Nepal Life

सेवनका अध्यक्ष हमालको ब्ल्याक एण्ड ह्वाइट पक्ष, स्वार्थ समुह र साना लगानीकर्ताका महानायक अरुका लागि ‘मिसन म्यान’

Global Ime detail Page
  • पुरुषोत्तम सुवेदी
  • 2023 Nov Tue 13:49
सेवनका अध्यक्ष हमालको ब्ल्याक एण्ड ह्वाइट पक्ष, स्वार्थ समुह र साना लगानीकर्ताका महानायक अरुका लागि ‘मिसन म्यान’
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश हमालको कार्यकाल यहि पुस २२ गतेदेखि सकिदैछ । हमाललाई सरकारले २०७८ फागुन ५ गते निवर्तमान अध्यक्ष भिष्म प्रसाद ढुङ्गानाको बाँकी कार्यकालका लागि नियुक्त गरेको थियो । ढुङ्गानालाई सरकारले २०७६ पुस २२ गते ४ वर्षका लागि नियुक्त गरेको थियो ।

NIMB

ढुङ्गाना सर्वोत्तम सिमेन्टको गोल्डेन शेयरमा मुछिए पछि बर्खास्तमा परेका थिए । तत्कालिन समयमा सर्वोत्तम सिमेन्ट काण्डमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजिनामा नै दिनु पर्यो । यहि परिस्थितिका कारण शेयर बजार, राष्ट्र बैंक, अर्थमन्त्रालय, बैंक वित्तीय संस्था भन्दा बाहिरबाट एका एक झुल्किएका रमेश हमालले शेयर बजारमा राम्रै छाप छाडेर विदा हुने तरखरमा छन् । यदि सरकारले अर्को कार्यकालका लागि पनि नियुक्त गर्यो भने उनि थप ४ वर्षका लागि अध्यक्ष हुनेछन् अन्यथा उनि अवको १० दिनमा बाहिरिनेछन् ।

लामो समय थाइल्यान्डमा बसेका हमाल अध्यक्ष हुनु भन्दा केहि वर्ष अघि नेपाल फर्किएका थिए । इन्जिनियरिङ पृष्ठभूमिका हमालले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीए गरेका छन् । उनी घरजग्गा कारोबारमा संलग्न थाइल्यान्डको ओमस्टोन एशिया अन्तर्गतको कम्पनी ओमस्टोन एशिया क्यापिटल नेपाल प्रालिका प्रबन्ध निर्देशक हुन् ।

योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम अध्यक्षका लागि सिफारिश गरेको थियो । मन्त्रिपरिषद्ले अन्य दुई प्रतिस्पर्धीलाई पन्छाएर हमाललाई नियुक्त गरेको थियो । यहिबाट पनि उनि तत्कालिन सरकारका प्रिय पात्र थिए ।

सुदूरपश्चिम घर भएका हमाल पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । उनको नियुक्तिका लागि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको समेत विशेष साथ रहेको थियो । प्रधानमन्त्री र अर्थमन्त्री दुवैको इच्छाले उनि नियुक्त भएकाले गर्दा पनि उनले शेयर बजारमा अन्य अध्यक्ष भन्दा केहि फरक काम गरे । उनको नियुक्तिताका राजनीतिज्ञ र व्यवसायीबीच बिचौलियाको भूमिका निर्वाह गर्दै आएका विवादास्पद व्यवसायी दीपक भट्टले हमालको नियुक्तिका पक्षमा पहल गर्दै आएको आरोप थियो । त्यसैले गर्दा हमालले व्युरोक्रेसी शैलीमा भन्दा पनि धितोपत्र बोर्डलाई व्यापारिक शैलीमा अगाडी बढाउने भन्दै आलोचना हुने गर्थ्यो ।

हमालको नियुक्तिलाई लिएर दुई वटा स्टक एक्सचेन्ज ब्रोकर लाइसेन्स बाड्ने विश्वासिलो पात्रका रुपमा चित्रण गरिएको थियो । फरक पृष्ठभुमीबाट आएकै कारणले उनको कार्यकालमा केहि नयाँ र फरक काम भने पक्के पनि भए । उनको कार्यकाललाई लिएर सकारात्मक नकारात्मक दुबै दृष्टिकोणबाट चर्चा हुने गरेको छ ।

लगानीकर्ताले सुरुवाति दिनमा हमालको कार्यशैलीलाई लिएर महानायकको संज्ञा नै दिएका थिए । लगानीकर्ताले धेरै लामो समयदेखि राख्दै आएका कतिपय मागलाई छोटो अवधिमै पुरा गरिदिएका कारण हमाल प्रति प्राय लगानीकर्ताको विश्लेषण सकारात्मक सुन्न सकिन्छ ।

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार धितोपत्र बोर्डका अध्यक्षको कार्यकाल सुरुवाति दिनमा जुन किसिमको उत्साहप्रद थियो पछिल्लो एक वर्षको अवधिमा भने निरन्तरता दिन सकेनन् । हमालले बीमा कम्पनीदेखि लिएर केहि खराव कम्पनीहरुलाई समेत प्रिमियममा शेयर जारी गर्न दिएर धेरै नराम्रो काम गरेको पोखरेल बताउछिन् ।

यस बाहेक हमालले बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्ने लगानीकर्ताको धेरै पुरानो माग पुरा गरिदिएको उनको भनाइ छ । पोखरेल आफै पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको पूँजी बजार सुधारका लागि गठित कार्यदलको सदश्य थिइन् । उक्त कार्यदलले पेश गरेको सुझावमा बैंकलाई ब्रोकर लाइसेन्स दिनु पर्ने भन्ने थियो । यसरी आफै संलग्न भएको कार्यदलले दिएको सुझावको कार्यान्वयन गरेकोले पनि उनि हमालको कार्यकाललाई सकारात्मक मान्छिन् ।

साना तथा मध्यम वर्गका लगानीकर्ताले देख्ने गरि सुधारको काम गरेका हमाल केहि ठुला लगानीकर्ताका लागि भने मिसन पुरा गर्ने अध्यक्षका रुपमा चिनिएका छन् । एक लगानीकर्ताले भने ‘उनि एउटा मिसनका लागि अध्यक्ष बनेका थिए । त्यो मिसन पुरा गरेर उनि बाहिरिदै छन् त्यस बाहेक उनले शेयर बजारलाई फाइदा पुर्याउने खासै ठुलो काम गरेनन् ।’

अर्का बजार विश्लेषक नवराज दाहालका अनुसार हमालले शेयर बजारमा अल्पकालिन तथा दीर्घकालिन लगानीकर्ताका लागि धेरै ठुलो काम गरिदिएका छन् । उनले भने ‘अध्यक्ष हमालले ५० वटा ब्रोकरको सिण्डिकेटलाई तोडेर नयाँ ब्रोकर लाइसेन्स दिने काम गरे । बैंक वित्तीय संस्थाले मन लाग्दी लिने आश्वा शुल्कलाई नियमन गरिदिएका छन् । साथै आइपिओ निष्काशनको अनुमति पाउन धितोपत्र बोर्डमा वर्षौ धाउनु पर्ने परिपाटी अन्त्य गर्दै अनुमति दिने प्रकृयाँलाई सहज बनाइदिएका छन् । यो नै उनको कार्यकालको सबैभन्दा राम्रो काम हो ।’

हमालले शेयर बजारमा जुन किसिमको सप्लाइ चेनमा सुधार ल्याएर प्रिमियम तथा बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्ने काम गरे त्यस बाहेक संस्थागत लगानीकर्ताको विकास भने गर्न सकेनन् । बजारमा आउने सप्लाइ रोक्नका लागि ठुला ठुला संस्थागत लगानीकर्ताको आवश्यक पर्छ ।   

नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर लाइसेन्सका लागि आवाज उठाउने लगानीकर्ताहरु अहिले भने उनको यस कदम प्रति सन्तुष्ट देखिदैनन् । ब्रोकर लाइसेन्स तथा स्टक एक्सचेन्जको लाइसेन्समा ठुलो चलखेल भएको अधिकाम्सको आरोप छ । ब्रोकर लाइसेन्स दिने क्रममा पुराना ब्रोकरहरु भने धेरै रुष्ट देखिएका छन् । यसले गर्दा पनि पुराना ब्रोकर सञ्चालकका आखामा अध्यक्ष हमाल गलत पात्रका रुपमा स्थापित भएका छन् । तर जसले यस अवधिमा नयाँ ब्रोकर लाइसेन्स पाएका छन् उनिहरुका लागि भने हमाल महानायक बनेका छन् ।

शेयर बजारको आन्दोलनका क्रममा नयाँ स्टक एक्सचेन्ज चाहियो भन्दै आन्दोलन गर्ने लगानीकर्ताहरु नै अहिले नयाँ स्टक एक्सचेन्ज प्रकृयाँ रोक भन्दै विरोध गरिरहेका छन् । बजारमा नयाँ स्टक एक्सचेन्ज ल्याउन एकदमै राम्रो हो तर यस विषयमा चलखेल भइरहेको भन्ने कुराले गर्दा विरोध हुन पुगेको पोखरेलको भनाइ छ ।

जसरी हिजोका दिनमा नेपाल टेलिकम मात्रै हुँदा फोन उठाउदा पनि पैसा दिनु पर्थ्यो । जव अर्को प्रतिस्पर्धी एनसेल आयो त्यस पछि ग्राहकहरुले दुरसञ्चारका क्षेत्रमा धेरै सस्तोमा सुविधा पाउन थालेका हुन् । यसले गर्दा पनि एउटा पक्ष बजारमा नयाँ स्टक आउनु पर्छ भनेर वकालत गरिरहेको छ । यो पक्षले अझै पनि बाँकी कार्यकालका लागि हमालको आवश्यकता रहेको छ भनिरहेको छ ।

हमालको कार्यकालमा लगानीकर्ताले ब्रोकर कमिशन घट्ने अपेक्षा गरेका थिए । तर हमालले लगानीकर्तालाई अनुभुति हुने गरि कमिशन नघटाएको विश्लेषकहरु बताउछन् । खराव भन्दा खराव कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न दिनु हमालको सबैभन्दा ठुलो कमजोरी देखिएको बजार विश्लेषकहरु बताउछन् । एक लगानीकर्ताले भने ‘हमालले यसरी प्रिमियममा शेयर जारी गर्न दिनु भन्दा बुक विल्डिङ विधिबाट शेयर जारी गर्न दिएको भए यति धेरै विवाद नै आउने थिएन ।’

हमालले आफुलाई सहज बनाउनका लागि धितोपत्र बोर्डको संरचनामा कुनै पनि परिवर्तन गर्ने चेष्टा गरेनन् । यो पनि उनको कार्यकालको नराम्रो पक्ष रहेको विश्लेषकहरु बताउछन् । धितोपत्र बोर्डले जस्ता सुकै कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने कामलाई पनि लगानीकर्ताले विरोध गरेका छन् । कहिले पनि लाभांश दिन नसक्ने कम्पनीलाई थप हकप्रद शेयर निष्काशन गर्न दिएर सर्वसाधारण लगानीकर्ता प्रति अन्याय भएको उनिहरुको विश्लेषण छ ।

हमालले आफ्नो कार्यकालमा गरेको अर्को राम्रो काम मर्जरमा गएका कम्पनीहरुको शेयर लामो समय बन्धक हुने अवस्थालाई हटाएर आधारभुत शेयरधनी बाहेक सबैको कारोबार सहज रुपमा हुने व्यवस्था मिलाए ।

दोस्रो बजारमा कारोबार गर्ने अधिकाम्स लगानीकर्ता उनको कार्यकाल दोहोरियोस भन्ने चाहन्छन् । तर पुराना ब्रोकर तथा ठुला लगानीकर्ताहरु भने उनको कार्यकाल नदोहोरियोस् भन्ने चाहन्छन् । यस भन्दा अगाडीका अध्यक्षको तुलनामा हमाल धेरै हदसम्म सहि लागेको राधा पोखरेल तथा नवराज दाहालको प्रतिक्रिया छन् । अध्यक्ष हमालको विषयमा प्रतिक्रिया लिने क्रममा केहि ठुला लगानीकर्ता तथा पुराना ब्रोकरहरुले भने आफ्नो नाम राख्न नचाहेका कारण यहाँ उल्लेख गरिएको छैन ।

हमाल अध्यक्ष हुँदा जुन किसिमको राजनीतिक संरचना थियो आज पनि त्यहि संरचना भएको हुँदा उनको कार्यकाल दोहोरिने सम्भावना पनि उत्तीकै छ । अर्को तर्फ अध्यक्षका लागि पुरानै व्यक्तिहरु दौडमा निस्किसकेका छन् । सबैले आ-आफ्नो राजनीतिक शक्ति प्रयोग गर्न सुरु पनि गरिसकेका छन् ।

अव बन्ने अध्यक्षका लागि हमालले केहि चुनौती भने थपिदिएका छन् । उनको द्रुत गतिमा काम गर्ने कार्यशैलीले धेरैलाई मोहित बनाएको छ । व्युरोक्रेसी भन्दा पनि खुला बजारबाट भित्रिएका हमालको कार्यकालमा राम्रो नराम्रो दुबै पक्ष देखियो । मिसनका लागि आएको भन्नेका लागि उनको मिसन अझै पुरा भएको देखिदैन । नयाँ स्टक एक्सेन्जको लाइसेन्स अन्तिम संघारमा रहेको छ । यसले गर्दा अहिलेको सरकारले पनि यस कामलाई टुङ्गोमा पुर्याउन पनि उनको कार्यकाल थप्ने सम्भावना उच्च छ । त्यसमा पनि अर्थमन्त्री नेपाली कांग्रेसकै त्यसमा पनि देउवाका विश्वास पात्र रहेको हुँदा हमालले अहिले पनि देउवालाई कत्तीको मनाउन सक्छन् त्यसैमा उनको अर्को कार्यकाल रहने या नरहने निर्धारण गर्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया