कोभिडमा मालामाल बनेका कम्पनीको थामिएको त्यो उडान

  • BFIS News
  • 2024 Mar Mon 07:44
कोभिडमा मालामाल बनेका कम्पनीको थामिएको त्यो उडान

काठमाडौं । कोभिड-१९ महामारीको समयमा छलाङ लगाएका र धेरै पैसा कमाएका अधिकांश कम्पनीहरू खस्किएका छन्। कोभिडका कारण बदलिएको संसार आफ्नो ठाउँमा फर्किँदै गएको छ।

कोभिड महामारीको समयमा, 'जुम' सायद विश्वभरका कार्यालयहरूमा सबैभन्दा धेरै प्रयोग हुने शब्दहरू मध्ये एक थियो। त्यो अवधिमा जुम र त्यस्ता धेरै कम्पनीहरू उदय भए र नयाँ उचाइमा पुगे। त्यसपछि मानिसहरूले यी कम्पनीहरूमा धेरै लगानी गरे। तर यदि २०१९ को महामारीको अवधिसँग अहिले तुलना गर्ने हो भने धेरै कम्पनीहरू नराम्ररी खस्किएका छन्।

जुम भिडियो कम्युनिकेसनले गत वर्ष पनि नाफा त कमाएको छ तर कोभिडको समयसँग तुलना गर्ने हो भने त्यो निकै कम हुन आउँछ। जनवरी ३१ मा जारी गरिएको त्रैमासिक नतिजा अपेक्षा भन्दा राम्रो नै थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसको शेयर मूल्य १६ प्रतिशतले बढेको थियो। राजस्व पनि तीन प्रतिशतले बढेको छ। तर, पहिलेको तुलनामा खस्किएको अवश्य नै छ।

यो जुममा मात्र होइन अन्य थुप्रै कम्पनीहरुमा देखिएको छ जसले कोभिड महामारीको समयमा धेरै गुणा नाफा कमाए तर पछिल्ला दुई वर्षमा आकाशबाट धरातलमा पुगेका छन्।

९० प्रतिशतसम्मले घटेको छ मूल्य

मार्च ११, २०२० मा, विश्व स्वास्थ्य संगठनले कोभिडलाई महामारी घोषणा गर्‍यो। त्यस दिन यी कम्पनीको सेयरको मूल्य तुलना गर्ने हो भने अहिले धेरैको ८० देखि ९५ प्रतिशतसम्म घटेको छ । यदि कसैले ११ मार्च, २०२० मा जुममा एक हजार अमेरिकी डलर लगानी गरेको थियो भने एक पटक यसको मूल्य ५ हजार १५३ अमेरिकी डलरसम्म पुगेको थियो। फेब्रुअरी २६, २०२४ सम्म आइपुग्दा यो ८९ प्रतिशतले घटेर ५७२ डलरमा आइपुगेको छ।

त्यसैगरी कागजातमा अनलाइनमा हस्ताक्षर गर्ने सुविधा दिने कम्पनीको मूल्य उच्चतम स्तरभन्दा ८३ प्रतिशत तल रहेको छ। यसको मतलब, यदि कसैले मार्च ११, २०२० मा यस कम्पनीमा एक हजार डलर लगानी गरेको थियो भने अहिले यसको मूल्य ६९१ डलर पुगेको छ। व्यायाम उपकरण उत्पादन गर्ने कम्पनी पेलोटनको सेयर सबैभन्दा माथिल्लो स्तरबाट ९७ प्रतिशतले घटेको छ। कोभिड भ्याक्सिन उत्पादन गर्ने कम्पनी मोडेर्नाको मूल्य पनि उच्चतम बिन्दुबाट ८१ प्रतिशतले घटेको छ।

रोकिएको त्यो उडान

त्यसबेलाको परिस्थितिले गर्दा अधिकांश कम्पनीले नाफा कमाएको विज्ञहरू बताउँछन्। उदाहरणका लागि, लकडाउनको समयमा जुमले घरबाटै काम गर्ने विकल्प बनेर धेरै नाम र प्रसिद्धि कमायो। तर, अहिले पहिलो त घरबाटै काम गर्नेको संख्या घटेको छ। दोस्रो, जुम जस्ता अन्य उत्पादन पनि बजारमा उपलब्ध छन्। जस्तै माइक्रोसफ्ट टिम्स, सिस्को वेबेक्स र सेल्सफोर्सको स्ल्याक एपले जुमलाई कडा प्रतिस्पर्धा दिएको छ।

यस्तै हालत फुड डेलिभरी स्टार्टअप कम्पनीहरूमा पनि आएको छ। घरमा खाना पुर्‍याउने धेरै स्टार्टअप कम्पनीहरू बन्द भएका छन् वा संघर्ष गरिरहेका छन्। विज्ञहरू विश्वास गर्छन् कि कोभिडको समयमा होम डेलिभरी बजारमा भएको उछाल अब कम हुँदैछ। लकडाउन अवधि समाप्त भएपछि यी कम्पनीहरूलाई काम जारी राख्न गाह्रो भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया