'ग्लोबल मनी विक – २०२४’ सुरु, वित्तीय साक्षरताको प्रवर्द्धनमा जोड दिन गभर्नरको आग्रह

  • BFIS News
  • 2024 Mar Mon 16:54
'ग्लोबल मनी विक – २०२४’ सुरु, वित्तीय साक्षरताको प्रवर्द्धनमा जोड दिन गभर्नरको आग्रह

काठमाडौं । 'Protect your money, secure your future' भन्ने नाराका साथ ‘ग्लोबल मनी विक – २०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विकको यो १२ औं संस्करण हो।

उक्त अभियानको पहिलो दिन नेपाल राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सातवटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।

May be an image of 2 people, dais and text that says 'Learn.Save.Earn. GLOBAL MONEY GAK २०'

गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा उनले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पारे। वित्तीय साक्षरताको प्रवर्द्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने गभर्नर अधिकारीको भनाइ छ। उनले भने, “राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो ।”

May be an image of 10 people, suit and wedding

ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उनले सबै सरोकारवाला निकायलाई आग्रह गरे। सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह गरे।

May be an image of crowd and dais


कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगैराष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारी तथा बैंकरहरूको उपस्थिति थियो।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो। सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिए।

त्यस क्रममा उनीहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिएका थिए।

चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया