साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा सत्यता छैन, यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

  • BFIS News
  • 2024 Jan Sat 18:17
साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा सत्यता छैन, यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह

भरतपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७ औं वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ । होइन भने तपाईंहरुले प्राप्त गर्न खोजिरहेको कुरा विपरित परिणाम आउँछ ।’

तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री डा. महतले बताए । उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न मन्त्री डा. महतले आग्रह गरे । 

अर्थतन्त्र समस्यामा थियो, अझै तहमा पुर्याउन धेरै गर्न बाँकी रहेको उहाँले स्पष्ट पार्नुभयो । उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ । देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ । अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ ।’

अर्थतन्त्र विस्तारै लयमा फर्किदैछ गरेको मन्त्री डा. महतले बताए । विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्नुहुँदैन । तर कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न नसकिने भन्दै देशमै दक्ष्य जनशक्तिको अभाव भइरहेको बताए । उनले भने, ‘विदेश जाउँ भनेर सरकारले प्रोत्साहन गर्दैन, तर जानै पाउँदैनौं भन्न सक्दैनौं ।

निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको छ । केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौ, नभएको माघपछि काम गरिसकेको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौ । काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन ।

साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता छैन । दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा काहिँकतै समस्या आएको छैन । सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ । ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ । 

विदेशी ऋणको साँवा ब्याज र सामाजिक दायित्वमा धेरै खर्च हुने भएकाले पूँजीगत खर्च हामीसँग धेरै बच्दैन यो कुरा सत्य हो, साधारण खर्च पनि थेग्न सक्दैन भन्ने कुरा असत्य भएको मन्त्री डा. महतले स्पष्ट पारे । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया