Nepal Life

सुन प्रकरणमा महरालाई मुद्दा, अनुसन्धान फितलो बनाउँदा कारबाहीमा एआइजी

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 14:18
सुन प्रकरणमा महरालाई मुद्दा, अनुसन्धान फितलो बनाउँदा कारबाहीमा एआइजी
Sanima Reliance

काठमाडौं। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझायो। उक्त प्रतिवेदन आज लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।

NIMB

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले दोषी देखएकालाई छानविनको दायरामा ल्याउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न गृहमन्त्रीलाई आदेश दिए।

उक्त प्रतिवेदनले अहिले राजनीतिक वृत्त नै तरङ्गित भएको छ। जसको नेतृत्वमा सरकार बनेको छ उनकै अर्थात नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ।

महरालाई दोषी देखाएपछि पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठेको छ। कतै उनले नै महरालाई उन्मुक्ति त दिन खोजेका हैनन् भन्ने प्रश्न खडा भएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई मुद्दा नचलाएर उन्मुक्ति दिएको हो। सिआइबीले इलेक्ट्रिक चुरोट (भेप) मार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा उनलाई कागज मात्रै गराएर छाडेको थियो। यद्यपि उनका छोरा राहुल महरालाई भने पक्राउ गरी मुद्दा चलाएको थियो। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्।

महरा बाबुछोराको सम्पर्क सिधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। तर पनि सिआइबीले उनीहरूविरूद्ध पहिलो चरणको अनुसन्धानमा सोधपुछ नै नगरी मुद्दा बुझाएको थियो।

१० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको थियो।

चिनियाँ व्यापारी दाओजिन वाङ र माओवादी नेता कृष्णबहादुर महराबीचको सम्बन्ध निकै पुरानो रहेको छ। बलात्कार अभियोगमा जेलमा रहेका बेला महरालाई भेट्न वाङ धेरैपटक गएका थिए। उनी सामान्य नेपाली भाषासमेत बोल्ने गर्छन्।

यता आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष पनि निकालेको छ। मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआइजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको छ।

यस्तै सुनसम्बन्धी अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ। उनीहरुले सुन तस्करीमा जोडिएका घटनामा अनुसन्धान प्रभावकारी नभएको र एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ।

यता बज्राचार्यलाई विभागीय कारबाहीको तयारी गरिएको छ। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखबाट हटाउने तयारी भएको बुझिएको छ भने थप कारबाहीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी पनि भएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया