घरजग्गामा देखिएको मन्दी विस्तारै हट्दै, पुस महीनामा वर्षकै सर्वाधिक किनबेच

  • BFIS News
  • 2024 Jan Wed 06:32
घरजग्गामा देखिएको मन्दी विस्तारै हट्दै, पुस महीनामा वर्षकै सर्वाधिक किनबेच

काठमाडौं । घरजग्गामा देखिएको सिथिलता विस्तारै रिकभर हुन थालेको छ । कित्ताकाट र बैंकिङ कर्जामा कडाइ हुँदा मन्दी छाएको घरजग्गा कारोबार पछिल्ला दिनमा विस्तारै सुधार हुने लयमा देखिएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो नीति लिएको छ भने सरकारले पनि स्थानीय निकायलाई कित्ता काटको लागि सहजिकरण गर्न निर्देशन दिएको छ ।  

यहि कारणले गर्दा गत पुस महीनामा घरजग्गा किनबेच बढेको देखिएको छ। पुसमा देशभरिका मालपोत कार्यालयबाट ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ। यो मंसीरका तुलनामा ८.१ प्रतिशत धेरै हो।

पुसको कारोबार यो आर्थिक वर्षकै सर्वाधिक धेरै पनि हो। गत साउनयता कुनै महीना पनि यो परिमाणमा घरजग्गा किनबेच भएको थिएन। यसअघि मंसीरमा सर्वाधिक धेरै ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएका थिए। यो आर्थिक वर्षको सर्वाधिक थोरै घरजग्गा किनबेच कात्तिकमा भएको थियो। दशैंतिहारका कारण आधाभन्दा बढी दिन सरकारी कार्यालय बन्द भएका कारण कात्तिकमा २६ हजार ४६ वटा मात्रै घरजग्गा किनबेच भएका थिए।

जग्गाको कित्ताकाटलाई सरकारले खुकुलो बनाएको तथा ब्यांक तथा वित्तीय संस्थाको ब्याजदर पनि घटिरहेकाले पछिल्ला महीनामा घरजग्गाको किनबेच बढ्न थालेको आकलन छ।

पुसमा घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २० करोड रुपैयाँ राजस्व पनि संकलन गरेको छ। मंसीरमा घरजग्गा कारोबारबाट रु. दुई अर्ब ८६ करोड राजस्व संकलन भएको थियो। मंसीरको तुलनामा पुसमा राजस्व संकलन ३४ करोड रुपैयाँले बढेको हो।

लामो समय शिथिल बनेको घरजग्गा कारोबारलाई चलायमान बनाउन सरकारले एकपछि अर्को अनुकूल नीति लागू गरिरहेको छ। सरकारले गत साउनमा कित्ताकाट खुलाएको थियो भने नेपाल राष्ट्र ब्यांकले घरजग्गा क्षेत्रमा जाने ब्यांकको कर्जालाई सजिलो बनाइदिएको छ। यसको प्रभाव घरजग्गा किनबेचमा परिरहेको छ।

यद्यपि घरजग्गा कारोबारले अपेक्षित गति लिन सकेको छैन। दुई वर्षअघि एकै महीनामा ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा २०७९ वैशाखपछि घरजग्गा बजारमा शिथिलता देखिंदै आएको छ। दुई वर्षअघि २०७८ पुसमा देशभरि ७० हजार १६८ वटा घरजग्गा सम्बन्धी कारोबार भएका थिए।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत पुसमा सबैभन्दा धेरै घरजग्गा किनबेच इनरुवा मालपोत कार्यालयबाट भएको थियो। इनरुवा मालपोत कार्यालयले एक हजार ९३७ वटा घरजग्गा किनबेचको लिखत पारित गरेको छ। यस्तै, भद्रपुरमा एक हजार ७४३, मोरङ बेलबारीमा एक हजार ६५०, जनकपुरमा एक हजार ५२०, राजविराजमा एक हजार २६० वटा घरजग्गा कारोबार भए।

काठमाडौंमा घट्यो

काठमाडौं उपत्यकामा भने घरजग्गा कारोबार सुस्त नै छ। पुसमा उपत्यकाभरिका नौ वटा मालपोत कार्यालयबाट दुई हजार ६५५ वटा घरजग्गाको लिखत पारित भयो। उपत्यकाभरिका नौ वटा मालपोत कार्यालयबाट मंसीरमा तीन हजार १७६ वटा घरजग्गाको कारोबार भएको थियो। यसले मंसीरको भन्दा पनि काठमाडौंमा पुसमा घरजग्गा कारोबार घटेको देखाउँछ।

कारोबार तीव्र गतिमा भएको दुई वर्षअघिका तुलनामा काठमाडौं उपत्यकाको घरजग्गा कारोबार एकतिहाइमा ओर्लिएको छ। २०७८ पुसमा काठमाडौं उपत्यकामा आठ हजार ३८७ वटा घरजग्गाको किनबेच भएको थियो।

पुसमा काठमाडौं उपत्यकामध्ये सबैभन्दा धेरै घरजग्गा कारोबार भक्तपुर मालपोत कार्यालयबाट भएको छ। त्यहाँबाट ८७७ वटा लिखत पारित भएको छ। कलंकीबाट ६५०, चाबहिलबाट ४०८, साँखुबाट ४०७, डिल्लीबजारबाट १६१ र टोखाबाट १३७ वटा लिखत पारित भएका छन्। लगनखेल र मनमैजु मालपोत कार्यालयबाट पुसमा एउटा पनि घरजग्गा किनबेच भएन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया