वैदेशिक रोजगारमा गएका नेपालीले रिलायबल नेपालको आइपिओ ५० कित्तासम्म पाउने
- BFIS News
- 2023 Jul Wed 23:12
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्काशन गरेको प्राथमिक शेयरमा २० लाख ११ हजार कित्ताको लागि आवेदन परेको छ । जसमा २७ हजार ९१३ जनाले आवेदन दिएका छन् ।
कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि १२ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । यस आधारमा कुल आवेदकले न्युनतम ४० कित्ता र अधिकतम ५० कित्तासम्म पाउने देखिन्छ । यदि आवेदकको आवेदन रद्द भयो भने न्युनतम पाउने कित्ता पनि बढ्ने छ ।
कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि गत असार २६ गतेदेखि बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गरिरहेको छ । सोमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको हो ।
त्यसैगरी, निष्कासन गरिने कुल सेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि (प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले) छुट्याइएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्नेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी त्रिपल बी प्लस इस्युअर रेटिङ' प्रदान गरेको छ। यसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको जनाउँछ ।
प्रतिक्रिया