राष्ट्रिय बाणिज्य बैंकलाई ठुलो मात्रामा पूँजी आवश्यक छ, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ सँगको अन्तवार्ता
- BFIS News
- 2024 Jan Wed 21:42
काठमाडौं । निजी स्तरका बैंकहरु मर्जर मार्फत ठुलो हुँदै गर्दा नेपाल सरकारको प्रमुख लगानी रहेका तीन बाणिज्य बैंकको पूँजी तुलनात्मक रुपमा कम छ । तर जुन हिसावले बैंकहरु व्यवसायमा आक्रामक रुपमा अगाडी बढिरहेका छन् अहिलेको पूँजीले संबोधन गर्न सक्ने देखिदैन ।
यहि गतिलाई मध्यनजर गर्दै बाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ मै पूँजी बृद्धि योजना तर्जुमा गरेको छ । योजनामा बैंकले ५ वर्षको अवधिमा ९ अर्बबाट २० अर्ब पुर्याउने लक्ष्य लिएको थियो । उक्त ३० अर्ब रुपैयाँ पुर्याउनका लागि प्रिमियममा आइपिओ निष्काशन गर्नेदेखि लिएर नेपाल सरकारले लगानी गर्नेसम्मका योजना थियो । अहिलेसम्म पनि सरकारले आइपिओ निष्काशनका लागि लिखित तथा मौखिक रुपमा कुनै पनि किसिमका संबोधन गरेको छैन । यस्तै राष्ट्रिय बाणिज्य बैंकको समग्र विषयवस्तुमा केन्द्रित भइ प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठसँग लिइएको अन्तर्वार्ता:
राष्ट्रिय वाणिज्य बैंकको वर्तमान वित्तीय अवस्था कस्तो छ ? प्रस्ट पारिदिनुहोस् ।
हामीले भर्खरै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खाताबन्दीको काम सकेका छौँ । बैंकको आ.व. २०७९/८० को लेखापरीक्षणको काम सम्पन्न गरी हामीले साधारणसभा पनि यही पौष २९ मा समापन गरेका छौँ । अघिल्लो आर्थिक वर्ष २०७९/८० तथा यस आ.व.को पहिलो त्रैमासको वित्तीय विवरणहरू हेर्दा हामी सन्तोषजनक अवस्थामा नै छौँ । २०८० पौष मसान्तको विवरणहरू हेर्ने हो भने यस बैंकको कुल निक्षेप रु. ३ खर्ब ३८ अर्ब र कुल कर्जा सापटी रु. २ खर्ब ५६ अर्ब रहेको छ ।
आ.व.२०७९/८० को पहिलो त्रैमासमा बैंकको निष्कृय कर्जा ३.६२ प्रतिशत, आधारदर ८.७० प्रतिशत, कोष लागत ६.२६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.४३ प्रतिशत तथा पहिलो त्रैमासको खुद नाफा ८६ करोड रहेको थियो । २०८० पौष मसान्तमा बैंकसँग कारोबार गर्ने कुल ग्राहकको सङ्ख्या करिब ४१ लाख पुगेको छ भने भौगोलिक उपस्थितिका हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २८६ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन् ।
डिजिटल बैंकिङका पक्षमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ । अहिले हाम्रो गर्व गर्ने थप एउटा पक्ष भनेको नेपाल क्लियरिङ हाउसद्वारा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैँकका रूपमा सम्मानित हुनु हो । अहिलेको अवस्थामा हामीसँग करिब १७ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, करिब ७ लाख ५० हजार ए.टी.एम प्रयोगकर्ता, ३० हजार इन्टरनेट बैंकिङ प्रयोगकर्ता, १० हजार BLB प्रयोगकर्ता रहेका छन् भने हामीले POS Machine १,८८२ र QR Code ७४,३६१ जारी गरेका छौँ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औँ वार्षिकोत्सव मनाउँदै छ । मुलुकको लामो बैंकिङ इतिहासमा राष्ट्रिय वाणिज्य बैंकको योगदानलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड धेरै लामो इतिहास बोकेको बैंक हो । यो बैंक देशकै अग्रणी बैंकहरूमध्येको एक हो । यस बैंकले नेपालमा नागरिकहरूलाई बैंकिङ साक्षरता विकास गराउने बैंकहरूमध्ये प्रमुख बैंकका रूपमा छवि बनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ७ प्रदेश, ७७ जिल्ला तथा ७७ वटै जिल्ला सदरमुकामहरूमा फैलिएका २८६ वटा शाखाहरूद्वारा समयसापेक्ष नवीन प्रविधिको प्रयोग गरी सबै प्रकारका सेवा तथा सुविधाहरू उपलब्ध गराई राष्ट्रको सेवा र अर्थतन्त्रलाई उकास्ने काम गर्दै आएको छ ।
साथै अन्तर्राष्ट्रिय व्यापार वित्त तथा रेमिट्यान्स जस्ता अन्य अन्तर्राष्ट्रियस्तरका बैंकिङ सेवाहरूसमेत निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ सरकारी बैंकसमेत भएकाले नेपाल सरकारका योजना तथा कार्यक्रमहरूलाई सदैव प्राथमिकतामा राख्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रहरू जस्तैः कृषि, ऊर्जा, पर्यटन लगायतका साथै सरकार तथा नियामक निकायबाट तोकिएका अन्य क्षेत्रहरूमा उचित लगानी तथा समय समयमा आएका सहुलियत कर्जा तथा अन्य कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आएको छ ।
गुणस्तरीय सेवा प्रदान गर्ने मात्रै नभई धेरै कर तिर्ने वाणिज्य बैंकहरूमध्येको एकका रूपमा रही बैंकले राष्ट्रको अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुर्याएको छ भने केही वर्षहरूमा त सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा सम्मानित समेत भएको छ । सरकारी स्वामित्वको संस्था भएकाले बैंकले सरकारलाई लाभांशका रूपमा राम्रो प्रतिफल दिँदै आएको छ । राष्ट्रको अर्थतन्त्रमा यस बैंकले गरेको अर्को योगदान भनेको रोजगारी सिर्जना हो । बैंकमा हाल करिब ४,००० जना कर्मचारी कार्यरत छन् ।
बैंकमा मात्र नभई बैंकले विभिन्न क्षेत्रहरूमा लगानी गरी ठुला–ठुला उद्योग तथा साना तथा मझौला उद्यमहरूमा समेत रोजगारी सिर्जना गर्न मद्दत गरिरहेको छ । यसका अतिरिक्त बैंकले वित्तीय साक्षरतासम्बन्धी समय समयमा विभिन्न कार्यक्रमहरू आयोजना गरी जनताको वित्तीय साक्षरता स्तर माथि उकास्न उचित प्रयासहरू गर्दै आएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषमार्फत बैंकले आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षा, वातावरणीय तथा अन्य विविध पक्षहरूमा सहयोग गरिरहेको छ । तसर्थ, बैंकले सदैव गुणस्तरीय सेवाहरूमार्फत देशको बैंकिङ क्षेत्रमा उचित योगदान गरिरहेको र यसरी नै गुणस्तरीय सेवाहरू प्रदान गरी मुलुकको अर्थतन्त्रमा आफ्नो सकारात्मक प्रभावलाई निरन्तरता दिन बैंक प्रतिबद्ध रहेको छ ।
केही समय अघि बैंकबाट ऋण नपाइने अवस्था थियो । अहिले ऋण लिने मान्छे नभएर बैंकमा अधिक तरलताको अवस्था छ । यो अवस्थालाई कसरी हेर्नुभएको छ ?
बैंकमा कर्जाको माग बढाउने र धेरैभन्दा धेरै कर्जा प्रवाह गरी उत्तम पोर्टफोलियो (Optimum Portfolio) बनाउने विषय सदैव बैंकको प्राथमिकताको विषय हो । तपाईँले भन्नुभएको जस्तै अहिले तरलताको हिसाबले स्थिति सहज नै छ । बैंकमा देखिएको अधिक तरलताको विद्यमान अवस्थाले उद्यम व्यवसाय एवम् परियोजनाहरूमा लगानी गरी बैंकको नाफालाई दिगो बनाउने उपयुक्त अवसर सिर्जना गरिदिएको छ ।
त्यसैले यस बैंकले पनि देशको वित्त तथा मौद्रिक नीतिमा तोकिएका प्राथमिकताका क्षेत्रहरू जस्तैः कृषि, ऊर्जा, पर्यटनजन्य होटेल तथा रिसोर्ट एवम् निर्माणजन्य परियोजनाहरू र साना तथा मझौला उद्यम व्यवसायमा लगानी गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको छ । बैंकले उपयुक्त परियोजना तथा उद्यम व्यवसायहरूमा छनोटपूर्ण निर्णय (Selective Choice) गरी कर्जा लगानी गर्ने रणनीतिअनुसार काम गरिरहेको छ ।
कर्जाको माग नहुनु, अर्थतन्त्र सुस्त हुनु लगायतका कारण उच्च ब्याजदर नै हो भन्ने अवस्था सिर्जना भएको छ । ब्याजदर मात्रै कारण हो त ?
अर्थशास्त्रको सिद्धान्तले ब्याजदर र कर्जा मागबिच विपरीत तथा गतिशील (Inverse and Dynamic) सम्बन्धलाई दर्साउँछ ।त्यसैले कर्जाको माग कम हुनुमा ब्याजदर पनि एउटा कारक हो तर एक मात्र कारण भने होइन । त्यसै गरी अर्थतन्त्र सुस्त हुनुमा अर्थतन्त्रको माग पक्ष प्रभावकारी हुन नसक्नु नै हो । सिमेन्ट, डन्डी लगायतका उद्योगहरू कम क्षमतामा चल्नुको कारण देशमा निमार्णजन्य क्षेत्र जस्तैः आवासीय घरजग्गा, व्यापारिक कम्प्लेक्सहरूको निर्माण सुस्ताएको छ । निर्माणजन्य क्षेत्रमा निर्माण व्यवसायीहरू समस्यामा रहेका छन् ।
अन्ततः देशमा अपेक्षाकृत रूपमा लगानीका लागि व्यावसायिक वातावरण कायम हुन नसक्दा ब्याजदरले मात्रै कर्जा मागमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने रहेनछ भन्ने महसुस गरिएको छ । त्यसैले ब्याजदर स्थायित्व, दिगो आर्थिक वृद्धिका आधारहरू जस्तैः कृषि, पर्यटन, ऊर्जा एवम् यस्ता पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, डन्डी लगायतका उद्योगहरूलाई प्रोत्साहन गरेमा मात्रै सुस्ताएको अर्थतन्त्रलाई उकास्न सकिन्छ ।
पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दो क्रममा छ । यो कहिलेसम्म लम्बिन सक्छ त ?
बैंकहरूको खराब कर्जा बढ्नुमा बैंकले लगानी गरिरहेका परियोजनाहरूको गुणस्तर कमजोर हुन जानु हो । सामान्यतः बैंकहरूले कर्जा लगानीपूर्व कुनै पनि परियोजनाहरूको विश्लेषण एवम् मूल्याङ्कन गर्दा अब्बल देखिएमा मात्र कर्जा लगानीको निर्णय गर्ने गर्छन् ।
तर, COVID पछाडिको व्यावसायिक वातावरणको विश्लेषण गर्दा उद्यम व्यवसाय एवम् परियोजनासँग जोडिएका आन्तरिक र बाह्य जोखिमहरूले गर्दा ऋण भुक्तानी क्षमतामा नकारात्मक असर पारेको देखिन्छ । राम्रो नियत हुँदाहुँदै पनि परियोजना पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा, अर्थतन्त्रको चक्रिय प्रभावका कारणले उधारो नउठ्दा, व्यक्तिगत सम्पत्ति बिक्री गरेर उद्यम व्यवसाय बचाउन खोज्दासमेत सफल नभइरहेको दृष्टान्त बजारमा प्रस्ट देखिएको छ ।
तसर्थ अर्थतन्त्र पूर्ण रूपले चलायमान बन्न नसक्दाको अग्र तथा (Forward and Backward Linkage) को असर सिधै ऋण भुक्तानीमा देखिएको छ । खराब कर्जा बढ्नुको कारण उद्योग व्यवसायको आन्तरिक कारण मात्रै नभएर बाह्य कारण प्रधान रहेको देखिन्छ । तसर्थ सरकारलगायत अर्थतन्त्रका सबै पात्रहरूले अर्थतन्त्रलाई थप चलायमान बनाउन विभिन्न नीतिगत हस्तक्षेप एवम् प्रभावकारी प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । त्यसै गरी दिगो आर्थिक वृद्धिका आधारहरूमा थप लगानी प्रोत्साहन गर्न सकेमा खराब कर्जा व्यवस्थापनको दिगो समाधान निस्कने देखिन्छ ।
राष्ट्रिय बाणिज्य बैंकले कस्ता कस्ता क्षेत्रमा कर्जा विस्तारलाई प्राथमिकता दिएको छ ? सस्टेनेबल बैंकिङमा राष्ट्रिय बाणिज्य बैंकले निकै नै अग्रसरता लिएको देखिन्छ । खासमा यो कस्तो बैंकिङ हो ?
राष्ट्रिय वाणिज्य बैंकको कर्जा विस्तारको प्राथमिकता मूलतः सरकारको वित्त नीति र मौद्रिक नीतिले दिशानिर्देश गरेबमोजिम नै रहन्छ । संयुक्त राष्ट्र सङ्घ एवम् विश्वमञ्चमा नेपालले दृढताका साथ दिगो विकासका एजेन्डाहरूलाई अवलम्बन गरेकाले यस बैंकले सरकारी नीतिबमोजिम ऊर्जा, पर्यटन एवम् कृषि जस्ता क्षेत्रमा दिगो विकासलाई सघाउ पुर्याउने गरी काम गरिरहेको छ ।
यस्ता क्षेत्रहरूमा सरकारले तोकेबमोजिमको लगानीका साथै सरकारले प्रोत्साहित गरेको Green Energy का क्षेत्रमा लगानी गरी बैंकले सरकारको नीतिगत मार्गदर्शनको पूर्ण परिपालना गरिरहेको छ । साथै आयात प्रतिस्थापन, निर्यात प्रवर्धन र वातावरणीय सन्तुलनका दृष्टिकोणबाट मुलुकमा सकारात्मक परिणाम हासिल हुने गरी बैंकले आफ्नो लगानीलाई केन्द्रित गर्दै आएको छ ।
त्यसै गरी आम नेपालीको वित्तीय पहुँच एवम् वित्तीय समावेशितालाई प्राथमिकतामा राखी कठोर मौसम रहेका उच्च हिमाली जिल्ला डोल्पा, मुगुदेखि तराईका ग्रामीण इलाकामा भौतिक रूपमै बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकिङ सेवालाई Digitization गरी विभिन्न किसिमका सुविधाहरू उपयोग गर्न प्रोत्साहित गरिरहेको छ । निश्चय नै यस अभियानमा बैंकले गरिरहेको प्रयास एवम् मेहनतले Sustainable Banking मा समेत निरन्तर सफलता प्राप्त हुँदै गएको छ । यसमा हामी थप उत्साहित हुँदै अगाडि बढ्ने प्रण गर्दछौँ ।
बैंकहरूले साइबर सुरक्षामा लगानी कम गरे भन्ने गुनासो सुनिन्छ । साइबर सुरक्षाका मामिलामा राष्ट्रिय बाणिज्य बैंकको अवस्था कस्तो छ ?
विश्व बजारमा सूचना प्रविधिको विकासले बैंकिङ क्षेत्रमा सेवाका नयाँ आयाम सिर्जना गरेको अवस्था छ । सूचना प्रविधिको प्रयोगसँगै त्यसको दुरुपयोग पनि बढ्दै गएको छ । बैंकिङ क्षेत्रमा साइबर सुरक्षा महत्वपूर्ण कडीका रूपमा रहेको छ । बैंकहरूले साइबर सुरक्षामा लगानी कम गरे भन्ने गुनासो वास्तवमा एक चिन्ताजनक विषय हो । विश्वव्यापी रूपमा साइबर हमलाहरू बढिरहेका छन् र नेपालको साइबर सुरक्षा कमजोर रहेको बताइन्छ ।
साइबर सुरक्षामा देखिएका चुनौतीहरूका तुलनामा साइबर सुरक्षामा गरिने खर्च पर्याप्त छैन । साइबर सुरक्षामा लगानी बढाउनका लागि आवश्यक नीति, परियोजना तथा सुरक्षा मापदण्ड बलियो बनाई तिनको पालनामा कडाइ गर्न जरुरी देखिन्छ । बैंकको सेवा वितरणको माध्यम वा सेवा वितरण सञ्जालमा यदि साइबर हमला भएमा बैंकले ठुलो धनराशी गुमाउनुका साथै बैंकको विश्वसनीयता माथि नै प्रश्न चिन्ह उठ्न जाने हुनाले लगानी कम गर्ने भन्ने कुरै उठ्दैन ।
राष्ट्रिय बाणिज्य बैंकमा साइबर सुरक्षाको अवस्थाका बारेमा हेर्ने हो भने बैंकले साइबर सुरक्षालाई दृष्टिगत गरी विभिन्न प्रविधिका उपकरण तथा प्रणालीहरूको प्रयोग गर्नुका साथै विश्व बजारमा उपलब्ध नवीनतम उपकरण तथा प्रविधिको प्रयोग गर्न सूचना प्रविधिमा कार्यरत जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्दै आएको छ र यो क्रम जारी नै रहने छ । समग्रमा भन्ने हो भने बैंकले साइबर सुरक्षाको अवस्था समयानुकूल परिमार्जन गरिरहेको र त्यसमा समयसापेक्ष सुधार गर्न बैंक व्यवस्थापन सदैव तत्पर रहेको छ ।
सूचना प्रविधिको विकास तथा समयानुकूल परिमार्जन गर्न बैंकले IT Enhancement Roadmap लागू गर्दै निकट भविष्यमा नै अन्तर्राष्ट्रियस्तरको बैंकिङ सफ्टवेयर खरिद गरी प्रयोगमा ल्याउन लागेको छ । त्यस्तै साइबर सुरक्षालाई अझ मजबुत तथा समयानुकूल सुरक्षित र भरपर्दो बनाउन यसै आर्थिक वर्षमा नवीनतम प्रविधिका उपकरणहरूको खरिद र सोसम्बन्धी आवश्यक तालिमको व्यवस्था गरेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा यहाँको दोस्रो कार्यकालको यो अन्तिम वर्ष हो । बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा रहँदा हालसम्म भएका महत्वपूर्ण कार्यहरू के के हुन् ?
वि.सं. २०७२ चैत २९ गते मैले राष्ट्रिय वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्ति लिएको थिएँ । बैंकमा आएपछिको मेरो पहिलो उद्देश्य बैंकलाई हरेक पक्षबाट निजी बैंकहरूसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने तथा जनमानसमा सरकारी संस्थाहरूप्रतिको नकारात्मक भावनालाई हदैसम्म मेटाउने थियो, जसमा म केही हदसम्म सफल भएँ जस्तो लाग्छ । मेरो पहिलो कार्यकालमा बैंकमा धैरै कुरामा सुधारका काम भए, जसको श्रेय बैंक व्यवस्थापनदेखि तल्लो तहसम्मका सम्पूर्ण कर्मचारीलाई जान्छ ।
सर्वप्रथम त हामीले बैंकको अधिकतम स्रोत परिचालन र व्यवसाय विस्तारमा जोड दियौँ । बैंकको ६० प्रतिशतको हाराहारीमा रहेको कर्जा निक्षेप अनुपातलाई बढाएर ८० प्रतिशतसम्म पुर्यायौं। त्यसै गरी बैंकको शाखा सञ्जाललाई विस्तार गरी देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुर्यायौं। अहिले हामी ७७ वटै जिल्ला सदरमुकाममा समेत पुगिसकेका छौँ । मेरो पहिलो कार्यकालमा हामीले Clean and Smart RBB को नारासहित बैंकका महत्वपूर्ण पक्षहरूमा सुधारका काम गर्यौँ ।
संस्थाभित्रको सङ्गठनात्मक संरचना, कर्मचारी व्यवहार र आचरण तथा संस्थागत सुशासन जस्ता पक्षहरूमा सकारात्मक परिवर्तन ल्याउने कोसिस गर्यौं। बैंकलाई सेवा प्रदान गर्ने कुरामा मात्र नभई भौतिक पूर्वाधारको विकासका कुराहरूमा पनि त्यत्तिकै जोड दिई हरेक रूपमा निजी बैंकहरूसँग उत्तिकै प्रतिस्पर्धी बनायौँ । बैंकको मार्केटिङ र Rebranding गर्ने विषयमा जोड दियौँ ।
साथै, खराब कर्जा असुली, पुराना म्यानुअलहरूको पुनरावलोकन तथा पुनर्लेखन, पुराना कागज धुलाइ, नयाँ कर्मचारी भर्ना, सूचना प्रविधिको अधिकतम प्रयोग, जोखिम व्यवस्थापन तथा कम्प्लायन्सका क्षेत्रहरूमा पनि उल्लेखनीय सुधारका कार्यहरू सम्पन्न गर्यौं। फलस्वरूप बैंक धैरैजसो वित्तीय परिसूचकहरूमा अब्बल हुन पुग्यो र आ.व. २०७४/७५, २०७५/७६, २०७६/७७ तथा २०७८/७९ मा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक र २०७४/७५ मा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बन्न सफल भयो । बैंकको इतिहासमै सम्भवतः हामी पहिलो पटक सरकारलाई लाभांश दिन पनि सक्षम भयौँ र त्यसलाई हालसम्म पनि निरन्तरता दिन सफल भएका छौँ ।
प्रमुख कार्यकारी अधिकृतका रूपमा पहिलो कार्यकाल पूर्ण भई दोस्रो कार्यकालका लागि २०७६ चैत २९ पुनर्नियुक्ति भएर पनि अहिले दोस्रो कार्यकालको अन्त्यतिरै पुगिसकेको अवस्था छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी र ठुलो सङ्ख्यामा कर्मचारी अभाव मेरो दोस्रो कार्यकालका सबैभन्दा ठुला चुनौती बन्न पुगे । यी बृहत् चुनौतीहरूका बाबजुद पनि बैंकलाई मुख्य वित्तीय सूचकहरूमा अगाडि ल्याउन सुरुदेखि नै प्रयासरत रहेँ ।
मैले पहिलो र दोस्रो कार्यकालमा गरी करिब २,००० जना कर्मचारी भर्ना र कर्मचारी वृत्ति विकासका लागि अत्यधिक रूपमा स्वदेशी तथा विदेशी तालिमहरू सञ्चालन गरेँ । कोभिड महामारीको बिचमा पनि Zoom मार्फत व्यापक रूपमा तालिमहरू सञ्चालन भए । मेरै कार्यकालमा हामीले बैंकको पुँजी वृद्घि गरी ८ अर्बबाट १५ अर्ब पुर्याएका छौँ ।
त्यसै गरी बैंकको पाँच बर्से रणनीतिक योजना २०२०/२०२५ तर्जुमा गरियो । साथै Management Audit, O&M Survey, HR Audit, Succession Plan एबिल तयार जस्ता कार्यहरू पनि सम्पन्न भए । मेरो दोस्रो कार्यकालमा बैंकलाई हरेक पक्षबाट प्रभावकारी बनाउन Business Process Re-engineering (BPR), बैंकलाई प्रविधिका पक्षमा सुदृढीकरण गर्न IT Enhancement Project, बैंकका सम्पूर्ण अचल सम्पत्तिलाई पूर्ण व्यवस्थापन गर्न Asset Utilization Project, खर्च कटौती र नियन्त्रणका लागि ऋयकत Cost Control Project तथा धेरै समयदेखि बाँकी रहेका हिसाबमिलानका कार्यहरूलाई फस्र्यौट गर्न Reconciliation Project गरी पाँच वटा महत्वपूर्ण प्रोजेक्टहरूलाई पनि अगाडि बढाएको थिएँ ।
यसका अलावा हामीले देशका विभिन्न ठाउँहरू जस्तैः थापाथली, भैरहवा, बुटवल, पोखरा, लहान, कोहलपुर र वसन्तपुरमा आफ्नै भवन निर्माणको कार्य सम्पन्न गरेका छौँ भने महेन्द्रनगरमा निर्माणको कार्य हुँदै छ । यसका अतिरिक्त हामीले सहायक कम्पनीहरू जस्तै RBB Merchant, RBB Securities, नेपाल टेलिकमसँगको सहकार्यमा Nepal Digital Payment Company को स्थापना गरेका छौँ ।
बैंकले २०७५ मा Nepal Industrial Development Coorporation (NIDC) सँग मर्जरको कार्य सम्पन्न गरी एकीकृत कार्य सञ्चालनमा ल्याएको छ । अर्को महत्वपूर्ण कार्य भनेको हामीले बैंकका सम्पूर्ण जग्गाहरूको पुनर्मूल्याङ्कन गरेका छौँ । अहिलको अवस्थामा हाम्रो सबै जग्गाको मूल्याङ्कन २६ अर्ब रहेको छ । बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रहरूमा योगदानसमेत पुर्याउँदै आएको छ । मेरो कार्यकालका सुरु तथा हालका प्रमुख वित्तीय तथा गैर वित्तीय विवरणहरूको सङ्क्षिप्त एवम् तुलनात्मक विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ ।
यहाँको कार्यकालमा धेरै पुराना कर्मचारीहरू अवकाश भए भने धेरै नयाँ कर्मचारीहरूले बैंकमा नियुक्ति लिए । विभिन्न कारणले समयमै नयाँ कर्मचारीहरूको भर्ना प्रक्रिया नटुङ्गिँदा थोरै कर्मचारीमा धेरै काम गर्नुपर्ने स्थिति सिर्जना भएको देखिन्छ । यो चुनौतीलाई तपाईंले कसरी सामना गरिरहनुभएको छ ?
पक्कै पनि मैले बैंकको नेतृत्व लिएको सुरुवाती दिनहरूदेखि नै बैंकमा अनिवार्य अवकाशको लहर नै चल्यो । बैंकका लगभग दुई हजारभन्दा बढी कर्मचारीहरू विभिन्न समयमा अनिवार्य अवकाश प्राप्त भई बैंकबाट बिदा भए । यसो हुँदा बैंकलाई बुझेका, बैंकलाई भित्रदेखि चिनेका तथा अनुभवी धेरै कर्मचारीहरूको कमी बैंकलाई महसुस भयो ।
यसले बैंक सञ्चालनमा निकै असहजता ल्याइरहेको थियो र मलाई लाग्छ यो मेरो कार्यकालको सबैभन्दा अप्ठ्यारो तथा कठिन अवस्थाहरूमध्येकै एक थियो । त्यसपछि हामी नयाँ कर्मचारी भर्नाको पक्रियामा अगाडि बढ्यौँ । हामीले आ.व २०७३।७४ तथा २०७४।७५ मा गरी करिब ६०० नयाँ कर्मचारीहरू भर्ना गरी काममा खटायौँ । त्यसपछि २ वर्षसम्म कर्मचारी विनियमावली सम्बन्धी मुद्दाहरूका कारणले नयाँ कर्मचारी भर्ना गर्न सकिएन । सो समयमा हामीले जनशक्ति व्यवस्थापनका लागि आउटसोर्सिङ तथा करारद्वारा कर्मचारी तथा विशेषज्ञहरूको नियुक्ति गर्यौं ।
साथै अवकाश प्राप्त कर्मचारीहरूलाई पनि पुनः काममा लगायौँ । हामीले बैंकको सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी बैंकको कार्यसञ्चालनलाई प्रभावकारी ढङ्गले नै अगाडि बढायौँ । कानुनी रूपमा सबै अप्ठ्याराहरू समाधान भएपछि हामीले अघिल्लो आ.व.मा मात्रै करिब ७६९ कर्मचारीहरू भर्ना गरेका थियौँ । साथै यस आ.व.मा ४६५ जना नयाँ कर्मचारीका लागि दरखास्त आह्वान भई भर्ना प्रकृयासमेत अगाडि बढाएका छौँ ।
नेपाल सरकारको अधिकांश सेयर स्वामित्व भएको नेपालको एक मात्र वाणिज्य बैंक हो राष्ट्रिय वाणिज्य बैंक । अन्य प्रतिस्पर्धी बैंकहरूले पुँजी वृद्धि गर्दै लगिरहेको सन्दर्भमा मर्जरमा जाने वा सेयर पुँजी वृद्धि गर्ने भन्ने सम्बन्धमा कस्तो योजना रहेको छ ?
निक्षेपकर्ताहरूबाट सङ्कलन भएको निक्षेपको परिचालन गर्ने मुख्य उद्देश्य हुने भएकाले बैंकिङ व्यवसाय अत्यन्त उच्च Leverage हुने व्यवसाय हो । बैंकले निक्षेपकर्ताको हित संरक्षण गर्न तथा बैंकिङ व्यवसायमा निहित विविध किसिमका जोखिमहरू वहन गर्नका लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी तथा पुँजी कोष कायम गर्नुपर्ने नियमनकारी व्यवस्थाहरूको सदैव पालना गर्दै बैंकको व्यावसायिक आवश्यकता अनुरूप पुँजी वृद्धि तथा व्यवस्थापन गर्दै गइरहेको छ ।
यद्यपि वर्तमानमा एकातिर नियमनकारी व्यवस्थाहरूको परिपालना गर्दै बैंकको व्यवसायमा भइरहेको निरन्तर वृद्धिलाई कायम राख्न बैंकको आन्तरिक स्रोतबाट सिर्जित पुँजीमात्र अपर्याप्त भइरहेको छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरूबिचको मर्जर तथा प्राप्तिपश्चात् प्रतिस्पर्धी बैंकहरूको पुँजी कोष तथा वित्तीय स्रोत यस बैंकको तुलनामा धेरै ठुलो हुन पुगेको छ । यसबाट ती बैंकहरूको ठुला परियोजनामा लगानी गर्ने, एकल ग्राहक सीमा लगायतका व्यावसायिक क्षमतामा गुणात्मक रूपले वृद्धि भएको छ । तसर्थ, बैंकको आफ्नो व्यवसायमा भएको विस्तारलाई आवश्यक न्यूनतम पुँजीको आवश्यकता परिपूर्ति गर्न तथा वर्तमान समयमा अन्य बैंकहरूसँग प्रतिस्पर्धी क्षमता हासिल गर्न बैंकमा पुँजी वृद्धि गर्न अत्यावश्यक भइसकेको छ ।
यस आवश्यकतालाई मनन गर्दै बैंकले आ.व. २०७७/७८ मा पुँजी वृद्धि योजना, २०७८ तर्जुमा गरेको थियो । उक्त योजना बमोजिम बैंकलाई आगामी ५ आर्थिक वर्ष (आ.व.२०८२/८३) सम्ममा बाह्य स्रोतबाट रु. २० अर्ब थप गरी रु.२९ अर्ब साधारण चुक्ता पुँजी पुर्याउन आवश्यक रहेको प्रक्षेपण गरी पुँजी वृद्धिका विभिन्न विकल्पसहित नेपाल सरकार समक्ष पेस गरेको थियो ।
उक्त योजना नेपाल सरकारबाट अनुमोदन भई हालसम्म रु. ३ अर्ब प्राप्त भइसकेको छ र बैंकलाई अझै ठुलो मात्रामा पुँजी आवश्यक छ । बैंकले सोही पुँजी वृद्धि योजनामा नेपाल सरकारबाटै बैंकलाई आवश्यक सम्पूर्ण पुँजी लगानी गर्ने वा नेपाल सरकारको अधिकांश स्वामित्व कायम रहने गरी प्रिमियम मूल्यमा Initial Public Offering (IPO) जारी गर्ने लगायतका विकल्प प्रस्तुत गरिएको थियो ।
हालसम्मका व्यावसायिक गतिविधि तथा अन्य विविध पक्षहरूमा भएको वृद्धिलाई समेत विश्लेषण गरी थप पुँजी योजना तर्जुमा गर्न आवश्यक रहेको छ र यो विषय बैंकको आ.व. २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा समेत समेटिएको छ ।
यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरूबिचको मर्जर तथा प्राप्तिको कुरा गर्दा बैंकको व्यवसायको प्रकृति, कार्य संस्कृति तथा सेयर स्वामित्व लगायत विषयहरूका कारण अन्य निजी क्षेत्रबाट प्रवर्धित बैँकहरूबिच मर्जर तथा प्राप्तिको सम्भावना त्यति देखिँदैन । तर वर्तमान समयमा पर्याप्त मात्रामा बैंकिङ पहुँच भइसकेको, निजी क्षेत्रबाट प्रवर्धित बैँकहरूको क्षमतामा ठुलो विस्तार भइसकेको तथा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा यस बैंक, नेपाल बैंक र कृषि विकास बैंकसमेत ३ वटा वाणिज्य बैंकहरू रहेको र तिनीहरूले प्रदान गर्ने बैंकिङ सेवा, कार्य क्षेत्र तथा संस्कृतिमा समेत एकरूपता रहेको सन्दर्भमा यी बैंकहरूलाई मर्ज गराई आफ्नो स्वामित्वको एक सबल तथा प्रभावशाली बैंक बनाउन नेपाल सरकारले पहल गर्न सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
नेपाल सरकारको आ.व. २०८०/८१ को बजेट वक्तव्यमा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थालाई पुनर्संरचना गरी थप सुदृढ बनाइने कार्यक्रमसमेत रहेकाले सरकारी स्वामित्वमा रहेका बैंकहरू एकआपसमा गाभ्ने नेपाल सरकारले निर्णय गरेको खण्डमा यस्तो सम्भावना रहन्छ ।
प्रमुख कार्यकारी अधिकृतका रूपमा गर्न खोजिएका तर गर्न नसकिएका कुनै कामहरू छन् कि ?
सबैभन्दा पहिले, मैले मेरो नेतृत्व कालमा पूरा गर्न चाहेको एउटा महत्वपूर्ण कार्य IT Enhancement Project हो । यो परियोजना पूरा भई कार्यान्वयनमा समेत गएको हेर्ने मेरो तीव्र इच्छा थियो तर अहिलेको अवस्था हेर्दा त्यो सम्भव देखिँदैन । अर्को कार्य जुन मैले मेरो कार्यकालभित्र पूरा गर्ने लक्ष्य राखेको थिएँ, त्यो हो सबै विभागहरूमा Business Process Re-engineering (BPR) को काम ।
हालसम्म हामीले ट्रेजरी, ट्रेड फाइनान्स, भुक्तानी र फस्र्यौट विभागहरूमा तथा कर्जा विभागका केही पक्षहरू तथा खाता सञ्चालनका प्रक्रियाका केही पक्षहरूमा मात्र BPR पूरा गर्न सफल भएका छौँ । साथै मैले यस बैंकमा Enterprise Resource Planning (ERP) को कार्यसमेत कार्यान्वयनमा ल्याउन चाहेको थिएँ, जुन यस आ.व.को वार्षिक बजेटमा समेत राखिएको छ । मैले हासिल गर्न खोजेको अर्को महत्वपूर्ण लक्ष्य केन्द्रीय कार्यालयको जग्गाको स्वामित्वको कागजात प्राप्त गर्ने हो, जुन धेरै कोसिसका बाबजुद पनि सफल भएनौँ । तर हामीले यस आ.व.मा सम्पूर्ण जग्गाहरूको पुनर्मूल्याङ्कनको कार्य भने पूरा गरेका छौँ ।
सरकारी स्वामित्वमा भएका बैंकलाई दोहोरो दबाब देखिन्छ । एउटा, सरकारको नीति नियम लागू गर्ने माध्यम बन्नुपर्ने र अर्को निजीस्तरका बैंकसँग प्रतिस्पर्धा गर्नुपर्ने । यो एकआपसमा अलि नमिल्ले कुरा पनि हो । यस्तै कारणहरूले सरकारी स्वामित्वका बैंकहरू समस्यामा पर्ने गरेका त होइनन् ?
हामी सरकारी बैंक भएकाले हामीलाई दोहोरो दबाब हुन्छ तर त्यसलाई हामीले व्यवस्थापन गर्नुपर्छ र गरिरहेका छौँ । हाम्रो मुख्य कर्तव्य सरकारका नीति तथा कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नु हो । सरकारका प्राथमिकताहरू हाम्रा पनि प्राथमिकता हुने गर्छन् । त्यसलाई हामीले पालना गर्नुपर्छ । तर हामी वाणिज्य बैंक भएकाले हामीले लगानीकर्तालाई पनि उचित प्रतिफल दिनु उत्तिकै आवश्यक छ ।
त्यसो हुनाले हामीले बैंकिङ क्षेत्रमा भएको प्रतिस्पर्धालाई समेत व्यवस्थित ढङ्गले सामना गर्दै समयानुकूल सेवा तथा सुविधा दिँदै उचित मुनाफा पनि आर्जन गर्नुपर्ने हुन्छ । त्यस्तै गरी सरकारी बैंक भएकाले हामीले सार्वजनिक खरिद गर्दा सार्वजनिक खरिद ऐनको अधीनमा रही खरिद गर्नुपर्ने हुन्छ, जसले गर्दा हामीलाई चाहेको समयमा चाहेको सामान तथा सेवा खरिद गर्न त्यति सहजता हुँदैन, जसको सिधा असर हाम्रो व्यवसाय सञ्चालनमा पर्छ ।
त्यसै गरी कर्मचारी भर्ना गर्दा समेत लोक सेवा आयोगका माध्यमबाट गर्नुपर्ने हुन्छ । यीबाहेक पनि अन्य बैंकहरूको तुलनामा हाम्रो बैंकले अख्तियार दुरुपयोग अनुन्धान आयोग तथा सतर्कता केन्द्रहरूको चासो र अनुसन्धानको सम्बोधन विशेष रूपमा गर्नुपर्ने हुन्छ । साथै संसद्का समितिहरू तथा महालेखा परीक्षकको कार्यालयप्रति समेत हामी जवाफदेही हुनुपर्छ । यी सबै कारणहरूले गर्दा हामीलाई अरू बैंकहरूसँग प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्न अत्यन्तै चुनौतीपूर्ण हुन्छ । यद्यपि यी सबै कुराहरूलाई हामीले व्यवस्थापन गर्दै अगाडि बढेको अवस्था छ ।
विश्वका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले नयाँ प्रोडक्टहरूमा कार्य गर्न खोजेको देखिन्छ । नेपालमा अबको बैंकिङ व्यवसायले कस्ता क्षेत्रलाई समेट्नुपर्ला जस्तो लाग्छ ?
द्रुत रूपमा विकसित हुँदै गइरहेको प्राविधिक युग, मानिसहरूका परिवर्तनशील आवश्यकताहरू तथा नगदबाट नगदरहित बैंकिङतर्फको विश्वव्यापी रूपान्तरणको सन्दर्भमा हामीले अब हाम्रो प्राविधिक पूर्वाधारको स्तरोन्नतिमा ध्यान केन्द्रित गर्नुपर्छ र विविध किसिमका नवीन डिजिटल प्रोडक्ट र सेवाहरू प्रयोगमा ल्याउनुपर्छ । Digital Product Innovation का साथै अब हामीले ध्यान केन्द्रित गर्नुपर्ने अर्को क्षेत्र भनेको Project-Financing हो । जस्तैः खानी, सुरुङ मार्ग, राजमार्ग र अन्य पूर्वाधारमा आधारित परियोजनाहरू । यस्ता परियोजनाहरूमा लगानी गर्ने सोचका साथ अब हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।
बैंकको सफलताका लागि विभिन्न सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने गर्दछ । यसमध्ये ट्रेड युनियन पनि एउटा महत्वपूर्ण पक्ष भएकाले बैंकभित्र क्रियाशील कर्मचारी ट्रेड युनियन र व्यवस्थापनबिच कस्तो सम्बन्ध रहेको छ ?
बैंकलाई सफल बनाउन अवश्य पनि सबै सरोकारवालाहरूसँग सुसम्बन्ध, समन्वय, सहकार्य बनाइराख्न अत्यन्त जरुरी छ । त्यसमाथि पनि बैंकभित्रका ट्रेड युनियनहरूसँगको सम्बन्ध अझ महत्वपूर्ण हुन्छ ।
बैंकको विकासका निमित्त ट्रेड युनियनहरूसँगको सहकार्य आवश्यक हुन्छ । तसर्थ ट्रेड युनियनहरूसँगको सम्बन्धलाई नियमित, व्यवस्थित र सन्तुलित बनाउन जरुरी छ र मैले यी कुराहरूमा सदैव विशेष ध्यान पुर्याएको छु । त्यसो भएको हुनाले राष्ट्रिय वाणिज्य बैंकभित्र व्यवस्थापन र ट्रेड युनियनहरूबिच अत्यन्त सुमधुर र हार्दिक सम्बन्ध रहेको छ ।
बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा केही सन्देश दिन चाहनुहुन्छ कि ?
वास्तवमा हामी सरकारको पूर्ण स्वामित्वको बैंक भएकाले हामीजस्ता संस्थाहरूप्रति लाग्दै आएको सरकारी पाराको नकारात्मक Tagline परिवर्तन गर्न जरुरी छ । यसका लागि हाम्रो सोच, विचार तदअनुरूप परिवर्तन गर्न जरुरी छ । हामी निकै नै प्रतिस्पर्धाको क्षेत्रमा छौँ । तसर्थ हामी हरेक काममा, हरेक पक्षमा निकै मिहिनेती र संस्थाप्रति अझ समर्पित भएर अगाडि बढ्न जरुरी छ । म यस अवसरमा सम्पूर्ण सरोकारवालाहरूलाई यसतर्फ सोचिदिनुहुन हार्दिक आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, आम ग्राहक वर्ग, ड युनियनहरू, कर्मचारी वर्ग, सञ्चारकर्मी लगायतका सबैमा यस बैंकको ५९ औँ वार्षिकोत्सवका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
(प्रस्तुत अन्तर्वार्ता राष्ट्रिय बाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन भएको विशेषाङ्क 'उपहार'बाट लिइएको हो।)
प्रतिक्रिया