Nepal Life

आईएमई लाइफको प्रिमियिम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Thu 07:19
आईएमई लाइफको प्रिमियिम मूल्यमा आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज बिहीबार (असार २१ गते)देखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।

NIMB

कम्पनीले जारी पूँजी ४ अर्बको ३० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयरमा कर्मचारीका लागि र बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।


कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले इन्स्योरेन्स कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिने हो भने २ हजार ३६९.१० रुपैयाँको जोहो गर्नु पर्नेछ । यदि कम्पनीको आईपीओमा अधिकतम १० हजार कित्ता खरिद गर्ने हो भने २३ लाख ६९ हजार १ सय रुपैयाँको जम्मा गर्नु पर्ने देखिन्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया