खाद्यान्न बर्बादीले बढ्दो विश्वव्यापी त्रासदी, वार्षिक एक व्यक्तिले खेर फाल्छ ७९ किलो खाना
- BFIS News
- 2024 Mar Thu 10:24
काठमाडौं । संयुक्त राष्ट्रसंघीय निकायको ‘फूड वेस्ट इन्डेक्स रिपोर्ट २०२४’ प्रतिवेदनले सन् २०२२ मा १ अर्ब ५ करोड टन खाद्यान्न खेर गएको देखाएको छ । करिब २० प्रतिशत खाद्यान्न त फोहोरमै फालिने उक्त तथ्याङ्कले देखाएको छ।
उपभोक्ताहरूका लागि उपलब्ध कुल खाद्यान्नमध्ये लगभग १९ प्रतिशत खाद्यान्न खुद्रा पसलहरू, खाद्य सेवाहरू, र घरपरिवारमै भएको छ। यो खेतमा उत्पादनदेखि स्टोरहरूमा बिक्रीसम्म हुने नोकेसानीबाहेकको प्रतिशत हो। यस्तो नोक्सानी संयुक्त राष्ट्र खाद्य र कृषि संगठनको अनुमान अनुसार करिब १३ प्रतिशत रहेको छ।
संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले खाद्यान्नको बर्बादी विश्वव्यापी त्रासदी भएको बताए। लाखौं मानिसहरूले पर्याप्त खाना पाउन नसकेका बेला विश्वभर खाद्यान्न बर्बाद भइरहेको उनको भनाइ छ। यसका कारण विश्व अर्थतन्त्रमा मात्रै नभई जलवायु परिवर्तन, जैविक विविधताको हानि र प्रदूषणका चुनौतीहरू पनि गहिरिँदै गएको उनले बताए।
प्रतिवेदन अनुसार अधिकांश खाद्यान्न बर्बादी घरपरिवारभित्रै हुन्छ, जुन लगभग ६३ दशमलव १ करोड टन अनुमान गरिएको छ। यो कुल खाद्य बर्बादीको ६० प्रतिशत हो। खाद्य सेवा क्षेत्रमा २९ करोड टन र खुद्रा क्षेत्रमा १३ करोड १ लाख टन खाद्यान्न बर्बाद हुने गरेको छ ।
औसतमा, प्रत्येक व्यक्ति एक वर्षमा ७९ किलोग्राम खाना बर्बादीको जिम्मेवार भएको छ। यो संसारमा भोकमरीबाट प्रभावित प्रत्येक व्यक्तिको लागि प्रत्येक दिन खानाको १ दशमलव ३ आहार खुराक बराबर हो।
खाद्यान्न बर्बादीको चुनौती धनी देशहरूमा मात्र सीमित छैन, यसमा धनी र गरिब देशहरूबीचको खाडल साँघुरो हुँदै गएको छ। उच्च आय, उच्च-मध्यम आय र निम्न-मध्यम आय भएका देशहरूमा घरपरिवारहरू बीच औसत खाद्य बर्बादी प्रति व्यक्ति प्रति वर्ष सात किलोग्राम फरक हुन्छ।
तर, यो तस्विर शहरी र ग्रामीण क्षेत्रमा फरक छ।
मध्यम आय भएका देशहरूमा ग्रामीण क्षेत्रमा खाद्यान्नको बर्बादी कम हुन्छ। यसको एउटा कारण घरपालुवा जनावरको खाना र मल वा चाराको रुपमा बाँकी रहेका खानाको पुन: प्रयोग हुन सक्छ।
प्रतिवेदनले खाद्यान्नको बर्बादी कम गर्ने प्रयासलाई बलियो बनाउन र सहरहरूमा समेत सडेको खानालाई मलको रूपमा प्रयोग गर्न सिफारिस गरेको छ।
प्रतिवेदनले खाद्यान्नको बर्बादीको स्तर र औसत तापक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखाएको छ। तातो हावापानी भएका देशहरूमा घरपरिवारले प्रतिव्यक्ति बढी खाना खेर फाल्ने प्रवृत्ति हुन्छ, किनकि उनीहरू ताजा खाना खान्छन् र खाद्य संरक्षणका लागि रेफ्रिजरेसन उपकरणको अभाव हुन सक्छ।
उच्च तापक्रम, गर्मी वा खडेरीले खानालाई सुरक्षित रूपमा भण्डारण गर्न, ढुवानी गर्न र प्रशोधन गर्न चुनौतीपूर्ण बनाउँछ, जसले गर्दा ठूलो मात्रामा खाद्यान्नको बर्बादी वा हानि हुन्छ।
खाद्यान्नको हानि तथा बर्बादी विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको १० प्रतिशतको लागि जिम्मेवार छ, जुन उड्डयन क्षेत्रबाट हुने कुल उत्सर्जनको पाँच गुणा हो। यसैलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका विज्ञहरूले खाद्यान्नको बर्बादीबाट हुने उत्सर्जन घटाउनमा जोड दिएका छन्।
प्रतिक्रिया