९ अर्ब ७ करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१२ अर्ब ४३ करोड (१.१ प्रतिशत) ले बढेको थियो। समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ६.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा सञ्चित मुद्रा २.१ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.८ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.८ प्रतिशत रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार