एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन

  • BFIS News
  • 2023 Dec Wed 04:28
एनसेल खरिद–बिक्री शंकास्पद, सरकारले तत्काल छानबिन गर्नुपर्छः सत्ता गठबन्धन

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यावस्था अुनकुल खरिद–बिक्री नभएको बताएका छन्उ । उनले शेयर खरिद–बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।  

उनले भने, ‘‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो। एनसेलको सम्बन्धमा पछिल्लो समयमा एनसेलको शेयर खरिद–बिक्री लगायतका जुन कुरा आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ। जति पनि काम कुरा भएका छन्। त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन। जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन्। त्यसमा प्रश्न उठेका छन्।’’ 

उनले यो विषयमा प्रधानमन्त्री गम्भिर भएको उल्लेख समेत गरेका छन् । लेखकले भने, ‘‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ। यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठिक छ भन्ने निष्कर्षमा पुगेको छ।’’ 

प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको उल्लेख गरे । 

बैठकमा एनसेल खरिद बिक्रीको बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘‘यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष भएको छ। मन्त्रिपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ। सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ’’, उनले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा सहभागी शीर्ष दलका नेता र विभागीय मन्त्रीसँग छलफल गरेका हुन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा सहभागी दलका शीर्ष नेता सहभागी थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार