दक्षिण एसियाको व्यापार सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

  • BFIS News
  • 2024 Jan Mon 21:36
दक्षिण एसियाको व्यापार सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं । दक्षिण एसियाको व्यापारसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौँ विश्व विद्यालयको आयोजनामा आइतबारदेखि सुरु भएको ‘डब्ल्यूसीपी नेपाल– एआईबी साउथ एसिया कन्फ्रेन्स २०२४’ सोमबार सम्पन्न भएको हो । छलफलको दोस्रो दिन ‘अन्तर्राष्ट्रिय व्यापारमा सिद्धान्त र अभ्यासः उदयीमान परिदृश्य’ शीर्षकमा छलफल भएको थियो ।

छलफलमा ‘एकेडेमी अफ इन्टरनेसनल विजनेस (एआईबी)’का पूर्व अध्यक्ष एवं युनिभर्सिटी अफ साउथ क्यारोलिनाका प्राध्यापक चक ककले अन्तर्राष्ट्रिय व्यापारमा एआईबीले व्यापार विज्ञलाई जोडिरहेको जानकारी दिएका छन् । एआईबीले विश्वव्यापीकरणमा खुला सिमाना, विश्वव्यापी विचार तथा अन्तर्राष्ट्रिय संस्कृतिलाई बढावा दिइरहेको उनको भनाई थियो । त्यस्तै अन्तर्राष्ट्रिय व्यापारमा बौद्धिक स्वतन्त्रता, अन्तर्राष्ट्रिय व्यापारमा समावेशिता लगायतमा पनि एआईबीले बढावा दिन खोजेको उनले बताए । 

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक डा. विजुकुमार थपलियाले अन्तर्राष्ट्रिय व्यापारमा ‘डिग्लोब्लाइजेसन’को खतरा देखिएको बताए । अन्तर्राष्ट्रिय व्यापारमा मुलुकहरुबीचको अन्तरसम्बन्धमा कमजोरी रहेको भन्दै उनले यस्तो खतरा बढेको धारणा राखेका छन् । 

व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले नेपालको प्रमुख निर्यातजन्य वस्तु कपडा (टेक्सटाइल)को व्यापार सुधार भएको जानकारी दिए । सन् २०२२ मा नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा कपडा रहेको रहेको उल्लेख गर्दै उनले अलैंची, अुदवाको निर्यात हुने प्रमुख वस्तु रहेको जानकारी दिए । नेपालको टेक्सटाइल अमेरिका, जापान, जर्मनी, फ्रान्सलगायत देशसम्म पुगिरहेको उनले जानकारी दिए ।

नेपालले अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार, सूचना प्रविधि, पानी पनि निर्यात गर्न सक्ने पर्याप्त सम्भावना रहेको उनले बताए । त्यस्ता वस्तु निर्यात गरेर नेपालले ५० करोड अमेरिकी डलरसम्म आम्दानी गर्न सक्ने उनको अनुमान थियो ।

सम्मेलनका क्रममा दक्षिण एसियाली मुुलुकहरुले गर्न सक्ने व्यापारसम्बन्धी सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । सो क्रममा सुनन्दा आले शर्माले नेपालमा महिला पर्यटन उद्यमशीलताको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । 

यसअघि कार्यक्रमको पहिलो दिन आइतबारको छलफलमा दक्षिण एसियाली मुलुकहरुले अन्तर्राष्ट्रिय व्यापारको लाभ लिन नपाएको भन्दै लाभ बढाउनमा जोड दिइएको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया