Nepal Life

व्याजदर घटे पछि शेयर बजार बढ्छ, नेपालको शेयर बजारले स्थायित्व खोजिरहेको छ : निरञ्जन टिवरेवालाको विश्लेषण

Global Ime detail Page
  • निरञ्जन टिवरेवाला
  • 2024 Jan Tue 13:56
व्याजदर घटे पछि शेयर बजार बढ्छ, नेपालको शेयर बजारले स्थायित्व खोजिरहेको छ : निरञ्जन टिवरेवालाको विश्लेषण
Sanima Reliance

काठमाडौं । व्याजदर घटे पछि शेयर बजार बढ्छ । अहिले शेयर बजार बढ्नुको प्रमुख कारण यहि नै हो । बजारमा लिक्वीडिटी ‘तरलता’ बढेकाले व्याजदर घटेको हो । एकातिर विदेशमा गएका नेपालीले पठाउने रेमिट्यान्स बढिरहेको छ भने अर्को तर्फ लगानीको वातावरण छैन ।

NIMB

अझै पनि घरजग्गामा लगानी गर्ने वातावरण छैन । त्यसैले यसको उत्तम विकल्प शेयर बजार नै हो । यसले गर्दा अव शेयर बजार बढ्छ । बजार बढ्दै गर्दा कुन कम्पनीको शेयर कति बढ्छ भन्ने कुरा स्वयं कम्पनीको फण्डामेन्टल फ्याक्टरले काम गर्ला तर समग्रमा शेयर बजार बढ्दै जान्छ । अन्य क्षेत्रमा लगानी गर्दा विभिन्न समस्याहरु छन् तर शेयर बजारमा लगानी गर्दा कुनै पनि समस्या छैन । शेयर बजारमा लगानीकर्ताले टेन्सन फ्रि भएर लगानी गर्न सक्ने भएकाले पनि अन्य क्षेत्रलाई भन्दा सहज उपायका रुपमा यसै क्षेत्रलाई चयन गरिरहेका छन् ।

पहिलाको तुलनामा बजारले मुभमेन्टम लिन सुरु गरेको छ । ६ महिना अगाडी शेयर बजारमा अव के होला भन्ने खालको स्पष्टता थिएन तर अहिले शेयर बजारलाई सपोर्ट गर्ने धेरै फ्याक्टर देखिएका छन् ।

बजारमा तरलता प्रयाप्त देखिएको छ । विदेशमा काम गर्नु जानु भएका नेपाली दाजुभाइ दिदी बहिनीले पठाउनु भएको रेमिट्यान्सले बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । बैंकहरुले खराव कर्जाको लागि गर्नु पर्ने प्रोभिजनिङ लगभग गरिसकेका छन् । अव पुराना कर्जालाई रिकभर गर्दै जाने हुँदा थप प्रोभिजनिङ बढ्ने देखिदैन । गएका वर्षमा गरिएका प्रोभिजनिङ यस वर्ष रिकभरीमा जाने हुँदा मुनाफामा बृद्धि हुनेछ ।

लगानीको वातावरण राम्रो नहुँदा एक वर्षदेखि बैंकहरुको कर्जा विस्तार एकदमै सुस्त छ । अहिले पनि लगानीको वातावरण राम्रो छैन । उद्योग व्यापारमा लगानी गर्ने मानिसहरु छैनन् । एउटा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अनुन्धान गर्ने अनुगमन गर्ने निकाय यति धेरै छन् ।

सरकार एउटै हो भने अनुसन्धान गर्ने निकाय किन धेरै चाहियो । सिआइबी, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, राजश्व विभाग, स्थानीय प्रशासन लगायत यति धेरै निकायबाट बारम्बार अनुसन्धान गर्नु भनेको व्यवसायिक वातावरणमा अवरोध पुर्‍याउनु हो । काम गर्छु भन्ने व्यक्तिलाई यति धेरै निकायबाट पेल्ने काम वास्तवमै समस्याको जड हो । जबसम्म लगानीमैत्री वातावरण हुँदैन तबसम्म बैंकहरुले लगानी गर्न सक्दैनन् । 

लगानी नहुने वित्तिकै बैंकले व्याजदर घटाउँछन् । मुद्दती निक्षेपमा पैसा जम्मा गर्न मान्दैनन् । एकातिर लगानी हुन सकिरहेको छैन भने अर्को तर्फ विदेशी मुलुकबाट रेमिट्यान्स थुप्रिएको छ । यसरी व्याजदर घट्नु नेचुरल प्रकृया हो । व्याजदर घट्ने वित्तिकै लगानीकर्ताको उपयुक्त विकल्प शेयर बजार नै हो । अहिलेको समयमा घरजग्गामा स्लो डाउन छ ।

बजारले स्थायित्व खोजिरहेको छ

शेयर बजार बढ्न र घट्नु सामान्य नियम हो । अझै बजार कतिसम्म माथि पुग्ला त्यसको रिभ्यु गर्ने बेला भएको छैन । अझै ४/५ महिना पछि बजार कसरी कुन दिशामा अगाडी बढ्छ त्यसैका आधारमा विश्लेषण गर्नु आवश्यक छ । बजारमा तरलता बढ्दै जादा लगानीकर्ताको हातमा पैसा थुप्रिँदै जान थालेको छ । यसको ज्वलन्त उदाहरणका रुपमा प्राथमिक बजार तथा अपर तामाकोशीको अक्सन शेयरमा लगानीकर्ताको आकर्षणलाई हेर्न सकिन्छ ।  

नेपाल विद्युत प्राधिकरणले ६० अर्बको आइपिओ निष्काशन गर्दै छ । यसले पक्कै पनि लगानीको वातावरण बनाउँदैछ । विस्तारै विस्तारै लगानीकर्ताले लगानी गर्ने ठाउँ पाउँदै छन् ।

बजार धेरै नै तल्लो विन्दुमा झरेर उकालो लागेको हुँदा दुई चार महिनामै शेयर बजार क्र्यास हुन्छ भन्ने हुँदैन । त्यसैले अहिलेसम्मको अवस्थामा लगानीकर्ताले गुमाउनु पर्छ भन्ने हुँदैन । शेयर बजार अबका दिनमा कसरी र कुन दिशामा अगाडी बढ्छ भनेर हेर्नु भन्दा अगाडी भोलिका दिनमा नेपालको अर्थतन्त्र र विकासको गति कुन दिशामा अगाडी बढ्छ भनेर हेर्न जरुरी छ ।

अहिले हामी सबैले बुझ्नु पर्ने कुरा देशलाई यहि अवस्थामा राखेर भोलिका दिनमा कोहि पनि उम्किन सक्ने अवस्था छैन । अहिले नै मानिसहरुले नेपालमा ठुलो परिवर्तन आउने प्रिडिक्सन ‘अनुमान’ गरिरहेका छन् । अहिले नै सबैले यो कुरालाई अनुभुति गर्नुका साथै भनिरहेका पनि छन् । भोलिका दिनमा ठुलो परिवर्तन आउने भनेको विकासकै लागि हो । सुशासनकै लागि परिवर्तन आउने हो ।

हाम्रा छिमेकी मुलुकले ठुला ठुला विकासका काम गरिरहेका छन् । दुई तिर हेरेर मात्रै त हाम्रो विकास सम्भव छैन ।  त्यसैले यहाँ पनि त्यसको प्रभाव पर्ने निश्चित छ । परिवर्तन हुनेमा सबै सहमत छन् तर परिवर्तन कुन रुपमा आउछ र कसले नेतृत्व गर्छ भन्ने अवस्थाको क्लियर भइसकेको छैन ।

पछिल्लो समय सामान्य केहि भइहाल्यो भने पनि ठुलो विरोध आउन थालिसकेको छ । सरकारका हरेक कदम र कामलाई लिएर तल्लो तहमै विरोधका आवाज सुनिन थालिसकेको छ । यो परिवर्तनले अहिलेकै राजनीतिक व्यक्तिहरुलाई सपोर्ट गर्छ/गर्दैन भनेर भन्न सक्ने अवस्था छैन तर उनीहरु आफै परिवर्तनको पक्षमा देखिन थालिसकेका छन् । यदि अव आउने परिवर्तनले राम्रा मानिसलाई नेतृत्व सुम्पियो र देशले विकासको गति लियो भने अहिलेको बृद्धिले दीर्घकालिन गति समाउने निश्चित छ ।

भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता गरिसकेको छ । अव कमसेकम जलविद्युतमा लगानी बढ्छ । यदि साच्चै नेपालले भोलिका दिनमा १० हजार मेगावाट विद्युत बिक्री गर्यो भने नेपालको जिडिपी साच्चिकै धेरै माथि पुग्छ ।

एकातिर आर्थिक अवसरहरु छन् भने अर्को तर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ । त्यस्तै अबका दिनमा एउटा मात्रै कुराको आवश्यकता छ त्यो हो ‘परिवर्तन’ । जसलाई जनताले खोजिरहेका छन् । जसले खराव सुशासनलाई फ्याँकेर असल शासनको आवश्यकता बोध गरिरहेका छन् । मानिसको चेतना धेरै माथि पुगिसकेको हुँदा अबको परिवर्तनलाई कसैले पनि रोक्न सक्ने सामर्थ्य राख्दैन ।

अव आउने परिवर्तनको ठुलो एजेण्डा नै कास हुने हुँदा राज्यले लगानी मैत्री वातावरण बनाउनु पर्छ । राज्यले लगानीकर्तालाई कुन हदसम्म दुख दिने, त्यो त सधै सम्भव छैन । अहिले आउने नेतृत्वले पनि यहि कुरालाई विरोध गरेरै अगाडी बढेका छन् । रवि लामिछानेदेखि लिएर गगन थापा समेत यहि कुराको विरोध गरेर स्थापित भएका हुन् ।

भोलिका दिनमा आउने नेतृत्वले भारत र चीन विच कस्तो सम्बन्ध बनाएर अगाडी बढ्छन् भने कुराले पनि अर्थ राख्छ । नेपालका लागि दुबै शक्ति आवश्यक छ । भारतले जुन गतिमा विकास गरिरहेको छ नेपालले त्यसको फाइदा लिने सम्भावना प्रचुर छ । सँग सँगै चीन सँग पनि सौहार्द सम्बन्ध आवश्यक छ । भारतका हरेक गतिविधि अहिले विश्वकै चासोको विषय बनेको छ । चाहे त्यो राम मन्दीको निर्माण प्रकरण नै किन नहोस् चाहे मोदीका विविध क्रियाकलाप नै किन नहुन् । यस्ता क्रियाकलापले शक्ति निर्माण गर्छ । जुन शक्तिले विकासमा टेवा पुर्याउछ । यस्तै विविध कारणले गर्दा भारतले विश्व समुदायमा फरक किसिमको मुभमेन्टम निर्माण गरेको छ ।

यस्तै फ्याक्टले भोलिका दिनमा नेपालको शेयर बजारमा स्थायित्व खोज्ने हो । जव देशको विकासले गति लिन सक्दैन तबसम्म शेयर बजारमा पनि स्थायित्व कायम हुन सक्दैन । देशको माहोल जुन किसिमले अगाडी बढिरहेको छ त्यसले पक्कै पनि शेयर बजारकै स्थायित्व खोजिरहेको छ ।

यो पनि पढ्नुहोस्

अर्थतन्त्रमा सुधार नआइ शेयर बजारले फड्को मार्दैन, केहि महिनामा गति लिन्छ : निरञ्जन टिवरेवालाको विश्लेषण

नेपाललाई विश्वकै शेयर हब बनाउने कवि कुमार टिबरेवालाको त्यो ड्रिम प्रोजेक्ट, ठुलो प्रयास पछि पनि आउन सकेन

(टिवरेवाला नेपालको शेयर बजारको पहिलो लगानीकर्ता हुन् । उनले शेयर बजारलाई सुक्ष्म रुपमा हेर्दै आइरहेका छन् । उनले शेयर बजारलाई निष्पक्ष रुपमा विश्लेषण गर्ने गरेका छन् ।)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया